PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

नियात्रा : हिउँमा हाम फाल्दा...



पहिलोपोस्ट

नियात्रा : हिउँमा हाम फाल्दा...

  • प्रा.डा. निर्मोही व्यास


एकाबिहानै चियापानपछि लागियो नवनिर्मित कर्णाली राजमार्गलाई पछ्याउँदै दैलेख जिल्लाको सदरमुकाम नारायण नगरपालिकालाई गन्तव्य बनाएर। सहयात्री हुनुहुन्थ्यो कथाकार मित्र डा.अमर शाह र उहाँकी धर्मपत्नी प्राध्यापक पुष्पा शाह। अझ यसो भन्नु पो उचित होला- शाहदम्पतीका सहयात्री बनेका थियौँ निर्मोही व्यास र वीणा पोखरेल। किनभने, हामी दम्पतीले शाहदम्पतीको सौहार्द र सौजन्यपूर्ण निम्तोमा उहाँहरूसित उहाँहरूकै गाडीमा त्यस यात्राको सुनौलो अवसर पाएका थियौँ नि त। माघ महिनाको ठिहिर्‍याउने मध्य जाडो याममा एकाबिहानैको यात्रा भए पनि मध्यपश्चिमाञ्चल क्षेत्रीय पशुसेवा निर्देशनालयका निर्देशकज्यूको वातानुकूलित भव्य गाडीमा उहाँका अतिथि–सहयात्री भएर हिँडिएकाले वीणा र मलाई जाडोको एक पुस्ता त के सात पुस्ताले समेत पटक्कै छुन सकेको थिएन। अमर र पुष्पाजीले आफ्नो सरकारी आवासबाट निस्केर वीरेन्द्रचोकबाट हामी दुईलाई साथ लिएपछि मङ्गलगढी हुँदै हालसालैजसो पिच गरिएको फराकिलो मूलबाटैबाटो अघि लागेर ढोडेखाली नाघी बाङ्गेसिमल पुग्यौँ। त्यहाँ सशस्त्र प्रहरीको चेक प्वाइन्टमा गाडी नम्बर इन्ट्री गरेपछि अब एकोहोरिएको थियो हाम्रो यात्रा।

त्यसो त सुर्खेतदेखि दैलेख जानका लागि यता आउनै नपर्ने हो रे, उतै इतरामतिरबाटै, उकालो लागेर क्रमशः कपासे (सैनिक शिविर भएको ठाउँ), गोठीकाँडा, सीतापाइला, रातानाङ्ला, रानीमत्ता, गुराँसे देउराली भन्ज्याङमा पुगी त्यहाँबाट ओरालो झरेर गाईबान्न, घोडबास, तालपोखरी हुँदै उपल्लो डुङ्गेश्वरमा झरेपछि लोहोरेखोलाको किनारैकिनार केही बेरमा पुगिन्छ रे अचेल नारायण नगरपालिका नाउँ भएको दैलेखबजारमा। र, सुर्खेत–दैलेख गर्ने मूलबाटो नै त्यही हो रे। तर, हिजो बेलुकी अमरजीले सोधखोज गर्दा गुराँसेभन्ज्याङ र त्यसदेखि उता टन्नै हिउँ जमेर बाटो बन्द भएको जानकारी पाइएकाले यो घुमाउरो बाटो अँगाल्नुपरेको।

आजको यो दैलेख–यात्राको सौभाग्य एकदमै अचम्मैसित अप्रत्याशित रूपमा ‘सरप्राइज’ भएर आइपरेको थियो मेरो पोल्टोमा।

मेरो जेठो छोरा शरद उपाध्याय सुर्खेतमा कुमारी बैङ्कमा कार्यरत थियो दुई वर्षअघिदेखि। र, हामी पति–पत्नी छोराबुहारी र डेढ वर्षको छुनुमुने नातिलाई भेट्न आएका थियौँ केही दिनअघि यहाँ। सुर्खेतमा यो मेरो नितान्त पहिलो आगमन थियो। यसबीचमा नयाँ ठाउँमा डुलफिर र आत्मीय जनसँग भेटघाट गर्ने क्रममा छोराबुहारीले हामीलाई यहाँका बुलबुलेताल, काँक्रेविहार, लाटीकोइली र गङ्गामाला देउतीबज्यैको मन्दिर, उत्तरगङ्गा, गोठीकाँडा अनि तत्कालीन कर्णालीप्रदेशका राजाहरूको शीतकालीन राजधानी र राजदरबार रहेको ठाउँ, आदि प्रायःसबैजसो महत्त्वपूर्ण पर्यटकीय स्थलहरू डुलाइ–देखाइसकेका थिए। त्यस्तै सुर्खेतको साहित्यिक संस्था “वाङ्मय चौतारी नेपाल” को आयोजनामा पुस ३० गते नगरपालिकाको सभाकक्षमा सम्पन्न ‘नियात्रा–परिचर्चा’ केन्द्री भव्य कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुने र सम्मानित हुने सौभाग्य समेत पाइसकेको थिएँ मैले।

हिजो बेलुका वीणा र म छोराको आवासबाट घुमघाम गर्दै फेरि पुगेका थियौँ त्यहाँको कोलेनिकाका प्रमुख एवं मेरा आत्मीय साहित्यिक मित्र मोहन चापागार्इँज्यूको आवासमा। र, त्यहाँबाट घुमघामको क्रममा उहाँले पुर्‍याउनुभएको थियो अमर शाहजीको आवासमा। मैले धेरै पहिलेदेखि उहाँलाई चिन्दै आएको थिएँ उहाँका लोभ्याइला कथा–सृजनाहरूका माध्यमबाट। हामी दुवै तराई क्षेत्रका उपज, उहाँ बाँकेका र म बाराको। कलैयादेखि नेपालगन्ज बारम्बार पुग्ने गरेकै पनि थिएँ तर साक्षात्कारको अवसर भने कहिल्यै जुरेकै थिएन। त्यसैले अहिले मोहनजीको सौजन्यबाट धन्य भएँ म। शान्त, शालीन र सहृदय स्रष्टा शाहको व्यक्तित्वले पनि उसैगरी मोहनी लगायो छिनको छिनमै निर्मोहीलाई उहाँका सिर्जनालेजस्तै। त्यहाँ कुराकानी र चियापानको क्रममा अमरजीले आफूहरू कामविशेषले भोलि बिहान दैलेख जान लागेको र पर्सि बिहान फर्की आउने कुरा सुनाउँदै दैलेख नदेखेका हामी दम्पतीलाई पनि सहयात्राको हार्दिक निम्तो दिनुभएको थियो। र, यसरी एकदमै अप्रत्याशित रूपमा बन्न पुगेको थियो हाम्रो दैलेख–यात्राको कार्यक्रम।

अँ त, बाङ्गेसिमलदेखि थालिएको यो नवनिर्मित ‘सुर्खेत–जुम्ला सडक’ वा कर्णाली राजमार्ग सुर्खेतवासीहरूका लागि त नयाँ थियो भने हामी सुर्खेत नै ‘नयाँ ठाउँ’ भएको व्यासदम्पतीका लागि त झन् भनिसाध्य नै के र ! दायाँबायाँ र वारिपारि विभिन्न वनस्पतिले सुशोभित हरिया वनजङ्गलले ढपक्क ढाकिएका डाँडाकाँडा र पाखा–पखेराहरूका मनमोहक सौन्दर्यलाई अगस्ति बनेर आँखाहरूले पिउँदै नागबेली परेको पक्की सडकैसडक लम्किँदै जाँदा त आहा ! त्यो बेजोड र शब्दातीत वा वर्णनातीत आनन्दानुभूतिलाई कसरी अभिव्यक्त गर्नु र खै ! बीचबीचमा झल्याकझुलुक चियाउन आउने दमारे, हुर्के अनि ओदालताल भनिने साना–साना तर मायालु बस्तीहरूलाई ‘नमस्कार ! सन्चै छ ?’ भन्न नभ्याउँदै गाडी त बेतोडले अट्ठाईस किलोमिटर बाटो स्वाट्टै नाघेर पुग्यो बड्डीचौरबजार। यहाँदेखि साठी किलोमिटर जति पर पर्ने खिडकीजिउला भन्ने ठाउँसम्म सडक कालोपत्रे भएको रहेछ।

खै कहाँदेखि पो हो नजिकै देब्रेतर्फ देखिन थाल्यो विशाल कर्णालीनदी। र, पारिपट्टि यहाँदेखि उहीँसम्म लमतन्न परेको अग्लो र हरियालीपूर्ण पर्वतशृङ्खला। मैले आँखा मिचीमिची हेर्दै र ‘आहा...मेरी प्यारी कर्णाली !’ भनेर फुर्फुरिँदै, उत्ताउलिँदै एकै सासमा तन्तनी पिउन खोज्दा आफ्ना अथाह र नीलिम जलराशिका कञ्चन र मायालु छालहरू छचल्काउँदै उनले बिस्तारै थुम्थुम्याइन्— ‘पख न पख प्रिय, किन यति सारो हतार ? म त अब पर तल्लो डुङ्गेश्वरसम्म तिमीसँगै भइहाल्छु नि। म अझ तिमीलाई तिम्रो मूल पुर्खौली थलो जुम्लासम्मै पो साथ दिन तम्सेकी छु, तिमी आफै तल्लो डुङ्गेश्वरबाट मसित तर्किएर दाहिने लाग्ने इरादाले यता आएका रहेछौ। केही छिन साथ लाग्नेले केको यस्तो लोलोपोतो देखाउनु ? जाऊ निर्मोही !’ तर कठैबरा ! म निर्मोही नै त कहाँ हुँ र, नाउँ मात्रै पो निर्मोही हो त मेरो। हरे ! कस्तो विडम्बना !

“छातीभरि मायाँमोह उर्लिरहे पनि

उपनाम ‘निर्मोही’ पो साथ लाग्यो मलाई”

र यो ‘निर्मोही’ उपनाम पनि फेरि अरूले बलजफती नभएर आफैले अत्यन्त उत्साहपूर्वक राखेको। अनि अरूले ‘निर्मोही’ भने भनेर गुनासो गर्न मिल्यो त ? हरे ! त्यसैले अहिले प्यारी कर्णालीको गुनासो पनि निकै प्यारो लाग्यो मलाई।

अँ, मेरो मन उहिल्यैदेखि चौचौ भइराखेकै थियो कर्णालीप्रदेशका अणुअणु चहार्न पुगिहाल्न। र, अहिले पनि भइरहेकै छ नि काठमाडौँदेखि यति नजिकै आइपुगेको मौकामा यसो चाँजो मिलाएर कम्तीमा पनि जुम्लाको खलङ्गासम्म पुग्ने, सिँजा उपत्यका धित मरुन्जेल चहार्ने, जवा र तिला कर्णालीमा पालैपालो डुबुल्किएर चन्दननाथको दर्शन गरी आफ्नो जुनीलाई धन्यधन्य तुल्याउने। न्यौपानेहरूको मूलभूमि ‘नियाँपानी’ गाउँमा भित्रिएर त्यहाँ आफ्ना आदिपुर्खाको स्नेहिल स्पर्शले रोमाञ्चित हुँदै आशीर्वाद थाप्ने र त्यहाँको पवित्र माटोमा लडिबुडी गर्दै ललाटमा एक चिम्टी धूलोको तिलक लगाएर आफूलाई कृतार्थ तुल्याउने। तर, बस यही ‘तर’ भन्ने एउटा तत्त्व नै सदा झैँ अहिले पनि डरलाग्दोसित तेर्सिएको थियो तगारो भएर। कर्णाली अञ्चललाई हालसम्म कहिल्यै छुन नपाए पनि कर्णालीगङ्गालाई बेलाबेला यताउतीबाट चुम्न पाएकोमा र अहिले अतीतकालीन विशाल कर्णालीप्रदेशकै भूभागमा चहारिहिँड्न पाएकोमा अनि अझ यतिबेला कर्णालीगङ्गाकै स्नेहिल स्पर्शले छोइएरसमेत यात्रा गरिरहन पाएकोमा मात्र पनि धन्यधन्य ठान्दै थिएँ म आफूलाई। साँच्चै हामीलाई धेरै बेर साथ दिइरहिन् कर्णालीले आफ्नो उल्टो यात्रा र अविरल गीतले लोभ्याउँदै। तल्लो डुङ्गेश्वरमा पुगेपछि भने हामीलाई उनीबाट जबर्जस्ती छुट्याइदियो समयनिठुरीले।

हजुर, ‘तल्लो डुङ्गैश्वर’ भनिँदो रहेछ लोहोरेखोला कर्णालीमा मिसिएको थलोलाई। त्यहाँ पुगेपछि कर्णाली राजमार्गलई देब्रेतिर छाडेर दाहिनेतिर फनक्क मोडियो गाडी र लोहोरेदोभानभन्दा केही मिटरमास्तिर खोलाको वारिकिनारमै देब्रेतर्फ लस्करै रहेका दुई–चार खाजापसलहरूमध्ये बिच्चको एउटा पसलअघिल्तर पुगेर घ्याच्च रोकियो पनि। अमरजीले भन्नुभयो—“जाऔँ खाजा खान !”

सबै ओर्लियौँ, कुँजिएका गोडा तन्कायौँ, पसलमा पस्यौँ र स्वेच्छाअनुसार सेल, जिलेबी, तरकारी, दही खाजा खायौँ। त्यहाँ खाजा खाने क्रममा मैले दहीको प्रशंसा गर्दा पसलेभाइले रौसिएर भने— “हाम्रो यो दैलेखको नाउँ नै ‘दै’ को कारणले रहन गएको हो सर ! कुरो त सोझै छ नि— दै पाइने लेक भएकोले पैले ‘दैलेक’ नाउँ रह्यो अनि भन्दै जाँदा पछि ‘दैलेख’ हुनपुग्यो त्यसैले दैलेखको दै नराम्रो हुने त कुरै भएन नि।” कुरा साँचो–झुटो जे जस्तो भए पनि उनको यो संवादले पसलको वातावरणमा रोचकता चाहिँ पक्कै थपियो। यस्तै गफाडी होटेल साहू मलाई २०४४ सालको जेठमा रसुवाको धैबुङ गाउँको होटेलमा पनि फेला परेका थिए गोसार्इँकुण्डको यात्राबाट फर्कँदा। उनले पनि ठीक यसैगरी आफ्नो गाउँको नाउँको व्याख्या गर्दै “धैबुङ भनेको त दैबुङ पो हो त हजुर ! यो ठाउँ ‘दै’ (दही) को लागि प्रख्यात भएकोले पैले यसलाई ‘दैबुङ’ भनियो र पछि भन्दाभन्दै ‘धैबुङ’ हुन पुग्यो” भनेका थिए। त्यो पुरानो प्रसङ्ग पनि अहिले मेरो सम्झनामा झल्मलाएर आयो। हामी फेरि बाटो लाग्यौँ।

अघिसम्म कर्णालीको उल्टो प्रवाहसँगै बग्दै थियौँ हामी र अब चाहिँ उसैगरी लोहोरेखोलाको उल्टो प्रवाहसँगै बग्न थाल्यौँ। आठ–दस किलोमिटरजति गुडेपछि आइपुग्यो उपल्लो डुङ्गेश्वर।

यताको बाटो भने ग्राभेल मात्र गरिएको रहेछ। घुमाउरो कच्ची बाटोमा झन्ट्याङझुन्टुङ गर्दै अब अरूकेही बेर कुदेपछि आइपुग्यो लोहोरेखोलाको ठूलो पुल। त्यसभन्दा अलिकति वर एउटा अर्को खोला आएर मिसिएको रहेछ र त्यसको नाउँ रहेछ छामगाड वा छामघाट खोला। अघि तल्लो डुङ्गेश्वरमा दोभानमा देखिएको यही लोहोरेखोला कर्णालीका सामु सानो बच्चाजस्तो लाग्दै थियो। अहिले यहाँ छामगाडदोभानमा भने यही लोहोरेखोला फेरि छामगाडका तुलनामा कति ठूलो देखिएको नि ! चाहे खोला होस् वा पहाड अथवा कुनै वस्तु या मान्छे नै पनि किन नहोस्,आफूभन्दा सानाका सामु निकै ठूलो देखिने र ठूलाका सामु अपत्यारिलो किसिमको सानो पो देखिने हुँदो रहेछ। ओहो... फुर्तिफार्ती त झन् पटक्कै नसुहाउने !

अँ, अलि देब्रेदेब्रेतिर मोडिएको र अलि उकालो लागेको बाटोमाथि रहेको पुल तरेपछि देब्रेतिर क्रमशः उकालिँदै गयो सडक र केही माथि पुगेपछि देब्रेतिरै एउटा खम्बामाथिको साइनबोर्डमा लेखेको देखियो—‘नारायण नगरपालिका, दैलेख’। अनि त त्यसको केही छिनमै हामी पसिहाल्यौँ नि दैलेखबजारको मूल बस्तीभित्र र दाहिने मोडिएर छिर्‍यौँ पशुविकास शाखा कार्यालयको भव्य परिसरभित्र। परिचयको अनौपचारिक कार्यक्रमपछि कार्यालयको पछिल्तिर रहेको खुला भागमा व्यवस्था गरिएको भव्य भोजमा सामेल भयौँ। यतिखेर दिउँसोको बाह्र बजेको थियो।

दैलेखको जिल्लास्तरीय एउटा कार्यालयमा सम्बन्धित क्षेत्रीय निर्देशनालयका प्रमुख अर्थात् क्षेत्रीय निर्देशकज्यूको आगमन भएको थियो। त्यसैले स्वागत–सत्कारको के बयान के गर्नु ! चौरासी व्यञ्जन त के एकसय चौरासी व्यञ्जनकै भव्य तयारी गरिएको रहेछ। कार्यालयका सम्पूर्ण परिवारजनको हार्दिकतापूर्ण आतिथ्यमा रमाउँदै स्वेच्छानुसार भोजन नाउँको भोज खाइयो। त्यो फराकिलो परिसर कलात्मक ढङ्गले सजाइएको रहेछ विभिन्न थरी फूलका बोटबिरुवाहरूबाट। स्वागत र खातिरदारीको कुराबाहेक मलाई त्यहाँका भौतिक दृश्यहरूमध्ये सबैभन्दा आकर्षक र उल्लेखनीय त्यहाँका कर्मचारी मित्रहरूको पुष्पप्रियता र कलाप्रियता नै लाग्यो।

खानपिनपछि फोटो लिने काम गर्नुभयो मित्रहरूले थरीथरीका दृश्यसित एकाकार हुनेगरी। त्यसपछि मैले अमरजीसित दैलेखबजार डुल्ने, यहाँका शिरस्थान, नाभिस्थान र पादुकास्थान भनिने धार्मिक–साँस्कृतिक स्थानहरूतिर डुल्न जाने  अनि सम्भव भए त्यहाँबाट दुल्लु पनि पुग्ने प्रस्ताव राखेँ। नेपाली भाषाका प्राचीन अभिलेखहरूमध्ये राजा पृथ्वीमल्लको वि.स.‍ १४१५ को ताम्रपत्र दुल्लुमा नै फेला परेको कुरा पढेको हुनाले पनि अहिले आफू त्यही दुल्लुको छेउछाउमा आइपुगेको मौकामा त्यहाँ पुग्न विशेष हौसिएको र रौसिएको थिएँ म। मेरो भावना र संवेदना बुझेका अमरजीबाट सहर्ष स्वीकृत भयो मेरो प्रस्ताव। र, पोखिनुभयो उहाँ— “दुल्लु त यहाँबाट अलि टाढै पर्छ। अहिले दुई बज्न लागिसक्यो। यता सबैतिर डुलेर त्यहाँ पुग्दा नै साँझ पर्छ होला, त्यसैले सम्भव भए भोलि बिहानलाई राखौँ त्यताको यात्राको कार्यक्रम अनि उतैबाट सुर्खेत फर्कौँला। बरु अहिले पहिले यहाँदेखि नजिकैको शिरस्थानतिर जाऔँ। दैलेखबजार यहीँ त हो, बेलुका उताबाट फर्केपछि बजारको फन्को मारौँला है निर्मोही जी !”

त्यसपछि मूलबाटोमा आई हामी झर्न थाल्यौँ शिरस्थान जाने कच्ची बाटोलाई पछ्याएर। र, उडाइको वेगले गुड्यौँ हामी अभीप्सित दिव्य स्थानको प्रबल आकर्षणको मोहनी–मातले लट्ठिएर। तर, एकैछिनको यात्रापछि हाम्रो गुडाइको वेग उडाइको स्तरबाट ह्वात्तै झरेर हिँडाइको स्तरमा पो खुम्चिन पुग्यो त। किन त भने, हिजो परेको माघे झरीले त्यो ठाडै ओरालो र साँघुरो कच्ची बाटो एकदमै चिप्लो भएको रहेछ। बडो गाह्रोसित बल्लबल्ल ओर्लियौँ तल। तर, तल सम्ममा पुगेपछि पनि हाम्रो सास्ती कम भएन। यहाँ त झन् यहाँदेखि त्यहाँसम्मै गज्गजे हिलोको साम्राज्य नै जमेको रहेछ हामीसित कुन्नि कुन जुनीको साटो फेर्न हो बाबुको बिहे नै देखाउने पाराले।  

निकैनिकै बेरपछि बल्लबल्ल पुग्यौँ तल छामगाड वा छामघाट खोलाको डिलमाथि उत्तरदेखि दक्षिणसम्मै लमतन्न परेको बाँझो फाँटमा। तर फाँट भनेर के गर्नु ? बीचैबीच काँसेघारी र ढड्डीहरू पनि छन् यहाँदेखि उहीँसम्मै अनि गज्गजे हिलोको साम्राज्य उस्तै छ। राम ! राम !! राम !!! लाग्थ्यो यो माघ महिना नभएर असार, साउन वा भदौ पो हो। र, आज अहिले धान रोप्न ठिक्क पारिएको छ खेतलाई मज्जासित हिल्याएर। त्यहाँदेखि उता गाडी जान पनि सक्तैन र अब जानुपर्ने आवश्यकता पनि छैन। किनभने, हाम्रो गन्तव्य आइसकेको छ। त्यसैले गाडीलाई त्यही फाँटमा एकातिर साइड लगाएर हामी ओर्लन्छौँ सामुन्ने तलतिर जहाँ टाक्राकटुक्रुक मन्दिर ढाँचाका दुई–तीनवटा काठे घरहरू उभिएका छन् खोलाको वारिडिलैमाथि।

सामुन्ने केही हात तल कञ्चन खोला कल्कलाउँदै बगिराखेको थियो चाँदीजस्ता सेता फिँज काढेर र कतै साँघुरिएर त कतै सिङ्गै बगरै ढाकेर। पारिपट्टि लमतन्न परेको थियो एउटा डाँडो। वारिपारि दुवैतर्फ पोथ्रापोथ्री, बुट्यान र रुखहरू थिए विभिन्न वनस्पतिका। खोलावारि एक–दुई घर पनि थिए पाटीको ढाँचाका। जसको आँगनमा एक–दुई जना महिला–पुरुष देखिए। समग्रमा मोहनीलाग्दो सौन्दर्य छरेर मुस्काइराखेको थियो त्यो प्राकृतिक परिवेश।

यही रहेछ यताको प्रसिद्ध धार्मिक आस्थाकेन्द्र ‘शिरस्थान’। यहाँ धर्तीमाताले जताततै अग्निज्वाला बालेकी छिन् रे।  आगोका ज्वालाहरू बेलाबेला स्वयं दन्किने, र स्वयं निभ्ने गर्छन् रे ! अनादि कालदेखि अनेकौँ अखण्ड दीप प्रज्वलित छन् रे। मैले पनि किशोरवयदेखि सुन्दै र पढ्दै आएको आदरणीय अग्रज नियात्राकार देवीचन्द्रश्रेष्ठलगायत अनेक यात्रासाहित्यकारका रचनाहरूमा।

ग्यासको अपार खानी हुन सक्ने त्यस्तो अनुसन्धानयोग्य भौगर्भिक रहस्यबारे ती यात्रासंस्मरणहरूमा पढेर यस अनौठो ठाउँको प्रत्यक्ष दर्शनको धोको सँगाल्दै आएको थिएँ मैले लामो समयदेखि आफ्ना आँखाभरि–मनभरि र मुटुभरि। र, यात्राको शुभ साइत कुर्दै आएको थिएँ म व्यग्र भएर। आज अहिले त्यो शुभ साइत मेरो पोल्टोमा अनायासै र अप्रत्याशित रूपले आइपरेको थियो स्रष्टा मित्र डा. अमर शाहजीको सौजन्यबाट।

अँ त, त्यसपछि क्रमशः पुष्पा, अमर, वीणा र व्यासको प्रवेश हुन्छ मन्दिर आकारको एककोठे साँघुरो घरभित्र। त्यहाँ सामुन्ने मझेरीमा अँगेनुजस्तो अलि गहिरो भागमा देखिन्छ दन्दनी दन्किराखेको नीलो–पहेँलो ज्वालापुञ्ज। पृथ्वीको गर्भभित्रको अद्भुत रहस्य। प्रकृतिको अनुपम र अपूर्व लीला। अज्ञात कालदेखि हालसम्म पनि यता जताततै अहोरात्र आफै अग्निज्वाला हुर्हुराउने, आफै निभ्ने र फेरि हुर्हुराउने प्रकृतिको यस्तो भौगर्भिक रहस्यमय लीलालाई स्थानीय जनले देवत्व प्रदान गरेर तीमध्येको यो विशिष्ट ज्वालालाई ‘ज्वालामाई’ नामकरण गरी यस्तो मन्दिर बनाइदिएका रहेछन् केही वर्षअघि।

प्रचण्ड ज्वालाको अजस्र रापले मन्दिरको छानो र भित्तालाई असर पुर्‍याउँछ भनेर होला माथिपट्टि चम्का लगाएर एउटा च्याप्टो ढुङ्गा राखिएको रहेछ। त्यस ढुङ्गाका साथै मन्दिरका सिलिङ र भित्ताहरूमा पनि ध्वाँसैध्वाँसो जमेको रहेछ केही पत्र नै। हामीले केही छिन भित्रै बसेर ज्वालाको त्यस दिव्य रूपको दर्शन गरिरह्यौँ। अनि त्यहाँका कुरुवाबाट प्राप्त निर्देशनअनुसार ज्वालामाथि बसालिएको चेप्टो ढुङ्गाबाट पालैपालो अलिअलि ध्वाँसो झिकेर आ–आफ्ना निधारमा श्रद्धापूर्वक लगायौँ अरू मन्दिरहरूमा देवताको अर्चनापछि टीका–फूल–प्रसाद लगाएजस्तै गरी। ‘ज्वालामाई’ का दर्शनार्थीहरूले टीका र फूल–प्रसादको रूपमा निधारमा त्यही ध्वाँसो लगाउने श्रद्धापूर्ण परम्परा नै रहेछ यहाँ। त्यसैले, हामी पनि त्यस्तै गरेर त्यस भौगर्भिक रहस्यमय लीला र लोकपरम्परा दुबैप्रति हार्दिक सम्मान अर्पण गरी बाहिर निस्क्यौँ। त्यसपछि बगरमा ओर्लेर घुँडाघुँडासम्म आउने चिसो पानी भएको खोलालाई “आच्छु” भन्दै र छाप्लाङ्छुप्लुङ् गर्दै तरी पारि पुग्यौँ।

पारिको दृश्य त झन् अद्भुत नै रहेछ। किनभने, त्यहाँ त वारिको जस्तो सुख्खा ठाउँमा मात्र नभएर डाँडाको पाखा–भित्ताबाट छङ्छङाएर बग्दै आएको कञ्चन पानीमा नै पनि ज्वाला दन्किराखेको रहेछ कैयौँ ठाउँमा।

पानीमा आगो ? वाह ! क्या अचम्म ? आगो पानीलाई अङ्कमाल गरेर आफ्नै गतिमा हुर्हुराइराखेको छ र पानी आगोलाई अङ्कमाल गरेर आफ्नै गतिमा कल्कलाइराखेको छ,। सृष्टिको आरम्भदेखि नै एक–अर्काका घनघोर शत्रु मानिँदै आएका, विजातीय आगो र पानीका बीच यहाँ जुगानुजुगदेखि स्थापित भएको यस्तो अनुपम, अतुलनीय र आदर्शमय प्रगाढ मैत्री र यो प्रगाढ अङ्कमाल देख्ता अनायास श्रद्धाले झुक्यो मेरो शिर यिनको संयुक्त सम्मानमा। र, धिक्कार्न मन लाग्यो मलाई मान्छेको मान्छेप्रतिको, आफ्ना सजातीयप्रतिको घनघोर कटुताभाव वा शत्रुताभावको निम्ति ! आफूभित्रको अनुभूतिशीलता र संवेदनाका कारणले केहीबेरसम्म टोलाएको टोलाएकै भएँ म त्यस दिव्य दृश्यको दर्शनको मोहनी मातले लट्ठिएर, मक्ख भएर, गद्गद भएर। झन्डैझन्डै समाधिकै अवस्थामा पुगेँ म। र, ठीक मेरो जस्तै अवस्थामा पुग्नुभएको थियो मेरा प्रिय सुकुमार स्रष्टा मित्र र आजको यस गौरवमय यात्राका अग्रणी, अभियन्ता अमर शाहजी पनि। उता पुष्पाजी र वीणाजीको अनुहारमा पनि चरम खुसी चुलिएको थियो।

हाम्रा आँखा र मन अलग्गिन चाहिरहेका थिएनन् त्यस अपूर्व दृश्यको दर्शनबाट। तर, एक त माघको मापाको जाडो, त्यसमाथि पहाडी परिवेश अनि अझ त्यसमाथि फेरि गोडा कठ्याङ्ग्रिने चीसो पानी बगिरहेको खोलाको बीच, अनि मध्य शिशिर ऋतुका सूर्यको क्रमशः ढल्कँदै गरेको गति। त्यसैले अब हामी मन मारेर बिदा भयौँ त्यहाँबाट र आइपुग्यौँ माथि डिलमा। अनि त्यतै नजिकै कुनै दशनामी स्वामीले सञ्चालन गरेको देवमन्दिरमा गएर दर्शन गरी गाडी उभ्याइएको ठाउँमा पुग्यौँ।

गाडी गुडाए चालकदाइले, तर हिलेपानीले चिप्लो तुल्याएको त्यो अघि आएको ठाडो उकालोको साँघुरो बाटोबाट अब फर्केर माथि जान कसैगरी पनि सम्भव नै थिएन। त्यसैले, गाडी तलतलै सोझियो छामगाडखोलाको तीरैतीर लोहोरेखोलाको पुललाई लक्ष्य गरेर। छामगाडको खोला र लोहोरेखोलाको सङ्गम पनि थियो त्यहीँ अलि पर। केही पाइला गुडेपछि गाडी नराम्ररी फँस्यो गज्गजे हिलोको भासमा र ज्यानगए पनि निस्कनै मानेन। अनेक हन्डर–सास्ती खेपेर बल्लबल्ल गाडीलाई त्यस ज्यानमारा भासबाट बाहिर निकाले चालकले हामी सबै जनाको होस्टे–हैँसेमा। तर, बाटो भने बेपत्ता। त्यसैले, अब गाडी ढुन्मुनिँदै र ढल्पलिँदै फेरो मारेर लाग्यो दैलेख भित्रिने मूलबाटोमा रहेको लोहोरेखोलाको पुललाई ताकेर दोभानतिर। र, म चाहिँ आफ्नो लहडी स्वभावअनुसार हिँडे एक्लै खोलैखोला चीसो पानीमा छाप्ल्याङ्छुप्लुङ् गर्दै पारिपट्टिको उही पुललाई ताकेर।

आधाघन्टा जतिमा हामी फेरि सुर्खेततिरबाट दैलेख भित्रिने उही बिहान हिँडेकै राजमार्गको छातीमा लुट्पुटिन पुग्यौँ। अनि फेरि म पनि सबार भएँ गाडीमा र हुइँकियौ सबै जना दैलेखबजारतिर सरर।

बजारछेउको बस्तीमा प्रवेश गरेपछि सोधखोज गर्दै पुग्यौँ अमरजीका एकजना आत्मीय मित्रको घरमा। उनी आमाको किरियापुत्री बनेर कोरामा बसेका रहेछन् चार–पाँच दिनदेखि। अमरजीहरू अहिले दैलेख आउनुको मूल कारण मातृशोकमा परेका ती मित्रलाई भेट्नु नै रहेछ। दिवङ्गत आत्माप्रति श्रद्धाञ्जलि अर्पण र शोकसन्तप्त परिवार जनप्रति संवेदना प्रकट गरेपछि हामी आयौँ बजारमा। त्यसपछि अमरदम्पती पशुविकास सेवाको कार्यालयमा फर्कनुभयो र व्यासदम्पती चाहिँ घुम्न थाल्यौँ दैलेखबजारभरि।

त्यसै क्रममा जिल्ला अदालतछेउ टुप्लुक्क भेटिनुभयो स्नेही भाइ सुरेन्द्र अधिकारी। दैलेख मूलथलो भएका मेरा परम प्रिय साहित्यिक मित्र श्यामलजीका सहोदर भाइ सुरेन्द्रजी मलाई पनि आफ्नो सहोदर दाजुकै स्थानमा राखेर मान र माया गर्नुहुन्छ काठमाडौँमा श्यामलजीको डेरामा परिचय भएको बेला २०४३ सालदेखि नै। अहिले अचानक दैलेखबजारमा भेटिन पाउँदा हामी दुवै दाजुभाइ पर्नुसम्म मक्ख पर्‍यौँ। त्यसपछि उहाँले आग्रहपूर्वक स्थानीय रेडियो स्टुडियोमा लगेर मेरो अन्तर्वार्ता लिनुभयो। वीणाले चाहि एउटा कविता वाचन गरिन्। अनि, आजको हाम्रो रात्रिवास पशुसेवाको कार्यालयमा हुने र भोलि बिहानै हामी सुर्खेत फर्कने थाहा पाएर आफ्नो घर लैजान नपाएकोमा खल्लो मान्दै चियाले स्वागत–सत्कार गरेर हामीलाई बिदा गर्नुभयो सुरेन्द्रभाइले।

राति स्वादिलो दाना र आरामको निद्रा ग्रहण गरेर भोलिपल्ट बिहान सबेरै उठ्यौँ दुल्लु हुँदै सुर्खेत जाने हिजोको योजनाअनुसार बाटो लाग्न रौसिएर। तर, दुल्लु दर्शनको मेरो उखरमाउलो धोकोलाई रातभरिको हिउँदे झरीले फेरि पनि लोप्पा खुवाइदियो।

त्यसपछि ६ बजे सोझै सुर्खेतको लागि रमाना भयौँ दैलेखलाई बिदाइको हात हल्लाएर। हिजो ‘हिउँ परेर बन्द भएको’ दैलेख—सुर्खेतको छोटो बाटो आज ‘हिउँ पग्लेर खुलिसकेको’ भन्ने जानकारी पाइएको हुनाले हाम्रो गाडी उपल्लो डुङ्गेश्वरबाट देब्रेतिर उकालो लाग्यो तल्लो डुङ्गेश्वर हुँदै हिजो आएको कर्णाली राजमार्गलाई टाढैबाट बाईबाई गरेर। क्रमशः तालपोखरी, घोडबास र गाईबान्न हुँदै गुराँसे देउराली भन्ज्याङ अनि गुराँसेबाट चाहिँ ओरालो लागेर क्रमशः रानीमत्ता, रातानाङ्ला, सीतापाइला, कपासे (सैनिक शिविर भएको ठाउँ), गोठीकाँडा र इतराम हुँदै सुर्खेतको मूलबस्ती र बजार पुग्नु थियो हामीलाई।

समयको बचतसँगै नयाँ भूगोलको दर्शन। एक पन्थ, दुई काज। त्यसैले यो नयाँ बाटोबाट आउन पाएर फुरुङ्ङ थियो हामी सबैको मन। तालतालका कुरा झिकेर हाँसख्याल गर्दै तालपोखरी नाघियो। घोडबास र गाईबान्न पनि छोडियो र आइपुगियो गुराँसे। ठाउँको नाउँ नै “गुराँसे देउरालीभन्ज्याङ” भएपछि र महिना माघ भएपछि त्यताको सम्पूर्ण डाँडापाखाभरि मौसमअनुसार भरेली भएर, ढकमक्क भएर फुलेका लालीगुराँसका थुङ्गाहरूको लालिम सौन्दर्यमा हाम्रा आँखा र मन नअल्झिने, नटाँसिने कुरै कहाँबाट आउँथ्यो र ? अनि त्यसमाथि फेरि हिजो–अस्तिको हिमवर्षापछि आज दिन छ्याङ्ङ खुलेर घामको स्वर्णरश्मिको जादुमय स्पर्शले सुनैसुनका महाकलश र ताल–तलाउमा साटिन पुगेका चाँदीका तरेलीमय रुख–बुट्यान, नागी र कान्ला–गराहरूको दिव्य सौन्दर्यसागरमा नडुबुल्किने कुरा पनि कसरी सम्भव हुन्थ्यो र ?

भन्ज्याङमा पुग्नैपुग्नै लागेपछि मेरो मन थामिनै सकेन र मैले अमरजीलाई आफ्नो उद्दाम लालसा पोखेँ — “मित्रवर ! मैले यो साठी टेकेको उमेरमा आइसक्ता पनि अझै टाढैबाट हिउँ देख्नुबाहेक कहिल्यै हिउँमा टेक्नै पाएको छैन, मेरो जुली व्यर्थै बित्नेभयो। भोलि यमराजले तँ त सगरमाथाको देशबाट आएको मान्छे, हिउँमा कत्तिको कुल्चेको छस् त ? भनेर सोधेको खण्डमा म उनलाई के जबाफ दिउँला ? त्यसैले कृपया यता कतै गाडी रोक्न लगाएर मेरो जुनीलाई सार्थक तुल्याइदिएर पुण्य कमाउनुहोस् है !” मेरो संवाद सुनेर निकै भावुक हुँदै उहाँले तत्कालै एक ठाउँमा गाडी रोक्न लगाउनुभयो र हामी सबै जना सँगै ओल्र्यौँ। त्यसपछि उहाँहरू आफुखुसी हिउँलाई स्पर्श गर्न लाग्नुभयो भने म चाहिँ हान्निँदै सामुन्ने आठ–दस फिट माथिको एउटा कान्लामा उक्लेँ र आह्लाद, उल्लास, उमङ्ग र उमान्दको चरमचुलीमा पुगेर सहयात्रीहरूलाई लोभ्याउँदै त्यस कान्लामाथिबाट न्वारानदेखिको बल झिकेर हिउँ जमेर वज्र भएको तीन–चार कान्लामुनिको गरामा बेतोडले हाम फालेँ छालाको जुत्ता लगाएको लगायै। अनि ? अनि त चिप्लित्त चिप्लिएँ र टेक्न पुगेँ दाहिने हत्केलाको भरले उही वज्रतुल्य बनेको हिउँकै साम्राज्यभूमिमा। र, त्यसपछि पनि सम्हालिन नसकी पुल्टुङबाजी खाँदै पुगेँ अझै दुई–तीन कान्लामुन्तिर। अनि त झन्डैझन्डै अर्धमूर्च्र्छित अवस्थामै पुगिहालेँनि म। भननन रिङटा लागेर आयो। ओठ–तालु सुक्यो र अनुहार पनि निलाम्मे हुनपुग्यो। 

एकदमै अप्रत्याशित रूपले निमेषभरमै हुनपुगेको थियो यो दुर्घटना। गाडीचालकसहित सबै सहयात्रीहरू अत्तालिँदै आइपुग्नुभयो मेरो छेउमा। चारै जना मिलेर उठाउनुभयो मलाई तीमध्ये पहिलो स्नेहिल स्पर्श अमरजीको थियो भन्ने राम्रैगरी सम्झन्छु म। मेरा गोडा टेकिनै मानेनन्। हात त घाइते भयोभयो, गोडाले समेत साथ दिन सकेनन् केही बेरसम्म। अनि,बल्ल गोडाले काम गर्न थाले र सबै सहयात्रीको हात र कुमको सहारा लिँदै कसैगरी गाडीसम्म आउन र भित्र पस्न, बस्न सकेँ।

अनि देउरालीभन्ज्याङको एउटा होटेलमा पसेर तात्तातो मिठाई र चिया खायौँ सबैले। खान त मैले पनि खाएँ नै तर दुखाइको तोड र देब्रेहातको खवाइले गर्दा खानेकुराको स्वाद भने पटक्कै पाइन।

त्यसपछि झर्‍यौँ ओरालो र क्रमशः रानीमत्ता, रातानाङ्ला, सीतापाइला, गोठीकाँडा, कपासे, हुँदै इतराममा अमरजीको आवासमा आइपुगेर यात्राको इतिश्री गर्‍यौँ।

यसरी साठी लागेको उमेरमा पनि बाख्रीको पुच्छर खाएजस्तो नानीदेखि लागेको आफ्नो चुल्बुले बानीलाई अँगालिराख्नाले झन्डै सिलटिम्मुर खानुपरेको थियो मैले दैलेख र सुर्खेत जिल्लाको दोसाँधको त्यस गुराँसे देउरालीभन्ज्याङमा ! बाफ रे !

त्यसरी हाम फाल्दा मैले के ठानेको थिएँ भने हिउँ त पर्दापर्दैको मात्र नभएर जमेको पनि कपास जस्तै नरम र कुत्कुती लाग्ने हुन्छ होला। तर, भोगेपछि बल्ल थाहा भयो—  जमेको हिउँ त वज्रजस्तो कडा र काईजस्तो चिप्लो पो हुँदोरहेछ। त्यो रहस्य मलाई पहिले थाहा भएको भए किन पो हाम फाल्थेँ जानाजानी ‘नदुखेको टाउको डोरी लगाएर दुखाउने’ भनेझैँ गरी ? “उत्ताउली गाईलाई बाघले खाई” चकचकेको ...कैमा डाम” र “दुःख पाइस् मङ्गले आफ्नै ढङ्गले” नेपाली भाषाका यी तीनवटा उखानको मर्मबोध जीवनमा नितान्त पहिलोपल्ट त्यति बेला एकसाथ नै भयो मलाई !

हात त अब कति दिन नचल्ने हो, भविष्यलाई नै थाहा होला ! त्यो पनि अझ दाहिने हात !



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell