PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

किन मिले दुई धारका एमाले र राप्रपा?



पहिलोपोस्ट

किन मिले दुई धारका एमाले र राप्रपा?

काठमाडौं : गत फागुन ६ मा राप्रपाको एकता महाधिवशेनको उदघाट्न सत्रलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राप्रपालाई 'नयाँ विकल्प शक्ति' बन्न शुभकामना दिएका थिए।

त्यसको ठीक तीन महिनापछि हुन लागेको स्थानीय तह चुनावमा उनै ओलीले राप्रपासँग 'एमालेको गढ' मानिएको काठमाडौं महानगर र ललितपुर महानगरमा तालमेलको नयाँ अभ्यासको सुत्रपात गरे। यसअघिको स्थानीय चुनावमा कायम बलियो प्रभावबाट एमाले खस्कदै गएको पूर्वाभ्यास एमालेलाई भएको जनाउ पनि हो यो चुनावी तालमेल। 

वैशाख ३१ मा हुने पहिलो चरणको स्थानीय चुनावको उम्मेद्वारी मनोनयन दर्ता गर्ने अन्तिम घडीमा मात्रै एमाले र राप्रपाको तालमेलको तयारी सार्वजनिक भयो। राप्रपाका तर्फबाट काठमाडौंको मेयरमा मनोनयन पत्र दर्ता गर्ने तयारी गरेका केन्द्रीय सदस्य राजाराम श्रेष्ठ पछि हटाइए र उपमेयरमा सीमित भए।

एमाले अध्यक्ष ओली र राप्रपा अध्यक्ष थापाबीचको चुनावी तालमेलको प्रयास उच्च तहमा भएको थियो। उम्मेद्वारी दर्ताको अन्तिम घडीमा सार्वजनिक भएको एमाले राप्रपाको चुनावी तालमेलले उनीहरुकै कार्यकर्ता पनि झस्काएको थियो। 

मुख्य सत्तारुढ तथा संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले काठमाडौं महानगरमा पुराना र कांग्रेसबीच लोकप्रिय नेता राजुराज जोशीलाई मेयरमा पक्का गरेपछि मात्रै एमालेले आफ्नो उम्मेद्वारको टुंगो लगायो। कांग्रेसका हेभिवेट उम्मेद्वार जोशीका कारण पनि एमाले राप्रपासँगको चुनावी साझेदारीका लागि बढी लालायित भएको हुनुपर्छ।

किनभने पछिल्लो संविधानसभा चुनाव २०७० मा पनि काठमाडौंमा कांग्रेसले एमालेको लालकिल्ला भत्काएर विजय हासिल गरेको थियो। हाल कांग्रेसका मेयरका उम्मेद्वार जोशी स्थानीय नेवार समुदायका तथा सबै संघ संगठनको अत्याधिक समर्थन पाएका मेयर प्रत्याशी मानिएका छन्। 

एमाले र राप्रपाले यो चुनावी सहकार्यसँगै सिद्धान्तका हिसाबले एक नदीका दुई किनार जस्ता भए पनि, सत्ता साझेदारीमा संविधान निर्माणपछिको पहिलो सत्तासहकार्यको नाता नविकरण पनि गरेका छन्। केपी ओली संविधान जारी भएपछिको सरकारमा ९ महिने प्रधानमन्त्री हुँदा राप्रपा अध्यक्ष थापा उपप्रधान तथा परराष्ट्र मन्त्री थिए।

मधेश आन्दोलन र भारतीय नाकाबन्दीको धक्का खेपेको ओली सरकारमा थापा उनका सबैभन्दा विश्वासिला र निकट सहयोगी मन्त्रीको भूमिकामा देखा परेका थिए। गत साउनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ओली सरकार ढाल्दैगर्दा पनि कमल थापा भने अन्तिमसम्म ओलीको समर्थनमा एक्लै उभिएका थिए। 

विचार र मान्यताका हिसाबले परस्पर विरोधी जस्ता दल लागे पनि व्यवहार र चरित्रका कारणले सत्तामुखी र अवसरवादी चरित्रमा देखिएका भिन्नतालाई चुनावी दौडमा पनि दुवै दलले यो एकतासँगै मुखरित गरेका छन्।

किन भने कुनै न कुनै रुपमा सधै सत्तारुढ भैरहने र हरेक राजनीतिक परिस्थितिको आफू अनुकुल व्याख्या वा अपव्याख्या गरेर जस्तोसुकै राजनीतिक समीकरणमा पनि सत्तारुढ भैहाल्ने दुवै दलको समान राजनीतिक चरित्र लामो समयदेखि  देखिँदै आएको छ। एमाले राजाको सक्रिय शासनकालमा पनि प्रतिगमन आधा सच्चिएको भन्दै सरकारमा गएको इतिहास छ भने अघिल्लो केपी ओली सरकारमा सामेल थापा हिजो मात्रै प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिएका ताजा उदाहरण छन्।

राप्रपा र एमाले पछिल्ला दिनमा नजिकिँदै गएका थुप्रै उदाहरण छन्। राप्रपा अध्यक्ष थापाले गणतन्त्रवादीलाई राजावादीसँग नझस्किन सम्झाउँदै आएका छन् भने एमालेले कांग्रेस र माओवादीको अनपेक्षित सत्तासहकार्यको अभ्यास सुरु भएपछि आफू लगायतका साना दललाई आफू निकट राख्ने कोशिश गर्दै आएको छ।

काठमाडौं र ललितपुर महानगर बाहेकका अन्य क्षेत्रमा पनि एमाले वा राप्रपाले सम्बन्धित कमिटीको निर्णयका आधारमा चुनावी तालमेल गर्ने भनेका छन्। यसले यी दुई दल सत्तासहयात्री कांग्रेस र माओवादीको देशव्यापी चुनावी एकताबाट त्रसित भएर पनि चुनावी सहकार्यमा लम्किएको अनुमान गर्न सकिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell