PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

विद्युत् चोरी गर्ने १३ जना पक्राउ



रासस

झापाः विद्युत् चोरी गरेर खेतमा पानी लगाउने तथा घरमा विद्युतीय उपकरण जडान गरी घरायसी सामग्री प्रयोग गरिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन् । 

विद्युत् चुहावट नियन्त्रण टोलीले बिर्तामोड नगरपालिका–२ चारपाने र चैतुवारी भन्नेस्थानबाट आज बिहान एक महिलासहित १३ जनालाई विद्युतीय उपकरणसहित पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा शिवकुमार लिम्बू, खड्गप्रसाद लिम्बू, वासु गौतम, गुरुदेव लिम्बू, जयप्रसाद इजम, शम्भू राजवंशी, जमुना राजवंशीलगायत रहेका छन् । उनीहरुलाई पानी तान्न प्रयोग गरिएका मोटर, घरमा जडान गरिएका पङ्खालगायत विद्युतीय उपकरणसहित पक्राउ गरिएको नेपाल विद्युत प्राधिकरण, अनारमनी वितरण केन्द्रका प्रमुख इन्जिनियर राजीवकुमार सिंहले जानकारी दिए। 

उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीको टोली र प्राधिकरणको विद्युत् चुहावट नियन्त्रण टोलीले विद्युत् चोर्दाचोर्दै नियन्त्रणमा लिइएको बताइएको छ । 

पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको केन्द्र प्रमुखसमेत रहनुभएका सिंहले जानकारी दिए । उनीहरुलाई विद्युत् चुहावट नियन्त्रण ऐन, २०४९ अनुसार कारबाही गरिने बताइएको छ । 

प्राधिकरणले चालु आवकोे साउनदेखि हालसम्म विद्युत् चोरीमा संलग्न तीनसय ६२ जनालाई विद्युतीय उपकरणसहित पक्राउ गरेको छ जसबाट रु ३० लाख राजस्व सङ्कलन भएको केन्द्र प्रमुख सिंहले बताउनुभयो । रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell