PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

पुष्करराज भट्टका दुई लघुकथा



पहिलोपोस्ट

डा. पुष्करराज भट्ट 

प्रक्रिया

“आज त जसरी पनि काम गराएर छाड्छु, जे पर्ला–पर्ला” उसले दृढ अठोट गर्‍यो। 

पहिलेकै फाँटमा गयो। आशाका नजरले कर्मचारीको मुखतिर हेर्‍यो। ङिच्च दाँत देखायो, छोराको उमेर सरहको फाँटवाला कर्मचारीलाई नमस्कार गर्‍यो।

“केही काम थियो की?” बूढाको आकृति र पोशाकतिर नजर लगाउँदै उपेक्षासाथ बोल्यो कर्मचारी।

“हजुर, मेरो काम.....म धेरै दिन भयो यो कामले आएको। पैसा पनि सकियो। अब यो ठाउँमा बस्न पनि गाह्रो भैसक्यो। काम नभई कसरी घर जानु?” विवशताका फेहरिस्त एकै सासमा प्रकट गर्‍यो।

“मैले हिजै भनेको होइन, तपाईँको काम मबाट हुँदैन भनेर। कति कचकच गरिरहेको। फेरि तपाईँको कुनै प्रक्रिया मिलेको छैन। प्रक्रिया नमिलेर कसरी काम गर्नु?” कर्मचारी पन्छिन खोज्यो।

ऊ चूपचाप टोल्हाइरह्यो। आशापूर्ण नजरले हेरिरह्यो।

“हैन, तपाईँले मेरो मुखमा के हेरिरहनु भएको, जानुस् प्रक्रिया मिलाएर ल्याउनुस् अनि मात्र मैले तपाईँको काम गर्नेछु, प्रक्रिया नमिलेर म तपाईँको काम गर्दै गर्दैन” फाँटवालाले कारिन्दाजस्तो ठानेर आदेश दियो।

बूढो त्यहाँबाट अर्को फाँटमा गयो र भन्नथाल्यो “हजूर मेरो काम......।” त्यहाँ बसेको फाँटवाला कर्मचारीले झर्किदै “यहाँ होइन, ऊ त्यहाँ जानोस्” भन्दै पहिलेकै फाँटमा देखायो।

बूढो रामप्रसाद त्यहीँ उभिँदै सोच्नथाल्यो “मेरो सम्पूर्ण कागजात त ठीकै जस्तो लाग्छ तर पनि किन मलाई झुलाउँदैछन्, कहिले यता जाऊ, कहिले उता जाऊ भन्छन्, कहिले प्रक्रिया मिलेन भन्छन, यिनीहरूको चाला पनि बुझ्न सकिएन, आज घरबाट निस्केको पनि पाँच दिन भैसक्यो। मभन्दा पछि आएकाहरूको पनि काम भैसक्यो। मेरो चाहिँ कहिले हो....कहिले....।”

त्यसपछि ऊ त्यहाँबाट निस्कियो। चौरमा गएर स्थिर खडा भइरह्यो। उसले परबाट आइरहेको कार्यालय सहयोगीलाई रोक्दै भन्यो “ए भाइ! यो प्रक्रिया मिलाउनु भनेको के रहेछ? मेरो त प्रक्रिया नमिलेर काम रोकिएको भन्छन्, आफू त गाउँले मान्छे, केही बुझ्न सकिनँ।”

“ओहो बाजे! त्यति पनि कुरा नबुझेको, फाँटवाला साहेबको हातमा दक्षिणा भेटी नचढाउञ्जेलसम्म त तपाईँको काम बन्दैन। भेटी चढाउनुस्, तपाईँको काम तुरुन्त हुन्छ।” नयाँ सत्यको उद्घाटन गर्‍यो उसले।

बूढाको आवाज मौन थियो, आँखाले केही भनिरहेको थियो।

---

 

लोकप्रियता 

उनको नाम बाबुआमाले दयासागर किन राखे, यो विषयमा उसले धेरै सोचेको थियो तर आफै जवाफ पाउन सकेको थिएन? नाममा के छ, जे छ काममा छ भन्ने सोचेर उनी काममा घोटिइरहन्थे।

सूर्यको प्रकाशमा उनी थिए उज्यालो निख्खर जुनको प्रकाश अनि अन्धकारमा निस्पट्ट औंसीको रात। उज्यालोमा देख्ने श्रद्धाले झुक्थे, अन्धकारमा देख्ने घृणाले थुक्थे। बाँचिरहेका थिए अर्थात मान–अपमान सबैलाई पचाइरहेका थिए।

व्यापारी। सामानको मात्र हैन मानिसको आस्था एवम् विश्वासको पनि व्यापार गर्थे।

अकस्मात उनको जीवनको उज्यालो हरायो। अन्धकार उदाङ्गो भयो। व्यापार व्यापार थिएन, थियो मिसावट र कालोबजारी। झुठ र बेइमानी। एक सत्य मर्‍यो अनेक असत्य जन्म लिए।  झुठ र फरेब उदाङ्गो भयो।

गुमेको प्रतिष्ठाको खोजीमा सक्रियता बढ्यो। चन्दा, पुरस्कार, दानदातव्यको झोली खोलेर चन्दन लगाएर साधु भेषमा बस्न थाले। मन्दिर, पार्टी कार्यालय, सामाजिक संस्था सब ठाउँ धाउन थाले।

'साहु दयासागर वास्तवमै दयाको सागर हुनुहुन्छ। उहाँले हाम्रो मन्दिरलाई एकलाख सहयोग गर्नुभयो।” एकजना पुजारीको ताजा भनाइ समाजमा हुरीझैँ फैलियो। 

'साहुजीले हाम्रो संस्थालाई अगाडि बढाउन पटक–पटक सहयोग गर्नुभएको छ। उहाँजस्तो समाजसेवकलाई अभिनन्दन गर्नुपर्छ।” स्थानीय सामाजिक संस्थाको प्रमुख सदस्यको प्रस्ताव आयो।

'दयासागर नाम मात्र हैन, नाम अनुसारको काम गर्ने वरिष्ठ समाजसेवक हुन्। उनले हाम्रो पार्टीलाई निर्वाचनमा राम्रो सहयोग गरेका छन्। हामीले उनलाई यस निर्वाचनमा समानुपातिक तर्फको सभासदको टिकट दिनुपर्छ।” पार्टी नेताले आफ्नो पार्टीमा कुरा राखे।

केही वर्षअघि अंगीकृत नागरिकता लिएका साहु आज जुगामा ताऊ लाउँदै छन्। उनको लोकप्रियताको ग्राफ उकालो चढदै छ शेयर बजारजस्तै।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell