PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

पोखरामा २६ महिनामा केबुलकार



पोखरामा २६ महिनामा केबुलकार
सम्झौता गर्दै। (आवरणमा रहेको तस्बिर संकेतात्मकमात्रै हो। फोटो स्रोत : http://static.panoramio.com)

  • विज्ञान अधिकारी -
काठमाडौं : पोखराको फेवातालदेखि शान्ति स्तुपासम्म केबुलकार निर्माण गर्न विस्तृत सम्भाब्यता अध्ययन(डीपीआर)का लागि सम्झौंता भएको छ। भौतिक पूर्वाधार तथा निर्माण, यातायात मन्त्रालय र केबुलकार निर्माणको जिम्मेवारी पाएको कम्पनीका तर्फबाट मनकामना दर्शन प्रालिबीच मंगलबार सम्झौंता भएको हो। केबुलकार निर्माणको जिम्मा मनकामना केबुलकार, चितवन कोई र अष्ट्रियाको डोपलमेयरले पाएको छ।

केबुलकारको डीपीआर अध्ययन सम्बन्धि सम्झौंतामा भौतिक मन्त्रालयका सहसचिव विष्णुओम वादे र कम्पनीका प्रबन्ध निर्देशक राजेशबाबु श्रेष्ठले हस्ताक्षर गरे। कम्पनीले दुई महिनाभित्र विस्तृत सम्भाब्यता अध्ययनको प्रतिवेदन मन्त्रालयलाई बुझाउनुपर्नेछ।

‘सर्वोच्च अदालतले केबुलकार निर्माण प्रक्रिया रोक्ने रिट खारेज गरेपछि बाटो खुलेको थियो। अब यो सम्झौंताले केबुलकार निर्माणलाई थप अघि बढाएको छ,’ श्रेष्ठले मंगलबार भने, ‘हामी दुई महिनाभित्रै अध्ययन प्रतिवेदन बुझाउने प्रयास गर्नेछौ ।’

उनका अनुसार मनकामना केबुलकारपछि पोखराको पर्यटन प्रवद्र्धनको लागि यो केबुलकार कोशेढुंगा सावित हुनेछ। कम्पनीले पोखराको पर्यटकीय स्थल फेवातालदेखि पुम्दीभुम्दीको अनुदुडाँडा रहेको शान्ति स्तुपासम्म केबुलकार निर्माण गर्नेछ। श्रेष्ठले डीपीआर प्रतिवेदनका आधारमा नेगोसिएसन र कन्सेसन एग्रिमेन्ट हुने जानकारी दिए।

‘डीपीआर प्रतिवेदनका आधारमा यो दुई सम्झौंता हुनेछ। सम्झौंता भएको दुई वर्षभित्रै केबुलकार निर्माण हुनेछ,’ उनले भने। कम्पनीले सार्वजनिक –निजी साझेदारी र निर्माण, संचालन र हस्तान्तरण अवधारणामा केबुलकार निर्माण गर्न लागेको हो। बुट अवधारणा अनुसार २२ वर्षसम्म कम्पनीले केबुलकार संचालन गरेर हस्तान्तरण गर्नुपर्नेछ।

ऐनमा अर्को पाँच वर्षसम्म सञ्चालन अवधि थप्ने प्रावधान भने रहेको छ। कम्पनीले केबुलकार नजिकै वाटर पार्क र अमेजन पार्क बनाउनेछ।
केबुलकार नजिकै होटल लगायतका पूर्वाधार भने हुनेछैन। चितवन कोईले एक वर्ष मुद्दाको अवरोध झेल्नुपरेको थियो। केबुलकारको दुरी १ किलोमिटर ३ सय मिटर हुनेछ। दुई वर्षअघि भएको सम्भाब्यता अध्ययनमा यसको लागत १ अर्ब ३० करोड रुपैयाँ देखिएको थियो। पोखरा आन्तरिक र वाह्य पर्यटकको प्रमुख गन्तब्य भएकाले केबुलकार आर्थिक रुपमा सम्भव हुने उनले बताए। पोखरामा बाह्रै महिना पर्यटकको आगमन राम्रो हुने गर्छ। केबुलकारबाट पोखराका तालको रमणीय दृश्य, हिमाल र हरिया फाँटहरुको अवलोकन गर्न पाउनेछन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell