PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

बाहिरी चक्रपथ : डिपिआर स्वीकृत, ७२ मध्ये ६ किलोमिटर निर्माण सुरु हुँदै



पहिलोपोस्ट

बाहिरी चक्रपथ : डिपिआर स्वीकृत, ७२ मध्ये ६ किलोमिटर निर्माण सुरु हुँदै

काठमाडौं : शहरी विकास मन्त्रालयले बाहिरी चक्रपथ आयोजनाको बिस्तृत परियोजना प्रतिवेदन  (डिपिआर) स्वीकृत भए लगत्तै काम अघि बढाउन उपत्यका विकास प्राधिकरणलाई निर्देशन दिएको छ।
 
करिव १३ वर्षदेखि अड्किएको बाहिरी चक्रपथ आयोजनाको पहिलो चरण अन्तर्गत चोभार-गाम्चा-सतुंगल खण्डको ६.६ किलोमिटर सडकको डिपिआर गत बिहीबार शहरी विकास मन्त्रालयले स्वीकृत गरेको थियो।

'मन्त्रालयले निर्णय गरिसकेको हुँदा राजपत्रमा सूचना आउनुअघि नै काम थाल्न पत्राचार गरिएको छ', बाहिरी चक्रपथ आयोजनाका अधिकृत ध्रुबप्रसाद सापकोटाले भने 'हामीले पनि आइतबारदेखि नै कर्मचारी खटाईसकेका छौँ। मंगलबारसम्म उपभोक्ता समिति गठन गर्ने र काम अघि बढाउने लक्ष्य छ।'
 
स्थानीय निर्वाचन हुँदै गर्दा पनि काम नरोकिने उनले जानकारी दिए। राजपत्रमा सूचना प्रकाशित भएको ३५ दिन भित्र उपभोक्ता समिति गठन गर्नेदेखि जमिन छुट्ट्याउनेसम्मको काम सक्ने लक्ष रहेको उनले बताए।

चोभार-सतुंगल सडकअन्तर्गत ६ खण्डमा काम अघि बढाउने प्राधिकरणको तयारी छ। नेपाल सरकार र स्थानीय जनताको प्रत्यक्ष साझेदारीमा बन्न लागेको आयोजनाको कुल लम्बाई ७२ किलोमिटर छ। ५० मिटरको चौडा सडक र दायाँ-बायाँ २५० मिटरका दरले जग्गा बिकास गरिनेछ। 
 
आयोजना प्रभावित क्षेत्रका बासिन्दाले आफ्नो जग्गाको ४० प्रतिशत आयोजनालाई दिनु पर्नेछ। आयोजनाले त्यसबापत व्यवस्थित जमिन बिकास गरी वाँकी ६० प्रतिशत जग्गाधनीलाईनै फिर्ता गर्नेछ। ४० प्रतिशत जग्गा सरकारलाई दिएपछि कसैसँग कम्तीमा दुई आना दुई पैसा जमिन नबचे उक्त परिमाणमा सरकारी दर अनुसार आयोजनाले उपलब्ध गराउनेछ।
 
सरकारले गत वर्ष आयोजनाको काम अघि बढाउन सूचना निकालेको थियो। केही सीमित व्यक्तिले रोक्न निवेदन दिए पनि अधिकांश स्थानीयको साथ पाएपछि काम अघि बढाउन बाटो खुलेको हो। दाबी विरोधका लागि निकालिएको सूचनामा ९० जनाको मात्र निवेदन परेको सापकोटाले जानकारी दिए।
 
बाहिरी चक्रपथ आयोजनाको झन्डै ५० प्रतिशत अर्थात ३५.०८ किलोमिटर क्षेत्र काठमाडौंमा पर्छ भने भक्तपुरमा २१.०५ र ललितपुर १५.८० किलोमिटर पर्छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell