PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

राजा ज्ञानेन्द्रदेखि राष्ट्रपति यादवसम्मलाई भारतमा राज्यमन्त्रीले स्वागत गरेका थिए



राजा ज्ञानेन्द्रदेखि राष्ट्रपति यादवसम्मलाई भारतमा राज्यमन्त्रीले स्वागत गरेका थिए

काठमाडौँ : पाँच दिने औपचारिक राजकीय भ्रमणका लागि सोमबार भारत पुगेकी राष्ट्रपति विद्या भण्डारीलाई भारतकी महिला तथा बालविकास राज्यमन्त्री कृष्णाराजले विमानस्थलमा गरेको स्वागत सामाजिक सञ्जालमा चर्को बहसको विषय भएको छ। राष्ट्रपतिलाई स्वागत गर्न राज्यमन्त्री पठाउनु अपमान भएको विचार धेरैले राखेका छन्। तर राज्यमन्त्रीले नेपालका राष्ट्र प्रमुखलाई स्वागत गरेको यो पहिलो अवसर भने हैन। 

सन् २००२ मा तत्कालीन राजा ज्ञानेन्द्र, रानी कोमलसहित भारतको औपचारिक भ्रमणमा जाँदा विमानस्थलमा रेलवे राज्यमन्त्री दिग्विजय सिंहले स्वागत गरेका थिए। 

त्यसैगरी सन् २०१० मा पहिलो औपचारिक राजकीय भ्रमणका लागि भारत पुग्दा नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा तत्कालीन विदेश राज्यमन्त्री प्रनित कौरले स्वागत गरेकी थिइन्। 


राष्ट्र प्रमुख मात्र हैन नेपालका सरकार प्रमुख भारत जाँदा पनि राज्यमन्त्रीले नै स्वागत गर्ने परम्परा रहिआएको छ, केही अपवादबाहेक। सन् २००४ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाँदा विदेश राज्यमन्त्री इ अहमदले स्वागत गरेका थिए। 


सन् २००८ को सेप्टेम्बरमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' भारत भ्रमणमा जाँदा विमानस्थलमा गृह राज्यमन्त्री सकिल अहमदले स्वागत गरेका थिए। 
सन् २००९ मा प्रधानमन्त्री माधवकुमार नेपाल भारत भ्रमणमा जाँदा भने विदेश राज्यमन्त्री प्रणित कौरले स्वागत गरेकी थिइन्। 

 



लोकतान्त्रिक आन्दोलनपछि सन् २००६ मा गिरिजाप्रसाद कोइराला भारत भ्रमणमा जाँदा भने विमानस्थलमा भारतीय प्रधानमन्त्री मनमोहन सिंह स्वयंले स्वागत गरेका थिए। 
 
केपी ओली प्रधानमन्त्री भई भारत भ्रमणमा जाँदा भने विदेश मन्त्री सुष्मा स्वराजले स्वागत गरेकी थिइन्। 

त्यसपछि पछिल्लो पटक प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' भारत भ्रमणमा जाँदा पनि विदेश मन्त्री सुष्मा स्वराजले नै स्वागत गरेकी थिइन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell