PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

यस्ती भइन् १६ वर्षअघि विश्वलाई चकित पार्ने नेपाली बालिका जमुना



यस्ती भइन् १६ वर्षअघि विश्वलाई चकित पार्ने नेपाली बालिका जमुना

काठमाडौँ : १६ वर्षअघि विश्वको ध्यान आकर्षित गरेकी थिइन् नेपाली जुम्ल्याहा बालिका गंगा र जमुनाले। सामाजिक सञ्जाल नभएको त्यतिबेला अन्तर्राष्ट्रिय मिडियामा छाएको थियो उनीहरुको फोटो र नाम। 

धेरै पछि आइतबार जमुना सार्वजनिक कार्यक्रममा उपस्थित भइन्। आकाशे रङ्गको लुगा लगाएर ह्विलचेयरमा उनी आफ्नै जीवनीमा आधारित पुस्तक 'गंगा जमुना' को विमोचनमा सहभागी हुन आएकी थिइन्। तर खोई त गंगा?



***
सन् २००० मा प्युठानका भुषण केसीले थापाथलीको प्रसुति गृहमा आफ्नी पत्नी सन्ध्या श्रेष्ठलाई सिजेरियन अपरेसन गरी प्रसुति गराउन अनुमति पत्रमा हस्ताक्षर गरे। 

डाक्टरहरुले जुम्ल्याहा बालिकालाई सुरक्षित निकाले। दुवैको तौल साढे ३ किलोमात्र थियो। 

र, दुवैको टाउको जोडिएको थियो। 

टाउको जोडिएका यी जुम्ल्याहा बालिकाको नाम गंगा र जमुना राखियो। 

शरीर जोडिएका जुम्ल्याहालाई शल्यक्रिया गर्ने काम एकदमै जोखिमपूर्ण हुन्छ। तर डा. उपेन्द्र देवकोटा नेतृत्वको टिमले शल्यक्रिया सम्भव हुन सक्ने आशामा सिंगापुरमा रहेका आफ्ना सहकर्मी डा. केइथ गोहसित सम्पर्क गरे।

सिंगापुर सरकार र सिंगापुर एयरलाइन्सको सहयोगमा देवकोटासहित नेपाली मेडिकल टोली र मातापितासहित गंगा जमुनालाई सिंगापुर लगियो। त्यतिन्जेल गंगा जमुना सिंगापुरमा सेलिब्रिटी भइसकेकी थिइन्। सिंगापुरे नागरिकहरुले उनीहरुको उपचारका लागि ६ लाख ६० हजार डलर रकम उठाए। 

त्यसपछि सुरु भयो विश्वको मेडिकल जगतलाई नै चकित पार्ने गरी गंगा र जमुनालाई छुट्याउने म्याराथन अपरेसन। 

यता भुषण र सन्ध्या भगवानलाई पुकार्दै अपरेसनको सफलताको कामना गरिरहेका थिए उता चिकित्सकहरु अपरेसन थियटरबाट निस्कँदै निस्केनन्। 

मगज र रक्तनलीहरुको जटिल संरचनालाई केलाउँदै त्यसलाई छुट्याउने काम कहाँ सजिलो हुन्छ र। पाँच दिन लाग्यो। १०३ घण्टाको अपरेसनपछि आमाको पेटदेखि सँगै बस्दै आएका गंगा र जमुना ११ महिनापछि छुट्टिए।  सबैभन्दा लामो समयको शल्यचिकित्साको यो विश्व कीर्तिमान थियो। 


गंगा जमुनाको फाइल फोटो : straitstimes

सन् २००१ को अप्रिल ११। विश्वकै मिडियामा मेडिकल जगतको यो उपलब्धि वर्णन भयो। 

छुट्टिए पनि गंगा र जमुना दुवैलाई थप हेरविचार र उपचार आवश्यक थियो। त्यो उपचार नेपालमै गर्ने गरी उनीहरु स्वदेश फर्किए। 

चार वर्षपछि सन् २००५ मा थप उपचारका लागि गंगा र जमुनालाई इस्ट सोर हस्पिटल लगियो। त्यसको तीन वर्षपछि एउटा दुःखद घटना भयो। 

मेनिन्जाइटिसका कारण काठमाडौँको एउटा अस्पतालमा उपचार गर्दागर्दै गंगाको मृत्यु भयो। 

जमुना एक्ली भइन्। 

१६ वर्ष भइसकी जमुना अहिले। अझै पनि उनको स्कल रिकन्स्ट्रक्सन सर्जरी गर्न बाँकी छ। राम्रोसित हिँड्न सक्ने बनाउन फिजियोथेरापीहरु निकै गर्न बाँकी छ। विशेष गरी उनको कमजोर बायाँ भागहरुमा। 

र, उपचार साह्रै महँगो छ। परिवारले धान्नै नसक्ने। 

यसैलाई समेटेर सिंगापुरकी स्थायी बासिन्दा सुनीताले यो पुस्तक लेखेकी हुन्। गंगा जमुना नामको यो पुस्तक सुरुमा हजार प्रति छापिएको छ र स्थानीय पुस्तक पसलमा १८ सिङ्गापुर डलरमा बेचिएको छ। 

पुस्तक बिक्रीबाट प्राप्त आयको अंश जमुनाको उपचारका लागि खर्च गर्ने वाचा लेखिकाले गरेकी थिइन्। 

त्यही अनुसार सुनीताले तीन लाख रुपैयाँको चेक आइतबार जमुनाकी आमा सन्ध्यालाई हस्तान्तरण गरिन्। 



 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell