PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

संविधान संशोधनमा एमाले लचिलो, ओली भन्छन्- ‘एजेन्सीले लामो हात पसार्‍यो‘



संविधान संशोधनमा एमाले लचिलो, ओली भन्छन्- ‘एजेन्सीले लामो हात पसार्‍यो‘

काठमाडौँ : संसदमा पेश भएको संविधान संशोधनको विधेयकमा एमाले लचिलो भएर प्रस्तुत भएको छ। संसदमा कानुन मन्त्री अजयशंकर नायकले संविधान संशोधन विधेयक पेश गर्दैगर्दा एमालेले मौन रहेर संसद बैठकमा उपस्थिति जनाएको हो।

यसअघि मंसिर १४ गते दर्ता भएको संशोधन विधेयक 'छलफलका लागि समेत योग्य नरहेको' तर्क गर्दै एमालेले संसद अवरोध गरेको थियो भने गठबन्धन बनाएर सडक आन्दोलन गरेको थियो। उक्त विधेयक संसदमा टेबल हुँदै गर्दा एमालेले होहल्ला गरेको थियो। मधेसी मोर्चाको अस्वीकृति र एमालेको विरोधका बीच २०७३ चैत २९ गते संसदबाट सरकारले विधेयक फिर्ता लिएको थियो।

तर संसदमा २०७३ चैत २९ गते संसदमा दर्ता भएको विधेयक आज संसदमा पेश हुँदै गर्दा प्रतिपक्षी दल मध्ये नेमकिपाले मात्र विरोधमा नाराबाजी गर्‍यो। एमालेले भने संशोधनलाई थप संशोधन गरेर सर्वस्वीकार्य बनाउने विषय उठाउँदै लचिलो रुपमा आफूलाई प्रस्तुत गरेको छ।

संसद बैठकमा विधेयक पेश हुनु अघि एमाले अध्यक्ष केपी शर्मा ओलीले संशोधन माथि छलफलका लागि तयार रहेको बताए।

उनले भने –

मेरो प्रधानमन्त्रीसँग अघि भर्खर कुरा पनि भएको थियो। यस (संशोधन) सम्बन्धमा  हामी छलफल गर्न तयार छौँ। उचित कुराहरु मात्र राखेर । यो यस्तै पास गर्न खोज्नुहुन्छ भने यसलाइ हामीले बहुत गम्भीरताका साथ लिनुपर्छ। देशलाई नोक्सान पार्ने, संविधान विपरित र अहिले सरोकार नभएका ठाउँमा संविधानको मर्मलाइ मार्ने गरी संघीय व्यवस्था कमजोर पार्ने गरी यो संशोधन आएको छ। यो समर्थन योग्य छैन।

यसभित्र धेरै नराम्रा पक्षहरु छन्। यिनीहरुमा हामी छलफल गर्न सक्छौँ। छलफल गरेर यसलाई संशोधनको माध्यमबाट सर्वस्वीकार्य बनाउँ। यसबाट राष्ट्रहित विपरितका कुरा र प्रावधानहरु, असंवैधानिक प्रावधानहरु ...... हामी आग्रह गर्न चाहान्छौँ जुन विषयहरु आएका छन्। यी कुराहरु गम्भीर छलफल गरेर र यसलाइ स्वीकार्य बनाएर जानुपर्छ।'

हेर्नुस् ओलीको भनाई-


संसद बैठकमा संशोधनबारे टिप्पणी गर्न झण्डै ४५ मिनेट समय खर्चिएका ओलीले एमालेलाई एक्ल्याउने प्रयास भैरहेको बताए। मधेसी मोर्चा र सत्तारुढ दलहरुबीच संविधान संशोधनका विषयमा सहमति हुँदा एमालेलाई 'अण्डरमाइन' गरिएको आरोप उनले लगाए।

ओलीले सत्तापक्षसँग दुई तिहाई पुगेकै कारण संविधानको मर्म र संघियताको व्यवस्था विपरित संविधान संशोधन हुन लागेको बताए।

'दुइ तिहाई पुगिहाल्छ गरिहाल्छौँ भन्ने देखिन्छ। इतिहासले मुल्याङ्कन गर्ने बेला तपाँइसँग दुई तिहाई धेरै प्रतिशत हुँदैन है। तपाईँले त्यो विचार गर्नुहोला। त्यहाँ तपाईँले एक्लै जवाफ दिनुपर्छ। इतिहासको त्यतिबेला आफ्नो बयान दिने अवस्था नहुनसक्छ। सँधै बयान दिन पनि रहिँदैन। त्यतिबेलाको पनि विचार गर्नुपर्छ,' उनले भने।

ओलीले प्रदेशको सीमाङ्कनका विषयमा संशोधन गर्दा प्रदेशको सहमति नचाहिने व्यवस्था गर्न लागिएको प्रति विरोध जनाए। त्यस्तै भाषा सम्बन्धि प्रावधानमा देवनागरि लिपीको नेपाली भाषा सरकारी कामकाजको भाषा हुने प्रावधान लगत्तै भाषा आयोगको सिफारिसमा सरकारी कामकाजको भाषा अनुसुचीमा राख्ने प्रावधानको विरोध गरे।


उनले दलहरुले पार्टी भित्र समेत विषयहरुमा छलफल गर्नुपर्ने आवश्कयता औँल्याए।

'यति गम्भीर राष्ट्रिय हितका गम्भीर प्रश्नहरुमा दलहरुभित्र पनि आफूले छलफल गर्न पर्ने लागेको छ', उनले सांसदहरुलाई सम्बोधन गर्दै भने।

ओलीले दुई तिहाईको विषय लगत्तै आफ्नो पार्टी भित्र विभिन्न एजेन्सीहरुले लामो हात पसारेको बताए। तर उनले कुन एजेन्सी भन्ने खुलाएनन्।

'प्रयासहरु विभिन्न ढंगले भएका छन्।  विभिन्न एजेन्सी कुदेका छन्। हाम्रो पार्टी भित्र लामालामा हात पसारेका देखेका छौँ। हामी त्यसरी हात पसार्न चाहाँदैनौँ। हामी जनप्रतिनिधि भएकाले हामी राष्ट्रिय हितमा सोचौँ भन्ने आग्रह गर्न चाहान्छु हात मात्र पसार्ने होइन', ओलीले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell