PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

बाजुराबाट लाखौँको खोटो निर्यात



रासस

बाजुराबाट लाखौँको खोटो निर्यात
फोटो : सुरेन्द्र सुमनको फेसबुकबाट

बाजुरा : बाजुराका विभिन्न सामुदायिक वनबाट बर्सेनि सल्लाका रुखबाट खोटो सङ्कलन गर्दै निर्यात हुने गरेको छ। 

सामुदायिक वनमा प्रशस्त रुपमा सल्लाका बोट पाइने भएकाले खोटो सङ्कलन गर्दै निर्यात हुने गरेको जिल्ला वन कार्यालय, बाजुराका निमित्त वन अधिकृत मनकुमार छन्त्यालले बताए। 

बडिमालिका नगरपालिकामा रहेका १६ सामुदायिक वन र गौमुल गाउँपालिकामा रहेको एक सामुदायिक वनबाट प्रत्येक वर्ष दुई कम्पनीले खोटो सङ्कलन गरेर लैजाने गरेको बताइएको छ। खोटो सङ्कलनका लागि मनकामना रोजिन क्यामिकल उद्योग प्रालि र हिउँचुली कम्पनीलाई सङ्कलन अनुमति दिइएको छन्त्यालले बताए। 

सामुदायिक वनमा रहेका प्रतिरुखबाट चार किलो खोटो सङ्कलन गर्न पाउने प्रावधान रहेको छ। 

खोटो सङ्कलनका लागि मनकामना रोजिन क्यामिकल उद्योग प्रालि नेपालगन्जलाई १० वटा सामुदायिक वन र हिउँचुली उद्योग कम्पनीलाई सातवटा सामुदायिक वनबाट खोटो सङ्कलन गर्न अनुमति दिइएको जिल्ला वन कार्यालयका रेञ्जर विशालकुमार लामाले जानकारी दिएका छन्। 

मनकामनाले एक हजार ३८० माउ रुख र ३६ हजार ६८४ अन्य रुख गरी ३८ हजार ६४ वटा सल्लाका रुखबाट खोटो सङ्कलन गरिएको छ। खोटो सङ्कलन चैतदेखि कात्तिकसम्म मात्र गर्न पाउने लामाले बताए। 

खोटो सङ्कलनका लागि चार हजार ८९० मुख्य रुख र ५० हजार ५२९ गरी ५५ हजार ४१९ रुखबाट खोटो सङ्कलन गर्नका लागि हिउँचुली कम्पनीलाई अनुमतिपत्र दिइएको छ। 

हिउँचुलीले २१४ दशमलव ७० बढी किलो खोटो सङ्कलन गरिएको कम्पनीले जनाएको छ। खोटो सङ्कलनका लागि मनकामना रोजिन उद्योगले ३६ हजार ६८४ योग्य रुखबाट एक लाख ४६ हजार ७३६ किलो खोटो सङ्कलन गरी निर्यातका लागि अनुमतिपत्र दिइएको कम्पनीका भीमप्रसाद पौडेलले बताए। 

खोटो सङ्कलनपछि नेपालगन्ज निर्यात हुने भएको छ। खोटो सङ्कलनपछि कार्पेन तेल बनाएर रङ्गमा मिसाउन प्रयोग गरिने पौडेलको भनाइ छ। बर्सेनि बाजुराबाट एक लाख ४६ हजार ९५० दशमलव ७० किलो सङ्कलन भई जिल्ला बाहिर निर्यात हुने गरेको जिल्ला वन कार्यालय, बाजुराले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell