PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

'गोली हान्ने को हो, छिट्टै सार्वजनिक गर्छौँ'



'गोली हान्ने को हो, छिट्टै सार्वजनिक गर्छौँ'
एजम्पसन चर्च। फोटो साभार : अनवार्डनेपाल डट कम

काठमाडौः ललितपुरको मानभवन नजिकै आइतबार गोली हानिए पनि गोली लागेको व्यक्तिले नै लुकाएका कारण मंगलबारमात्र सार्वजनिक भएको घटनाबारे प्रहरीले अनुसन्धान जारी राखेको छ। 

महानगरीय प्रहरी परिसर ललितपुरकाका एसपी अशोक सिंहले अनुसन्धान भइरहेको र केही दिनमा नै गोली हान्ने को हो भन्नेबारे सार्वजनिक गर्ने बताए। 

क्रिश्चियन महासंघका सचिवसमेत रहेका सन्तोष खड्का केही वर्षदेखि नेपालमा धर्म प्रचारप्रसारमा लागिपरेका थिए। धार्मिक गतिविधि सञ्चालन गर्दा केही विवाद उत्पन्न भएपछि आक्रोशित व्यक्तिले गोली चलाएको हुनसक्ने प्रहरीको अनुसन्धानमा देखिएको छ। 

एसपी सिंहले भने, 'धार्मिक विवादले नै गोली हानिएको हुनसक्ने प्रारम्मभिक अनुसन्धानमा देखिएको हो।' 

गोली लागेर उपचार गराइरहेका बस्नेतले आफूलाई केही थाहा नभएको प्रहरीलाई बयान दिएका छन्। घटनाबारे बस्नेतलाई धेरै कुरा थाहा भएपनि उनले कुरा लुकाइरहेकाले अनुसन्धानमा केही असहज भएको अनुसन्धानमा संलग्न एक प्रहरीले बताए। 

गोली लागेको तीन दिनपछि मात्र थाहा पाए खड्काले?

आइतबार साँझ घर फर्कने क्रममा खड्कालाई गोली हानिएको थियो। मोटरसाइकलमा रहेका बस्नेतले शरीरमा झोला भिरेको र गोली झोला पार गरेर शरीरमा पुगेको अनुसन्धानमा देखिएको छ। 

उनले भने गोली हान्दा केही आवाज आएको जस्तो भएको तर आफूलाई गोली लागेको थाहा नभएको बयान प्रहरीलाई दिएका छन्। 

घर पुगेपछि केही चिसो भएको महसुस गर्दा रगत देखेर उनी सातदोबाटोमा रहेका गणेशमान सिंह अस्पताल पुगेका थिए। प्रहरीलाई उनले दिएको बयान अनुसार अस्पतालमा रहेका चिकित्सकले घाउ भएको भन्दै मलमपट्टी गरेर उनी घर फर्किए।

समय बित्दै जाँदा उनको घाउ झनै चर्किँदै गयो। पीडा सहनै नसकेपछि उनी भोलिपल्ट बिहानै किष्ट अस्पताल पुगे। किष्टका चिकित्सकले एक्सरे गर्दा शरीरमा फलाम जस्तो धातु रहेकाले अपरेसन गरेर निकाल्नु पर्ने सुझाव दिए। 

अस्पतालले पाटन अस्पताल रिफर गरेपछि मंगलबार नै सम्पूर्ण रिपोर्ट लिएर उनी पाटन अस्पताल पुगेपछि मात्र प्रहरीले उनलाई गोली लागेको जानकारी पाएको थियो।

उनलाई गोली हानिएकै दिन मंगलबार बिहान करिब ३ बजेतिर ललितपुरको एजम्पसन चर्च परिसरमा अज्ञात व्यक्तिले आगजनी गरेका थिए। उनीहरुले एउटा गाडी र दुई वटा मोटरसाइकलसमेत तोडफोड गरेका थिए। परिसरमा रहेको धर्मगुरु बस्ने भवन र चर्चको पश्चिमद्वारमा समेत क्षति पुगेको राष्ट्रिय ख्रिस्टियन महासंघले जनाएको छ। 

महासंघले मंगलबार विज्ञप्ति जारी गर्दै घटना बारे सरकारले यथाशिघ्र छानबिन समिति गठन गरी सत्य तथ्य पत्ता लगाई दोषीलाई कडा कारबाही गर्न माग गरेको छ।
 
‘यसरी पवित्र प्रार्थनास्थलहरुमा गरिने अमानवीय गतिविधिहरु र अल्पसंख्यक धार्मिक समुदायमाथि हुने यस्ता खालका शान्ति र आपसी सद्भाव विथोल्ने गतिविधिहरु कुनै पक्षबाट पनि  नगरियोस भन्ने हाम्रो विनम्र आग्रह छ’, विज्ञप्ति्मा उल्लेख छ। 

यसअघि २०६६ जेठ ९ गते सोही चर्चमा भएको बम विस्फोटमा घटनास्थलमा दुई र उपचारका क्रममा थप दुई जनाको मृत्यु भएको थियो। घटनाको जिम्मेवारी राजावादी डिफेन्स आर्मीले लिएको थियो। प्रहरीले अनुसन्धानपछि ३० वर्षीया सीता थापा श्रेष्ठ र नाइकेको आरोपमा रामप्रसाद मैनालीलाई पक्राउ गरेको थियो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell