PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सीमा नाकाबाट दुई युवतीको उद्धार



पहिलोपोस्ट

कञ्चनपुर : पश्चिमी सीमा नाका गड्डाचौकीबाट माइती नेपाल कञ्चनपुरले वैदेशिक रोजगारको प्रलोभनमा पारी भारततर्फ लैजाँदै गरेका दुईजना युवतीको शनिबार साँझ उद्धार गरेको छ। 

काठमाडौँबाट भारतको नयाँदिल्लीतर्फ जाँदै गरेको बा ३ ख ४१६८ नम्बरको बसमा जाँदै गरेका सिन्धुपाञ्चोककी अन्दाजी २२ वर्षीया र सोलुखुम्बुकी ३० वर्षीया युवतीको सीमा नाकाबाट उद्धार गरिएको हो। 

‘उद्धार गरिएका एकजना युवतीलाई लामाको कपडा पहिराई धर्मशालामा पठाउने बहानामा भारततर्फ पठाउन लागेको अवस्थामा उद्धार गरेका छौँ’ माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताए। 

अर्की उद्धार गरिएकी युवतीलाई समेत शेर्पा कपडा लगाउन भने पनि उनले नलगाएको सोधपुछमा बताएको उनले जानकारी दिए। २२ वर्षीया युवतीलाई भारतको बाटो हुँदै दुबई र अर्की युवतीलाई किर्गिस्तान पठाउने भन्दै दलालले काठमाडौँबाट बसमार्फत पठाएका थिए। 

धार्मिक कपडा पहिराई युवतीलाई अवैध रुपमा भारततर्फ पठाउन लागेको अवस्थामा पहिलोपटक फेला पारेका छौँ – संयोजक भट्टले भने ‘यसअघि विवाह गर्ने, रोजगारीमा लगाइदिने र सीमावर्ती बजारमा किनमेल गर्ने बहानामा युवतीलाई झुक्याई भारततर्फ लग्ने गरेको पाइएको थियो।’ 
दलालहरुले युवतीलाई रोजगारीको प्रलोभन दिई सीमा नाका पार गर्न नयाँ तरिका अपनाउन थालेको उनले बताए। युवतीलाई दलालले धार्मिक कपडा लगाएर गए सीमा क्षेत्रमा कसैले नरोक्ने भएकाले कपडा पहिराउन लगाएका थिए । रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell