PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

एमालेको निष्कर्ष : एक महिनाको अन्तर, चुनाव नगर्ने खेल



मनोज सत्याल

एमालेको निष्कर्ष : एक महिनाको अन्तर, चुनाव नगर्ने खेल

काठमाडौं : नेकपा एमालेले दुई चरणको निर्वाचनका लागि सरकारले राखेको 'एक महिनाको अन्तर' माथि प्रश्न गरेको छ। 

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको स्थायी समितिको बैठकले एक महिना लामो अन्तर राख्नुले सरकार निर्वाचन नगर्ने खेलमा लागेको निष्कर्ष निकालेको हो। 

बैठकपछि एमाले सचिव योगेश भट्टराईले दुई चरणको निर्वाचन हुनसक्ने भएपनि 'एक एक महिनाको ग्याप' किन राखियो भन्ने प्रश्न उठेको बताए। 

'कहिलेकाँही दुई चरणमा हुनसक्छ। तर एकएक महिनाको ग्यापमा हुँदैन', उनले भने, 'निर्वाचन नगर्नु र हुन नदिने षड्यन्त्र जुन चल्दैछ। यो त्यसको कडी हो।' 

'दुई चरणमा निर्वचन गर्ने भन्ने जुन कुरा आइरहेको छ। यो चाहिँ मधेसी मोर्चालाई अगाडि सारेर संविधान संशोधनको बाहना बनाएर निर्वाचन नगर्ने षड्यन्त्रको  एउटा खेल हो,' उनले भने। 

उनले वैशाख ३१ गते एकै चरणमा निर्वाचन गर्ने भनेर प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले यसअघि नै बताएकाले निर्वाचन एकै चरणमा गर्नुपर्ने एमालेको धारण रहेको बताए। 

'वैशाख ३१ गते आकाश पल्टिए पनि धर्ती फाटे पनि निर्वाचन तल माथि हुँदैन भनेर प्रधानमन्त्रीले भन्नुभएको थियो। एकै चरणमा भनेर सत्तारुढ दलका प्रमुख नेता देउवाले पनि भनेको हो। यो हामीले भनेको होइन,' भट्टराईले भने। 

उनले मुलुक निर्वाचनको मनस्थितिमा रहेको चुनावमय भइसकेको अवस्थामा फेरि चुनावको मिति तलमाथि गर्ने कुरा एमालेले नमान्ने बताए। 
जेठ १५ गते संसदमा बजेट पेश गर्नुपर्ने तर आचारसंहिताले नमिल्ने अवस्था रहेको अवस्थामा जेठ ३१ मा निर्वाचन नहुने एमालेको जिकिर छ। 

'यी सबै कुरा निर्वाचन नगर्ने षड्यन्त्र हो,' उनले भने, 'जेठ १५ को बजेटको अवस्था, बजेट र आचारसंहिताको विषय, त्यसपछि परिस्थितिहरु निर्वाचन आयोगको तयारी तथा सबै परिस्थिति दुई चरणमा निर्वचन गर्नुपर्ने औचित्य र आवश्यकताबारे छलफल गर्न तयार छ।'

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell