PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

हिउँमा हराएको ४७ दिनपछि भेटिएका युवक भन्छन्- 'हिम्मतले मृत्युलाई पनि जित्न सकिँदो रहेछ'



स्वेच्छा राउत

हिउँमा हराएको ४७ दिनपछि भेटिएका युवक भन्छन्- 'हिम्मतले मृत्युलाई पनि जित्न सकिँदो रहेछ'

काठमाडौं : आफ्नो प्रिय मान्छेको मृत शरीर आँखै अगाडि हुँदा सामान्यतया मान्छेले कस्तो भाव व्यक्त गर्छ होला? अनुमान रहन्छ- रुने, कराउने, चिच्याउने, आत्तिने यस्तै केही। तर २१ वर्षीय लियाङको हकमा भने यी सबै अनुमानहरु गलत साबित भए। तीन दिनसम्म १९ वर्षीया प्रेमिका लिउ चेनचुनको लास आफ्नै अगाडि राखेर पनि उनले आफू बाँच्न संघर्ष गरे। आफ्नो शरीरको माया गर्नुका साथै उनले जीवित रहनुको फाइदा उठाउने प्रयास पनि गरिरहे। 

लियाङको प्रयास विफल भएन। उनको जीवितै उद्धार भयो। शरीरभरि म्यागट नामक मासु खाने कीराले बनाएको प्वाल र जुम्रा। ३० किलोग्राम घटेको तौल। आँखामा उद्धार टोली देखिनुको खुसी अनि पटक-पटकको इशारामा 'मलाई बचाउ' भन्ने भावाभिव्यक्ति। यो उद्धारकर्मी दावा तामाङले गरेको व्याख्या हो। उनले भने, 'उसको शरीरबाट आएको गन्धले मलाई तर्साएको थियो।' 

हिउँमा बेपत्ता भएको ४७ दिनपछि जब उद्धार टोली उनका सामु पुग्यो तब उनले इशाराको भाषामा भने, 'मलाई बचाउनुस्।' उद्धारकर्मी दावा तामाङका अनुसार लियाङले आफू बाँच्न चाहेको इच्छा व्यक्त गर्नासाथ अर्को इशारा गर्दै भने, 'तपाईँहरु तीन दिन चाँडो आउनु भएको भए मेरी प्रेमिका पनि बाँच्ने थिइन्।' 

प्रेमी लियाङ र प्रेमिका लिउ चेनचुन ताइवानबाट नेपाल घुम्न आएको जोडी हो। गाइडबिना नै तातोपानीलगायतका ठाउँ घुमेका उनीहरुले तिप्लिङजस्तो चर्चित पर्यटकीय स्थलमा पुगेर बेवारिसे भइएला भन्ने सोचेका थिएनन्। तर प्रकृति कहिलेकाहीँ क्रुर बनिदिन्छ। सधैँ ऊ आफ्नो एकतर्फी नियम पालना गर्ने हतारोमा रहन्छ। उसले न जीवनको गन्ती गर्छ न त मरणको वियोग नै मनाउँछ। प्रकृतिको यही नियमले शिकार बनायो यस जोडीलाई।

प्रकृतिको स्वच्छन्दतामा रमाउन सँगै आएकी प्रेमिकाले ज्यान गुमाउनु लियाङको लागि सजिलै सहन सकिने घटना होइन।

'तर जीवनप्रतिको सकारात्मक सोचले नै उनलाई जिउँदो राख्यो। बाँच्नुको इच्छाशक्ति र आफूभित्र अन्तर्निहित हिम्मतले उनको कमजोर बनेको शरीरलाई गालेन', लियाङको उपचारमा संलग्न डाक्टर चक्रराज पाण्डेले भने। डाक्टरका अनुसार उपचाररत लियाङ आफ्नी प्रेमिकालाई पटक-पटक सम्झिन्छन्। लियाङले डाक्टर चक्रराजलाई भावुक स्वरमा भने, 'एउटै खाना, पानी र नुन खाएर बसेका हामी। तर बाँच्ने आश र इच्छाशक्ति एउटै भएन। उनले मर्नुभन्दा एक हप्ताअघि नै हिम्मत हारेकी थिइन्।' 

उद्धारकर्मी दावा तामाङ, पासाङ र माधव बस्नेत उनीहरु सामु पुग्दा पनि उनले आफ्नो प्रेमिका निकै तड्पेर, चिच्याएर, कराएर, आत्तिएर बेहोस भएको र कहिल्यै नउठ्ने गरी चीर निद्रामा पुगेको बताएका थिए।



लियाङ र लिउ चेनचुन तिप्लिङको लवदुङ्गामा ४ दिन बसेर गन्तव्यको लागि यात्रा सुरु गरेकै दिन (फागुन २५ गते) तीन महिना अघिदेखिको खडेरीले पनि निहुँ खोज्यो र भारी वर्षा सुरु भयो। वर्षासँगै खस्न थाले हिउँका ढिक्काहरु।  लगातार भएको हिमपात दुई सय मिटरसम्म नै गहिरियो। न बाटो देखिन्थ्यो न त नजिक बास बस्ने कुनै ठाउँ नै। स्थानीय दावा भन्छन्, 'उनीहरुले केही घण्टा ढिलो गरेको भए हावाहुरी, पानी र हिउँदेखि आत्तिएरै पनि निस्कने थिएनन्।'

वैशाख १३ गते बिहीबार एसियन ट्रेकिङ एजेन्सी र सिम्रिक हेलोकोप्टरले संयुक्त रुपमा उनीहरुलाई भेटिएको स्थानबाट उद्धार गरेर काठमाडौं ल्याएको हो। स्थानीय र ट्रेकिङ एजेन्सीको टोलीले उनीहरुलाई रुविभ्याली गाउँपालिकामा रहेको खोंचमा फेला पारेको थियो। उच्च हिमपातका कारण जमेको हिउँमा चिप्लिएर यो जोडी करिब २०० मिटर तल खसेको थियो।

पाङसाङबाट नारत्त खर्क हुँदै सोमदाङ बस्तीसम्म जान खोजेका लियाङ र उसकी प्रेमिकालाई हिउँले अन्तै पुर्‍यायो। त्यसअघि पनि घत्लाङ जाने भनेर निस्किएका उनीहरुले बाटो बिराएका थिए। गलत बाटो हिँडिरहेका उनीहरुलाई स्थानीयले भेटेपछि आफूसँगै गाउँमा ल्याएर चार दिन घरमा राखेका थिए।

चार दिनसम्म गाउँमा बसेका उनीहरु गाउँलेसँग नजिकिएका थिए। दावाका अनुसार महिला दिवसको दिन उनीहरुले  गाउँमा आयोजना भएको कार्यक्रममा नाचेर खुबै रमाइलो गरेका थिए। 'त्यसैले पनि उनीहरु हराउनु पूरै गाउँलेका लागि दु:खको विषय थियो। आज त भेटिन्छन् कि भन्ने आश हरेक दिन सबैको आँखामा देखिन्थ्यो।'


फेब्रुअरीमा भारत हुँदै नेपाल घुम्न आएका लियाङ र लेउ १० मार्चबाट सम्पर्कविहीन भएका हुन्। ताइवानमा रहेको परिवार छोरा र उसकी प्रेमिका बेपत्ता भएको थाहा पाएपछि खोजीको लागि भारतमा रहेको ताइवानी दूतावासलाई आग्रह गरेका थिए। खोजी कार्य सुरु भएसँगै नेपाल आएका लियाङका आमाबुबाले लियाङ र उनकी प्रेमिका नभेट्टिएपछि वैशाख ६ गते ताइवान फर्किएका थिए।

सम्भावित ठाउँहरुमा कतै नभेटिएपछि लियाङ र उनकी प्रेमिकाप्रति सबैको आश मर्‍यो। स्थानीय तथा एसियन ट्रेकिङ एजेन्सीको पनि।

सन्तान गुमाएका आमाबुबाको मन त्यसै किन मान्थ्यो। ताइवानबाट ट्रेकिङ एजेन्सीलाई सास वा लासमध्य एक बुझाउन आग्रह गरियो। र पुन: अप्रिल २६ गतेको बिहानबाट खोजी कार्य सुरु भयो।

यस पटकको खोजी कार्य पहिलेको जस्तो रहेन। किनकी स्थानीय दावा तामाङ र अन्यले पहिले नै व्यक्तिगत रुपमा खोज्न अनुमति मागेका थिए। 'कसैले काटेर फालेके अवस्थामा भेटिए आफै फस्ने डर भएकाले अनुमति बेगर खोज्न जान डर लागेको थियो', उनले आफ्नो तर्क राखे। जब एजेन्सीले अप्रिल २६ मा खोजी कार्य पुन सुचारु गर्ने बतायो तब उनीहरु हौसिए। खुकुरीले काटेको खुट्टाको चोटमा लगाइएको टाँकाको प्रवाह नै नगरी भुटेको मकै बोकेर एजेन्सीका दुई कर्मचारीसँगै निस्किए दावा।

अब खोजी लासको गर्नु थियो। त्यसैले जता-जता गिद्ध उडेर जान्छ त्यतै-त्यतै मोडिए खोजीमा खटिएकाहरु। 'म अरुभन्दा केही माथि थिएँ। गाईबस्तु पर्ने खोंचमा परेको आशङ्काले नै निंगालोमा झुण्डिएर तल हेरेँ। करिब दुई सय मिटर तल टेन्ट र झोला देखें', दावाले खोजी गर्दाको क्षण सम्झिए।

'मैले लास देखिएको आशङ्कामा चिच्याएर साथीलाई बोलाउँदा लियाङ भ्यागुता जसरी बाहिर निस्किए', यति भनिसक्दा दावाको अनुहारमा युद्ध जिते सरहको भाव झल्कियो। थपे, 'त्यो खोंचमा ४७ दिन परेर ज्युँदो रहनु भनेको चमत्कार हुनु हो।'

लियाङले आफू र प्रेमिकाले खानेकु़रा सकिएपछि आफूसँग भएको नुन र हिउँ पगालेर पिएको बताएका छन्।


'अप्रिल महिनामा म दुई पटक जन्मिएँ। पहिले १९९६ मा र अहिलो २०१७ मा। म थाकेको छु धेरै बोल्न सक्दिनँ तर म खुसी छु पुनर्जन्म पाएकोमा', लिवाङले शुक्रबार ग्राण्डी हस्पिटलमा आफ्नो २१ औं जन्मदिन मनाउँदै भने।

उनको उपचारमा खटिएका ग्राण्डीका डाक्टर चक्रराज पाण्डेका अनुसार उनको स्वास्थ्य स्थिति सुध्रँदै छ। गम्भीर चोट केही नलागे पनि उनको शरीरमा म्यागट र जुम्राका कारण धेरै घाउ भएको थियो। उनले भने,'जादूमय तरिकाले ऊ रिकभर भयो। यति छोटो समयमा आफै हिँड्नसमेत थालेको छ।'

जीवनप्रतिको लोभ र मर्नुको भयले तर्साएको लियाङ बाँकी जीवन तइवान फर्किएर सामाजिक कार्यमा खर्चन चाहन्छन्। प्रेमिकाले गुमाएको जीवन र त्यसअघि नै गुमाएको साहस र आत्मविश्वासले उनलाई आत्मविश्वास र साहसको महत्व सिकाएको छ। भन्छन्,'हिम्मतले मृत्युलाई पनि जित्न सकिँदो रहेछ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell