PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

त्रासदको वार्षिकोत्सव



त्रासदको वार्षिकोत्सव

  • तीर्थराज भट्ट –

मान्छेहरुका मुस्कानहरु थिए,
र तिमीले चुडेर लग्यौ!
मान्छेहरुका प्राणहरु थिए,
र तिमीले खोसेर लग्यौ !!
वसन्त ऋतु थियो,
र तिमीले उजाड बनायौ !!!

बनायौ बस्तीहरु मसानघाट
बनायौ घरहरु भग्नावशेष
तिम्रो नग्न नृत्य र क्रुर संगीतमा,
बाध्य भए नचिरहन
पशुहरु, पंक्षीहरु र सरिसृपहरु पनि.. !

तिम्रो उन्मादका वार्षिकोत्सवहरुमा ,
बैशाख १२, २०७२ का मृत्युच्छायाहरु,
आइरहनेछन्
जोडिएला बरु फाटेको धर्ति,
खै कसरी जोडिएलान फाटेका मनहरु?
निको होलान शरीरका घाउहरु,
खै कसरी मेटिएलान खाटोहरु ?

फेरिएलान सरकारहरु काठमाडौँमा,
खै कसरी फ़ेरिएलान जीवनहरु–
बार्पाकमा, लाप्राकमा अनि सिन्धुपाल्चोकमा ?
बचेरो गुमाएको वृद्ध परेवाको–
खै कसले लगाइदेला गूड ?
तिमीले लगिदिएपछि छोरा, बुहारी र नाति,
काल पर्खिरहेको तामाङ दम्पतिको ,
खै कसले लगाइदेला घरको छानो?
ठडिएला सिमेन्टको धरहरा,
खै कसले संगाल्नेछ इतिहास ?

नैतिकता स्खलित भएको समयमा
‘पुनर्निमाण’ भ्रस्टहरुको माग्ने दुनो बनेपछि
खै कसरी होला – मुस्कानहरुको पुनर्निमाण ?
खै कसरी होला – जीवनहरुको जीर्णोद्धार
खै कसरी होला – मनहरुको मल्हमपट्टि ???

तर अवस्यनै,
राजनीति र तिम्रो उन्मादका बाबजुद,
फ़र्कनेछन रंगहरु- गुरासमा
छाउनेछन वसन्तहरु – जीवनमा
फ़ैलनेछन मुस्कानहरु – अनुहारमा !

प्रत्येक वार्षिकोत्सवमा,
हुनेछ तिम्रो रंग श्यामश्वेत
र हुनेछैन कुनै महिमागान, तर,
जीवनहरुमा अवस्य हुनेछ–
पुनर्निर्माण
त्यही बिलिन हुनेछ तिम्रो आतंक
र अविरल गुञ्जनेछ–
ओम शान्ति ! ओम शान्ति !! ओम शान्ति !!!



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell