PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

अरु पार्टीको तागत देशलाई अप्ठ्यारो पार्न प्रयोग भयो : रामचन्द्र पौडेल



पहिलोपोस्ट

अरु पार्टीको तागत देशलाई अप्ठ्यारो पार्न प्रयोग भयो : रामचन्द्र पौडेल

काठमाडौं : कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस बाहेकका दलहरुले आफू बलियो हुँदासमेत देशको समस्या समाधानमा भन्दा देशलाई नै अप्ठ्यारो पार्ने भूमिका खेलेको आरोप लगाएका छन्। कांग्रेसको प्रचार समितिले पत्रकारसँग राखेको अन्तरक्रियामा नेता पौडेलले देशलाई आफूलाई बलियो दाबी गर्ने दलहरुले राष्ट्र निर्माणका लागि काम नगरेको आरोप लगाएका हुन्।

'यो देशका आफूलाई बलियो दाबी गर्ने दलहरुको उर्जा देशलाई अप्ठेरो पार्ने काममा पटक-पटक प्रयोग भएको छ तर देशलाई निकास दिएको उदाहरण कमै मात्र भेटिन्छ,' पौडेलले भने, 'तर नेपाली कांग्रेस स्थापना कालदेखि जनतासँग जोडिएको छ र राष्ट्रलाई निकास दिने अभिभारा सधैँ बोकिरहेको छ।'  पौडेलले नागरिक स्वतन्त्रता र समृद्धिका लागि स्थापित कांग्रेसले राजनीतिक स्वतन्त्रताको अभिभारा पूरा गरेको बताए।

'नेपालमा समावेशी लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्र कांग्रेसको राजनीतिक अभियानका परिणाम हुन्,' पौडेलले भने, 'अब समृद्धिको यात्रा पनि कांग्रेसकै नेतृत्वमा अघि बढ्छ जनतालाई रोजगारी खोज्न बाहिर जानु नपर्ने र देशमै बसेर आर्थिक सवलता प्राप्त हुने वातावरण बन्छ।'

पौडेलले कांग्रेसले देशभित्र रोजगारीका क्षेत्र पहिचान गरिसकेको भन्दै त्यसलाई केही वर्षभित्र प्रयोग गरी आर्थिक समृद्धिको यात्रा तय गर्न बताए। 'उर्जा क्षेत्रको विकास, पर्यटन र कृषि क्रान्तिमार्फत हामी जनताको आम्दानी बढाउन चाहन्छौँ,' पौडेलले भने, 'जब जनताको आम्दानी बढ्छ तब न त रोजगारीका लागि विदेश जानुपर्छ न त दैनिकी चलाउने चिन्ता नै रहन्छ।'

उनले देशले कोल्टे फेर्ने समय आएको भन्दै जनताले जिम्मेवारीपूर्वक भूमिका खेल्नुपर्ने बताए। 'स्थानीय सरकार भनेको समृद्धिको संवाहक हो, त्यो गलत व्यक्ति वा समूहको हातमा गयो भने समग्र समृद्धिको अभियानमा नै नकारात्मक असर पुग्छ,' पौडेलले भने।

पौडेलले कांग्रेसको बारेमा जे हो त्यो कुरा मात्र भन्न नेता कार्यकर्ता र मिडियालाई आग्रह गरे। 'हामी 'प्रोपोगाण्डा' गर्दैनौँ, गर्नेहरुको प्रोपोगाण्डा बुझिदिनुहोस्' पौडेलले पत्रकारसँग भने।

'समावेशी लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्र कांग्रेसले गरेको राजनीतिक लडाइँका उपलव्धि हुन्,' पौडेलले भने, 'अब समृद्धिको यात्रा अघि बढाएर देशलाई समृद्ध बनाउनु छ।'

उनले जनताको उपेक्षित भावनाले देश विकास हुन नसक्ने भन्दै उपेक्षित जनतालाई भावनात्मक सम्मान चाहिने बताए। 'उपेक्षित भावनाले जनता समृद्धिको बाटोमा उत्साहित भएर लाग्न सक्दैनन्,' पौडेलले भने, 'देशलाई भावनात्मक एकतासहित सुरक्षित अवतरण गरेपछि सबै जनता समृद्धि अभियानमा होमिने छन्।'

उनले लोकतन्त्रले कसैलाई काखा पाखा नगर्ने भन्दै असमानताका खाडल र भावनात्मक उपेक्षाको अवस्था केही समयपछि टिक्नै नसक्ने दाबी गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell