PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

​सम्धीलाई सेनापति बनाउन सैनिक स‍ंरचना परिवर्तनको लबिङ



​सम्धीलाई सेनापति बनाउन सैनिक स‍ंरचना परिवर्तनको लबिङ
सैनिक ऐनले गरेको व्यवस्था।

पहिलोपोस्ट-
काठमाडौँ :
प्रधानसेनापति गौरवशमशेर राणा र अर्थमन्त्री रामशरण महतले सैनिक संरचना नै परिवर्तन गर्ने गरी नियमावली संशोधनको लबिङ गर्न थालेका छन्। उनीहरुले यसका लागि प्रधानमन्त्री सुशील कोइरालालाई दबाब दिन थालेको प्रधानमन्त्री कार्यालय स्रोत बताउँछ।

हाल नेपाली सेनामा सेकेन्ड म्यान (बलाधिकृत रथी) रहेका पवनबहादुर पान्डेलाई प्रधान सेनापति बनाउन यी लबिङ लक्षित छन्। उनी राणा र महत दुवैका सम्धी हुन्।
 
राणा र महतले सैनिक संरचना नै परिवर्तन गरी पद संख्या बढाउने र उमेर हद ५८ वर्षबाट ६० वर्ष बनाउन लबिङ गरिरहेका छन्।
 
सेनाका परमाधिपति समेत रहेका राष्ट्रपति रामवरण यादवले भने सैनिक संरचना परिवर्तन गर्ने, उमेर हद बढाउने र पद थप गर्ने काम नगर्न प्रधानमन्त्री कोइरालालाई बताइसकेका छन्।
 
को हुन् पान्डे ?
हालका सेकेन्ड म्यान पवनबहादुर पान्डे ५८ वर्ष उमेर पुगेका कारण आगामी माघ महिना अवकाश पाउँदै छन्। प्रधानसेनापति राणा आफ्नो अवकाशपछि पान्डेलाई उत्तराधिकारी बनाउन चाहन्छन्।
 
उनका दाजु प्रख्यात बैँकर पृथ्वीबहादुर पान्डे हुन्। त्यसैगरी उनका अर्का दाजु सागरबहादुर पान्डे सहायक रथी हुँदा द्वन्द्वकालमा मारिएका थिए। उनैका छोराले प्रधानसेनापति गौरवशमशेर राणाकी छोरीसित बिहे गरेपछि दुईबीच सम्धी साइनो जोडिएको हो।
 
पान्डेसित अर्थमन्त्री रामशरण महतको पनि सम्धी साइनो छ।
 
सैनिक ऐन संशोधन गरी अवकाश पाउने उमेर हद ५८ वर्षबाट ६० वर्ष बनाउन सकियो भने पान्डे राणाको अवकाशपछि प्रधान सेनापति हुन पाउने छन्।
 
सम्धी नभए राणा रोजाई
हाल सेनाको वरियतामा तेस्रो स्थानमा रहेका प्रदीपविक्रम राणा पनि उमेर हदकै कारण आउँदो मंसिर महिनामा रिटायर्ड हुँदैछन्।
 
चौथो वरियतामा रहेका व्यवस्था तथा युद्ध कार्य महानिर्देशक भिक्टरशमशेर राणा प्रधानसेनापतिका अर्का रोजाइका पात्र हुन्। सम्धी पान्डेलाई उत्तराधिकारी बनाउने लबिङ असफल भए उनी 'राणाबाट राणालाई' उत्तराधिकारी बनाउने प्रयासमा छन्।
 
तर उनको यो इच्छा पूरा हुन पनि सजिलो भने छैन। उनी प्रधान सेनापति बन्ने लाइनमा बस्नका लागि हालका सेकेन्ड म्यान पान्डेले पुस १८ गते नै राजीनामा दिइसक्नु पर्छ। त्यसो नभई नियमित तरिकामा गयो भने राणा पनि उपरथीको ५७ वर्षको उमेर हदका कारण माघ ९ गते स्वतः अवकाशमा जान्छन्।
 
रथीको उमेर हद भने ५८ वर्षको छ। यही उमेर हदका कारण पान्डे पनि माघ १८ गते अवकाशमा जान्छन्।
 
दुई विकल्पको खेल
सके सम्धी नभए राणालाई प्रधान सेनापति बनाउन अहिले प्रधान सेनापति गौरवशमशेर राणासित दुई विकल्प छन्। पहिलो, उमेर हद ५८ बाट ६० बनाउने। यसैका लागि अहिले राणा र अर्थमन्त्रीले लबिङ थालेका हुन्।
 
तर यो त्यति सजिलो भने छैन। जानकारहरुका अनुसार यसका लागि सैनिक नियमावली मात्र संशोधन गरेर पुग्दैन, ऐन नै संशोधन गर्नुपर्छ। ऐन पास गर्न संसद्‌मा जानु पर्ने हुन्छ।
 
दोस्रो विकल्प रथीको पद संख्या बढाउने हो। तर सेनाको संख्या ९५ हजार मात्र भएको अवस्थामा रथीको पद संख्या बढाउन पनि त्यति सजिलो भने छैन। अघिल्ला प्रधान सेनापति छत्रमान गुरुङ पनि यसमा असफल भइसकेका हुन्।   
 
भावी प्रधान सेनापति को ?
अहिलेका सबै चलखेल असफल भई नियमित प्रक्रिया अनुसार गए प्रधान सेनापति हुने लाइनमा राजेन्द्रबहादुर क्षेत्री छन्। उनी सेनाका पूर्व प्रवक्ता रमिन्द्र क्षेत्रीका भाइ र अघिल्ला प्रधानसेनापति छत्रमान गुरुङले म्याद थप नगरी हटाएका* रतिन्द्र क्षेत्रीका दाजु हुन्। राजेन्द्रबहादुर क्षेत्रीलाई तुलनात्मक रुपमा संगठनभित्र कम विवादित मानिन्छ।
 
क्षेत्री पूर्व प्रधानसेनापति रुक्माङ्गद कटवालका सैनिक सचिव थिए। कटवालका पालामा भिक्टर मिलिटरी असिस्टेन्टमा थिए भने पवन डिएमआई प्रमुख थिए। 

सफल होला चलखेल?
प्रधान सेनापतिले आफ्नो रोजाइ अनुसारका व्यक्तिलाई शक्तिमा ल्याउन गरिने चलखेल नौलो होइन। यसअघि छत्रमान गुरुङले पनि सेनामा दुई रथी थप गरी आफ्ना ज्वाइँ दमन घलेलाई रथीमा बढुवा गर्ने भरमग्दुर प्रयास गरेका थिए। 

रथीको स‍ंख्या बढाउन तीन अनुपात एक संख्या बनाउन समायोजन हुने माओवादी लडाकुसहितको निर्देशनालय प्रमुख बनाउने प्रस्तावसमेत असफल भएको थियो।

अहिलेको चलखेल पनि यस्तै हो। तर संसद् रहेको अवस्थामा उमेर हद बढाउने र रथी दरबन्दी थप्ने कार्य प्रहरी जस्तो सेनामा सहज छैन। सेना संवैधानिक अङ्ग भएकोले नियमावलीमात्र नभई ऐन नै संशोधन गर्नुपर्ने र त्यसका लागि स‍ंसद्‌‌‌मा जानु पर्ने स्थिति छ। 

त्यसबाहेक निवर्तमान हुन लागेका प्रधान सेनापतिसहित हुन लागेका प्रधान सेनापतिको पनि चलखेल जोडिने भएकोले सेनाभित्रको यो शक्ति संघर्षलाई निर्णायक मोडमा पुर्‍याउन अरु पनि विभिन्न कारक तत्वले भूमिका खेल्ने देखिन्छ।   

*सच्याइएको



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell