PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

गन्धर्व जातिको संस्कृतिमा आधारित उपन्यास 'सारङ्गी' सार्वजनिक



पहिलोपोस्ट

गन्धर्व जातिको संस्कृतिमा आधारित उपन्यास 'सारङ्गी' सार्वजनिक

काठमाडौँ : अल्पसङ्ख्यक गन्धर्व जातिको सामाजिक–सांस्कृतिक विशेषतामा आधारित उपन्यास 'सारङ्गी'को सर्वनाम थिएटरमा आयोजित कार्यक्रममा लोकार्पण गरिएको छ।

उपन्यासकार भुवनहरि सिग्देलसहित गन्धर्व समाज नेपालका अध्यक्ष कर्णबहादुर गन्धर्व, कवि तथा निबन्धकार श्यामल, कथाकार माया ठकुरी, प्राज्ञ नरनाथ लुइँटेलले उपन्यास सार्वजनिक गरे।

किताबमाथि आफ्नो धारणा राख्दै अध्यक्ष गन्धर्वले गन्धर्व जातिको जीवनशैली र संस्कृतिमाथि उपन्यास लेखिएकोमा लेखकको प्रशंसा गरे। 'हामीले नै यसबारे उजागर गर्नुपर्थ्यो’ उनले भने, 'तपाईँले लेखिदिनुभयो। हामी धेरै खुसी छौं।’

श्यामलले आम नेपाली समाजका आवाज र श्रवणविहीनको समस्या उपन्यासमा उठान गरिएको र यो गन्धर्व समाजको दु:खको गाथा भएको बताए। 'गन्धर्व समुदायको जीवनको विडम्बना प्रस्तुत गर्ने आख्यान हो यो। उत्पीडित जातिमा पनि नसमेटिएको आख्यानुसन्धान गरेर समाजशास्त्रीय दृष्टिकोणले देखिएको छ,' उनले भने, 'समाज एकैपटक उठ्दैन भन्ने उदाहरण उपन्यासमा प्रस्तुत गरिएको छ।’

अर्की वक्ता कथाकार ठकुरीले शारीरिक अपाङ्गता भएकाहरुमा संवेदना हुन्न भन्ने आम सोचाइलाई उपन्यासले मिथ्या साबित गरिदिएको टिप्पणी गरिन्। प्राज्ञ लुइँटेलले उपन्यासमा जन्मँदादेखि नै देखिने श्रव्य र वाचनको समस्या रहेको पात्रको मनोविज्ञान समेटिएको भनाइ राखे। 'श्रवणशक्ति नभएकाहरुको मनोविज्ञामाथि विश्लेषण गरिएको उपन्यासको आधारभूमि गन्धर्व समाज र उनीहरुको जीवन पद्धति नै हो,' उनले थपे, 'सारङ्गी समग्र नेपालीको आफ्नै सांस्कृतिक बाजा हो। यसलाई जोगाउनु सरकार र हाम्रो दायित्व हो, जुन उपन्यासले चित्रण गरेको छ।’

शिखा बुक्सले छापेको किताबको मूल्य ३ सय ५५ रुपैयाँ राखिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell