PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

देउवाको घोषणा : निर्वाचन सर्दैन, संशोधन प्रस्ताव एमालेसहितको सहभागितामा पारित हुन्छ



रमेश वाग्ले

देउवाको घोषणा : निर्वाचन सर्दैन, संशोधन प्रस्ताव एमालेसहितको सहभागितामा पारित हुन्छ

काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचनको मिति सर्ने हल्ला निराधार भएको भन्दै तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिँदै त्यस्ता हल्लाबाट प्रभावित नहुन सबैलाई आह्वान गरेका छन्। पार्टी कार्यालय सानेपामा आज प्रचार समितिले पत्रकारसँग राखेको अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति देउवाले चुनाव कुनै पनि हालतमा नसर्ने बताए।

'अहिले हुन लागेको स्थानीय तहको निर्वाचन संविधानको कार्यान्वयन गर्ने, देशलाई जोड्ने र समृद्धिको यात्रा तय गर्ने चुनाव हो,' सभापति देउवाले भने, 'त्यसैले देशलाई नै समृद्धिको यात्रामा ब्रेक लगाउने गरी निर्वाचन स्थगित वा मिति परिवर्तन हुने कुनै सम्भावना छैन।' सभापति देउवाले सर्वदलीय बैठकपछि केही दलबाट आएका धारणालाई आधार मानेर चुनाव सर्छ भन्ने हल्ला चलाइएको भन्दै त्यस्ता हल्लाको पछि नलाग्न आग्रह गरे।

देश जोड्न संशोधनमा एमाले सहभागी हुन्छ

सभापति देउवाले मधेसी जनताको भावना संविधानमा जोडेर चुनावमा जानका लागि संविधान संशोधन प्रस्ताव संसद्‍मा लगिएको बताए। 'मधेसी जनताको भावनाको सम्मान गर्न र संविधानलाई सर्वस्वीकार्य बनाएर चुनावमा जान संविधान संशोधन प्रस्ताव संसद्‍मा लगिएको हो,' देउवाले भने, 'त्यही कारण मधेसबाट प्रतिनिधित्व गर्ने दलहरुलाई पनि चुनावमा लैजान मात्र दोस्रो चरणको चुनावका लागि मिति तोकिएको हो।' उनले संविधानले सबै कुरा नसमेटे पनि मधेसी जनतामा सम्मानको भावना जागृत गराउने दाबी गरे।

देउवाले भने, 'संविधान संशोधनले पुरै नभए पनि मुलभूत रुपमा मधेसी जनताको भावना सम्बोधन गरेको छ, बाँकी विषय जनताकै सहभागितामा विस्तारै सम्बोधन हुने नै छन्।' देउवाले समावेशी लोकतन्त्रको अभ्यास सुरु भएको भन्दै यही समावेशी व्यवस्थाले सबैका समस्या सम्बोधन गर्ने बताए।

देउवाले संविधानबाट छुटेका समूहलाई संविधानमा समेट्नकै लागि संशोधन प्रस्ताव आएको भन्दै त्यसको विपक्षमा प्रतिपक्ष एमाले मात्र नभएर कुनै पनि जिम्मेवार दल नलाग्ने विश्वास व्यक्त गरे।

उनले भने, 'जनताका भावना जोड्ने अभियान सफल बनाउन एमालेसहितका जिम्मेवार पार्टीले पनि संशोधनमा समर्थनसहितको सहभागिता जनाउने छन्।' एमालेले मधेसी दलहरु र जनतासँग सम्बन्ध सुधारको 'स्पेस' खोजिरहेको भन्दै संशोधनमा समर्थनले त्यसका लागि मार्ग प्रशस्त गर्ने दाबी गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell