PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

अर्घाखाँची सिमेन्टको आइपिओ आउँदै, एक साताभित्र पब्लिक कम्पनीमा रुपान्तरण हुने



प्रभात भट्टराई

अर्घाखाँची सिमेन्टको आइपिओ आउँदै, एक साताभित्र पब्लिक कम्पनीमा रुपान्तरण हुने

काठमाडौंः अर्घाखाँची सिमेन्ट पब्लिक कम्पनीमा रुपान्तरण भएर सर्वसाधारणलाई शेयर बिक्री गर्ने भएको छ। 

एक साताभित्रै कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक कम्पनीमा रुपान्तरणको प्रकृया पूरा गर्ने कम्पनीका सञ्चालक पशुपति मुरारकाले जानकारी दिए। 

त्यसपछि कम्पनीले सार्वजनिक शेयर निस्कासन (आइपिओ)का लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिनेछ। हालै पारित भएको धितोपत्र दर्ता तथा निस्कासन नियमावलीले ‘रियल सेक्टर’का कम्पनी बजारमा भित्र्याउन विशेष व्यवस्था गरेपछि पब्लिकमा जाने निर्णय गरेको मुरारकाले बताए। 

नियमावलीमा ‘रियल सेक्टर’का कम्पनीलाई प्रिमियममा प्राथमिक शेयर निष्काशन अनुमति दिने प्रावधान राखिएको छ। साथै ३० प्रतिशत शेयर सर्वसाधारणलाई बिक्री गर्नैपर्ने पुरानो प्रावधानसमेत संशोधन गरि चुक्ता पूँजीको न्युनतम १५ प्रतिशत आइपिओ गर्दा हुने व्यवस्थासमेत नियमावलीमा छ।

यी प्रावधानले आफूलगायत ‘रियल सेक्टर’का अरु उद्योगीलाईसमेत तानेको मुरारकाले बताए। ‘सर्वसाधारणमा जाँदा भोली उद्योगको क्षमता बिस्तार या नयाँ उद्योगका लागि पैसा जुटाउनसमेत सजिलो हुन्छ’, उनले भने– ‘अहिलेसम्म वित्तिय क्षेत्रका कम्पनीको मात्र प्रभाव रहेको शेयर बजारमा केही नाफा बितरण गर्न सक्ने उद्योगहरु आए बजार प्रतिको विश्वास पनि झनै बढ्नेछ।’


शेयर बजारमा जाँदा कम्पनीको वास्तविक ‘भ्यालु’ समेत बुझिने मुरारकाको विश्वास छ। ‘अहिले मेरो कम्पनीको भ्यालुएसन कति हो भन्ने थाहा छैन,’ उनले भने– ‘बैंकमा ऋण माग्न जाँदा इक्विटी जति छ त्यसलाई भ्यालु मान्ने गरिन्छ, भोलि बजारमा गएपछि कम्पनीको वास्तविक मूल्याङ्कनसमेत हुन्छ।’ पब्लिकमा जाँदा नाफाका लागि मात्र नभइ आफ्नो उद्योगलाई यहाँ पुर्याउँछु भन्ने दृढतासमेत बढ्ने उनको भनाइ छ। 

कति प्रतिशत शेयर सर्वसाधारणलाई बिक्री गर्ने भन्ने टुङ्गो लाग्न बाँकी रहेको मुरारकाले जानकारी दिए। शेयर मूल्य कति राख्ने भन्ने पनि टुङ्गो भएको छैन। अहिले ७७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले भैरहवामा २५ विघा क्षेत्रफलमा फैलिएको उद्योगबाट दैनिक १२ सय टन सिमेन्ट उत्पादन गर्दै आएको छ। यो क्षमता विस्तार गरेर दशैंसम्ममा तीन हजार टन पुर्याउने कम्पनीको योजना छ। 


कम्पनीको ‘बुक भ्यालु’ ६ अर्ब रुपैयाँ हाराहारी पुगेको मुरारकाले दावी गरे। अर्घाखाँचीमा कम्पनीको ३० बर्षलाई पुग्ने आफ्नै क्लिंकर खानी छ। 
अढाई बर्ष अघि सञ्चालनमा आएको कम्पनीले ओपीसी सिमेन्ट उत्पादन गर्छ। सञ्चालनमा आएको बर्षदिन भित्रै अर्घाखाँची सिमेन्ट लोकप्रिय ब्राण्ड बनिसकेको छ। अहिले ठूला पूर्वाधार आयोजना अर्घाखाँची सिमेन्टका मुख्य ग्राहक हुन्। 
 
भारतको उमा सिमेन्ट इन्टरनेशनलले पनि साझेदारी गरेको कम्पनीको प्रवर्धकमा मुरारका ग्रुप, सिद्धार्थ ग्रुप र केडिया ग्रुप छन्। नेपाली लगानीकर्ताको क्रमशः ३०, ३५ र १७.५ शेयर रहेको छ। भारतीय साझेदारको पनि १७.५ प्रतिशत लगानी छ। कम्पनीले हालै पानीले असर नगर्ने सिमेन्ट बोरा बजारमा ल्याएको थियो। मोइस्चर प्रुफ प्याकेजिङका कारण सिमेन्टको धुलो पनि बोराबाट बाहिर ननिस्कने कम्पनीको दाबी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell