PahiloPost

Apr 30, 2017 | १७ बैशाख २०७४


घामपानी : मौलिक फिल्मको स्वाद


स्वेच्छा राउत/पहिलोपोस्ट

घामपानी : मौलिक फिल्मको स्वाद
काठमाडौं: दश वर्ष निरन्तर अरुको फिल्मबारे कलम चलाएका फिल्म समीक्षक दीपेन्द्र लामाले यो पटक 'घामपानी'मा क्ल्याप चलाए। उनको लागि फिल्म निर्माण/निर्देशन चुनौतिको विषय थियो। कडा समीक्षक भनेर चिनिने दीपेन्द्र आफूले चाही कस्तो फिल्म बनाउलान् भन्ने जिज्ञासा धेरैमा थियो। अन्तत: २०७४ को सुरुवातमा उनको निर्देशनमा बनेको फिल्म घामपानी सार्वजनिक भयो। 

'घामपानी' सामाजिक संरचना चित्रण गर्ने एउटा माध्यम हो जसले दुई फरक समुदायको संस्कृति, मनस्थिति र अवस्था चित्रण गर्छ। फिल्मले तामाङ र बाहुन परिवार मात्र होइन सिङ्गो गाउँ र परिस्थितिलाई पनि देखाएको छ। जसमा घटना जोडिन्छ- प्रेम, परिवेश र विवाह। 

फूर्वा तामाङ (दयाहाङ राई) र तारा शर्मा (केकी अधिकारी) एउटै गाउँका तर फरक जातको युवकयुवती हुन्। यी दुई सँगै रहँदा बस्दा एकअर्कासँग नजिकिन्छन् र प्रेममा पर्छन्। तर फरक जातको भएकै कारण यी दुईको विवाह सम्भव हुँदैन। त्यसैले ताराको विवाह गाउँमा सरुवा भएका असई कमल अधिकारी (अंकित खड्का) सँग निधो हुन्छ। यहीँबाट फिल्मको द्वन्द्व सुरु हुन्छ। पात्रहरु मानसिक, सामाजिक र शारिरीक द्वन्द्वमा देखिन्छन्। कथामा सिर्जित द्वन्द्वले नै दर्शकलाई फिल्मको अन्त्यसम्म बाँधी राख्छ। 

फिल्मको कथा मौलिक छ। त्यसैले पनि फिल्मको कथा नेपाली दर्शकले हेर्न रुचाउने शैलीको लाग्छ। हाम्रो समाज भित्र जे घट्छ, त्यही कथावस्तु, तिनै पात्र र परिवेश। फिल्मको विषय उठान यथार्थपरक देखिन्छ। कुनै जोडीको अन्तरजातीय सम्बन्ध र त्यसको परिवार र समाजमा पर्ने असर। अन्तरजातीय विवाह त पुरानै विषय हो, पुरानै विषय बोकेको फिल्म घामपानी किन हेर्ने भन्ने प्रश्न उठ्न सक्छ। जवाफ फिल्मको ट्रेलरले पनि दिन्छ। पुरानो विषय र कथा तर फिल्मको प्रस्तुति र प्रविधि प्रयोग नयाँ छ। प्रस्तुति बलियो लाग्नुको कारण हुन सक्छ निर्देशकको आफ्नै समुदायको ज्ञान र थप अध्ययन। उनले तामाङ परिवार रहेको गाउँ र उनीहरुको जीवनशैलीलाई कलाकारमार्फत् मजाले चित्रण गराएका छन्। 

मौलिक कथा र मौलिक प्रस्तुतिलाई नै फिल्मको मेरुदण्ड मान्न सकिन्छ। प्रेम, संघर्ष, जातीय सहिष्णुता, गाउँले परिवेश, छिमेकी बीचको सम्बन्ध विभिन्न कोणबाट दर्शकको संवेदना फिल्मका पात्रहरुसँग जोडिन्छन्, यो अर्को सुन्दर पक्ष हो।

निर्देशकले फिल्मको नाम 'घामपानी' बाट नै विम्बात्मक प्रयोगको प्रयास गरे। घाम र पानीलाई दुई फरक जातका युवा युवतीको संकेत गरे। जो एकअर्का भन्दा फरक हुन्छन् तर एक्लै पूर्ण हुँदैनन्। फिल्ममा यी दुई युवा युवतीको बुवाहरुको सोच र प्रवृति झल्काउन 'चेस खेल'लाई पनि विम्ब बनाएका छन्। जहाँ ताराको बुवा झेल गरेर नै सही जित्न खोज्छ र फुर्वाको बुवा इमान्दार रहन्छ। तर पनि चिरञ्जिवी शर्मा र माहिला पात्रबीचको सम्बन्ध उस्तै रहन्छ। उनीहरु बीच सद्भाव सम्मान पनि छ र घुर्की, धम्की र भनाभन पनि चल्छ। त्यस्तै 'मास्टर' पात्रलाई पनि विम्ब बनाइएको छ। जहाँ मास्टर पढेको मान्छे हो र मास्टरले बारी खन्न, दुध पुर्याउन, दाउरा काट्न हुँदैन भन्ने गाउँले परिवेशको विश्वास प्रस्तुत गर्छ। 

ताल, झरना, चल्तीका पर्यटकीय स्थल, ठूला ठूला पहाड, हिमाल यस्ता केही दृश्य देखाइएको छैन। जति छन् कथाको परिवेश सुहाउँदो र उपयोगी छन्।

फिल्ममा प्रयोग संवादमा पनि दीपेन्द्र लामाले प्रोडक्श्न अघि राम्रै मिहेनत गरेको भान हुन्छ। किनकी हसाई हसाई राखेर होस् वा स्थानीय बोलीचालीको प्रयोग गरेर उनले दर्शकलाई पात्रले अब के बोल्छन् भन्ने कौतुहलसहित पर्दामा आकर्षित तुल्याउने सफल प्रयास गरेका छन्। फिल्ममा लेखन पनि दीपेन्द्रकै रहेको छ। लेखन पेशाबाट निर्देशनमा डेब्यु गरेका उनको लेखनीय उपजमा लेखक हावी हुनु स्वभाविक पनि हो। महत्वपूर्ण विषय त लेखिएको कुरालाई उनले दृश्यमा उतार्न गरेको प्रयास कस्तो रह्यो भन्ने हो। 

अभिनय गर्नेले कथा र पात्रहरुलाई न्याय गरे। फिल्ममा प्राय स्थापित र रङ्गमञ्चका कालाकार छन्। जसका कारण कुनैपनि कलाकारको अभिनयमा प्रश्न उठाउने ठाउँ छैन। जसमध्य पनि केकी अधिकारी, दयाहाङ राई, अरुणा कार्की, पस्कर गुरुङजस्तै पर्दाका लागि नयाँ अंकित खड्काको अभिनय निकै उत्साहजनक लाग्छ। थिएटरमा रुचाइएका अंकितले पर्दामा पनि आफूलाई आशाजनक प्रस्तुत गरे।

निर्देशक दीपेन्द्र लामाले ट्रेलर सार्वजनिक गर्दा भनेका थिए,'फिल्म समिक्षा गर्न गाह्रो, बनाउन झनै गाह्रो रहेछ।' सायद उनले समिक्षक भएर आफ्नै फिल्म बारे बोले,'फिल्म निर्माण र पत्रकारिताबीचको नलेज ग्याप कम भएको महसुस गरें। डबिङसम्मको काम सक्काउँदा फिल्ममा धेरै कमजोरी भेटें जुन दर्शकले पनि सजिलै औंल्याउन सक्छन्।' 

के होलान् त ति कमजोरी? 

फिल्मका केही सट र फ्रेम अनावश्यक लाग्छन्। तारा र फुर्वा भागेपछि सदरमुकाम पुग्नु अघिसम्म देखाइने दृश्यहरु किन अनावश्यक लम्ब्याएको थाहा हुँदैन। यसको उदाहरण मान्न सकिन्छ पात्रहरु भागेर साथीकोमा बास बसेको दृश्य। तारा र फुर्वा साथीकोमा त पुग्छन् तर त्यहाँ राँगाको मासु देखेर तारालाई बान्ता आएको बाहेक कुनै आवश्यक घटनाले ठाउँ लिंदैन। 

सलल बगेको कथाले अन्त्यमा नाटकीय रुप लिन्छ। असईको नक्कली बुवावाला घटना पर्दाफास हुँदा अब फिल्मले केही रोचक मोड लिन्छ होला भन्ने दर्शकको आश हुन्छ तर गणेश मुनाललाई फिल्ममा आफैलाई प्रस्तुत गर्ने ठाउँ नै दिइएन। जसका कारण निर्धारित समय अघि सस्पेन्सको भेउ दर्शकले पाउँछन् र सस्पेन्स बाँकी रहदैन। विवाहको मण्डपमा केटाको श्रीमती छोरी च्यापेर आएको दृश्य भने पुराना नेपाली फिल्ममा देखाइने ट्विस्ट जस्तो भान हुन्छ। 

फिल्म सकिन लाग्दा देखिने यी कमजोरीले कथा सकाउन पटकथामा गरिएको हतारो झल्काउँछ। फिल्मको सम्पादनमा भएको केही त्रुटी पनि  दर्शकले प्रस्ट देख्न सक्लान्। 

समग्रमा समाज, युवा र परिवर्तन फिल्मको केन्द्र हो दुई पढे लेखेका युवालाई अन्तरजातिय प्रेममा बाँधी दिएर संयोगान्त अन्त्य निर्देशकले गराएका छन्। फिल्मले जातीय, सांस्कृतिक, भावनात्मक र सामाजिक सहिष्णुता, सम्मान र सम्बन्धको कुरा गर्छ। घामपानी केही कमजोरीसहितको फिल्ममा सशक्त परिवर्तनको संकेत हो।
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

PahiloPost
PahiloPost.com 
Division of Bizmandu Pvt. Ltd.
Durbarmarg Kathmandu Nepal
 
Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : bizmandu@bizmandu.com - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg
Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : bizmandu@bizmandu.com - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg

014227212/ 014227242
pahilopost@gmail.com

fb.com/PahiloPostNews
twitter.com/PahiloPost
youtube.com/PahiloPostTV

Copyright ©2017 PahiloPost. All rights reserved. a division of Bizmandu Media Pvt. Ltd, Kathmandu, Nepal