PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

उपन्यास ‘प्रेमदासको डायरी’ लिएर आए विरही



पहिलोपोस्ट

उपन्यास ‘प्रेमदासको डायरी’ लिएर आए विरही

काठमाडौँ : साहित्यकार रेशम विरहीको नयाँ ‍औपन्यासिक कृति ‘प्रेमदासको डायरी’ शनिबार सार्वजनिक भएको छ।

राजधानीको सर्वनाम थिएटरमा आयोजित एक कार्यक्रममा लेखक नारायण ढकाल, कवि श्यामल, पत्रकार नारायण वाग्ले र दिलभूषण पाठकले संयुक्त रुपमा उपन्यासको विमोचन गरे। 

उपन्यास नेपालको कम्युनिष्ट आन्दोलन, भारतको प्रभाव तथा आन्दोलनबाट पलायन पात्रको कथामा आधारित रहेको छ। विमोचनपछि उपन्यासबारे अन्तर्संवाद कार्यक्रमको आयोजना गरिएको थियो। 

सहजकर्ता दीपक सापकोटासँको संवादमा समीक्षक वाग्लेले उपन्यासमा भारतसँगको अनुभव र प्लट ब्ल्याक एन्ड ह्वाइटको रुपमा मात्र आएको टिप्पणी गरे। उनले भने, ‘उपन्यासमा नेपालको कम्युनिष्ट आन्दोलनमा भारतको पूरै प्रभाव परेको देखाइएको छ, उसको सानोतिनो प्रभाव नपरेको होइन तर सत्ता नै उलटपुलट गराउने खालको होइन।' 

कार्यक्रमका वक्ता श्यामलले नेपाल, भारतको राजनीतिक परिवेश र प्रेमलाई समेत जोडेर विशाल क्यानभासमा उपन्यास तयार भएको भन्दै इतिहासको आख्यानीकरणको रुपमा गम्भीर कृति आएको बताए। 

अर्का वक्ता नारायण ढकालले इतिहाससम्बद्ध गम्भीर विषयमा उपन्यास लेखिएकोमा प्रशंसा गर्दै उनले कम्युनिस्ट आन्दोलनमाथि नयाँ कोणबाट बहस गर्नका लागि उपन्यासमा धेरै ठाउँ रहेको बताए। 

कार्यक्रमको अन्त्यतिर सहजकर्ता सापकोटाले लेखक विरहीलाई सोधे, ‘कम्युनिस्ट हुनका लागि के-के गुण र विशेषता चाहिने रहेछन् त?’ 

‘गुण र विशेषता जानेको भए म कम्युनिस्ट भइरहन्थेँ । तर म कम्युनिस्ट होइन,’ विरहीले भने, ‘कम्युनिस्ट मात्र होइन कांग्रेसमा पनि लामो समय पार्टीमै लागेकाहरु पछि जोगी हुने धेरै छन्।’

शिखा बुक्सले प्रकाशन गरेको पुस्तकको मूल्य ३९५ रुपैयाँ रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell