PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

यसकारण बढ्यो सिमेन्टको भाउ



पहिलोपोस्ट

यसकारण बढ्यो सिमेन्टको भाउ
फाइल फोटो

लुम्बिनी : सिमेन्ट उत्पादनका लागि आवश्यक किलिङ्कर तथा अन्य कच्चा पदार्थको अभावका कारण रुपन्देहीमा सञ्चालित विभिन्न सिमेन्ट उद्योग समस्यामा परेका छन्। 

भैरहवा लुम्बिनी करिडोरमा सञ्चालित सिमेन्ट उद्योगले पर्याप्त मात्रामा कच्चा पदार्थ नपाउँदा करिब ६० प्रतिशत उत्पादन घटाउनु परेको छ। मुलुकमा राष्ट्रिय गौरवका आयोजनासँगै पुनःनिर्माणले गति लिइरहेका बेला उद्योगमा देखिएको समस्याका कारण आयोजनाको निर्माण कार्य प्रभावित भएको छ।  

भारतरबाट आयात गरिने किलिङ्कर तथा अन्य कच्चा पदार्थमा कडाइ गरिएपछि नेपाली सिमेन्ट उद्योग सङ्कटमा परेका हुन्। किलिङ्कर, फलाइएस, जिपसनलगायत कच्चा पदार्थका लागि यहाँका अधिकांश उद्योग भारतमाथी निर्भर बन्नु परेको छ। भारतको मात्रै भर परेका कारण नेपाली सिमेन्ट उद्योगले बेलाबेलामा विभिन्न सङ्कट बेहोर्ने गरेका छन्। 

अन्डर लोडिङका कारण भारतबाट विगतको तुलनामा झन्डै ६० प्रतिशत कम कच्चा पदार्थ आयात हुने गरेका कारण यहाँका उद्योगी मारमा परेका सिद्धार्थ सिमेन्ट उद्योगका सञ्चालक रोहित अग्रवाल बताउँछन्। कच्चा पदार्थको अभाव, ढुवानीको समस्या तथा ढुवानी दर बढेको भन्दै उद्योगले पहिलाको तुलनामा आठदेखि १० प्रतिशतसम्म सिमेन्टको मूल्यमा वृद्धि गरेका छन्। 
 
“भारतमा अन्डर लोडिङको समस्याका कारण नेपाली उद्योग बन्द हुने अवस्थामा पुगेका छन्,” अग्रवालले भने। भारतको सरदारनगरबाट चार हजार टन कच्चा पदार्थ नेपाल ल्याउनका लागि ८०÷९० वटा ट्रक भए पुग्नेमा अहिले झन्डै १५० देखि २५० वटा ट्रक आवश्यक पर्ने भएको छ। 

“अन्डर लोडिङसँगै ट्रकको अभाव देखिएको छ,” उनले भने – “यस्तो अवस्थामा कसरी उद्योग चलाउन सकिन्छ।” कच्चा पदार्थको अभावका कारण रुपन्देहीका केही उद्योगले उत्पादन बन्द गरेका छन्। नेपालमा थर्मलप्लान्ट उद्योग नभएका कारण फ्लाइएसका लागि भारतसँग निर्भर रहनुपरेको छ। सरदारनगरमा मात्रै रहेको र्‍याक प्वाइन्टलाई सरकारको पहलबाट भारतका अन्य स्थानमा पनि सार्नुपर्ने उद्योगीको माग छ। कच्चा पदार्थको अभावमा सिमेन्ट उद्योगका गोदाम खाली भएका छन्।  

पश्चिमाञ्चल सिमेन्ट उत्पादक सङ्घका महासचिव तथा जगदम्बा सिमेन्ट उद्योगका महाप्रबन्धक विदुर ढुङ्गाना ट्रकको अभावसँगै ढुवानी लागत समेत बढेको बताउँछन्। 

यस्तै भारतले बिएस थ्रीका गाडीको नयाँ दर्तामा बन्देज लगाएपछि ट्रकको अभाव भएको बृज सिमेन्ट उद्योगका महाप्रबन्धक रविरञ्जन कुमारले बताए। उनले बजारमा बिएस फोरका गाडी आइनसकेका र बिएस थ्रिका गाडी दर्तामा रोक लगाएपछि गाडीको अभाव देखिएको बताए। बजारमा सिमेन्ट अभाव हुँदा सर्वसाधारणले निर्माण गर्दै गरेका घर बीचमै रोक्नुपर्ने अवस्था आएको छ। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell