PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सरकारले भारतबाट दुई करोड थान एलइडी बल्ब खरिद गर्ने



पहिलोपोस्ट

सरकारले भारतबाट दुई करोड थान एलइडी बल्ब खरिद गर्ने

  • अमर बडुवाल

काठमाडौं : उर्जामन्त्री जनार्दन शर्माले भारतको सरकारी निकायबाट नेपाल विद्युत प्राधिकरणले एलइडी बल्ब खरिद गर्न लागेको हुँदा कुनै अनियमिताको सम्भावना नरहने बताएका छन्।

मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले सार्वजनिक खरिद ऐनको प्रावधान पुर्‍याइएको र दुई सरकारी निकायबीच कारोबार हुन लागेको हुँदा अनियमितताको सम्भावना नरहने दाबी गरे।

गत बिहीबारको मन्त्रीपरिषद् बैठकले भारतको इनर्जी इफिरियन्सी सर्भिस लिमिटेड (इइएसएल) बाट दुई करोड थान नौ वाट दरको एलइडी बल्ब खरिद गर्न प्राधिकरणलाई सैद्धान्तिक सहमति दिएको थियो। बिना टेन्डर दुई अर्ब बढीको खरिद गर्न लागेको भन्दै सामाजिक सञ्जालमा विरोध भएपछि मन्त्री शर्माले प्रष्टिकरण दिएका हुन्।

लोडसेडिङ व्यवस्थापनका लागी दुई मुलुकका सरकारी निकायबीच पारदर्शी रुपमा बल्ब खरिद बिक्री हुन लागेको मन्त्री शर्माले बताए। ‘उज्यालो नेपाललाई साकार बनाउन र ओद्योगिक लगायत अन्य क्षेत्रको लोडसेडिङ अन्त्यका लागि एलइडी बल्ब खरिद गर्न लागिएको हो’ प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहित पत्रकार सम्मेलनमा उपस्थित मन्त्री शर्माले भने।

अहिले प्राधिकरणका ३५ लाख ग्राहकले १८ वाटको सिएफएल र ६० वाटको साधारण बल्ब बाल्दा पिक आवरमा ३८१ मेगावाटले लोड बढ्ने प्राधिकरणको तथ्याङ्क छ। दुई करोड थान नौ वाटको एलइडी बल्ब वितरण गरी सिएफएल र साधारण बल्ब विस्थापित गर्दा पिक आवरमा २०१ मेगावाट बिजुली बचत हुने मन्त्री शर्माले जानकारी दिए। त्यति विद्युत उत्पादन गर्न कम्तिमा ४७ अर्ब रुपैयाँ लागत र पाँच बर्ष समय चाहिने मन्त्री शर्माको भनाइ छ।

उपभोक्ताले दैनिक चार घण्टा बत्ती बाल्छन् भन्ने आधार मान्दा एलइडी बल्बको प्रयोगमा वार्षिक २९३ गिगावाट आवर बिजुली बचत हुने प्राधिकरणले जनाएको छ। भारतबाट ल्याउँदा भन्सार बिन्दुमा एउटा बल्बको लागत १०४ रुपैयाँ पर्ने जनाइएको छ। यसरी दुई करोड थान बल्ब नेपाल ल्याइ पुर्‍याउँदा दुई अर्ब ३२ करोड रुपैयाँ पर्ने जनाइएको छ। सरकारले भन्सार एवं मूल्य अभिबृद्धिकर छुट नदिने प्राधिकरणको भनाइ छ।

अहिले बजारमा फिलिप्स एलइडी बल्बको मूल्य प्रति गोटा ३५० रुपैयाँ हाराहारी पर्नेमा प्राधिकरणले त्यसभन्दा सहुलियत दर र किस्ताबन्दीमा उपभोक्तालाई दिने मन्त्री शर्माको भनाइ छ। इइएसएलले फिलिप्सत र ओस्रामका एलइडी बल्ब उपलब्ध गराउने उनले जानकारी दिए।

गत वर्षको जुन २७ र २८ मा नयाँ दिल्लीमा सम्पन्न ‘जोइन्ट स्टेरिङ कमिटी’को सचिव स्तरीय बैठकमा नै इइएसएलमार्फत एलइडी बल्ब खरिद गरेर नेपाली उपभोक्ताले दिने बारे छलफल भएको उनको भनाइ छ। एलइडी बल्ब खरिद गर्ने उपभोक्ताले १० महिनासम्मको किस्ताबन्दीमा पाउने जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell