- भावना शर्मा
सुसाएर बिथोल्ने बतास
तर्साउने बाँसका झ्याङहरू
रक्ताम्य पाइताला घिसार्दै घिसार्दै
तिमीसम्म आईपुगें
यो बालुवामा
मेरो गन्ध मिसिएको
थाहासम्म नपाउने
तिमी कसरी देवता???
बलि मागिरहेछ समय
स्विकार मलाई
कुन पत्थरमा फोडुँ म आफ्नै टाउको?
मेटिदिऊँ अनन्त प्यास
शर्त-
रक्तकुण्डबाट बाहिर निस्कँदा
तिमी बदलिनैपर्छ !
रात फक्रिनुअघि
तिम्रो निधारमा टाँसिदिएर
'तेस्रो आँखा'
मलाई फुत्त निस्कनु छ आफ्नै देहबाट
कलिलो घाम झैं
तिमी पनि जन्मिनै पर्छ !
मेरो आदिम ब्रत टुंगिनुअघि
तिमी मान्छे बन्नैपर्छ
म मेरै रगतले नुहाउने देवता पूज्न सक्दिन !
बिर्सियौ?
पत्थरमा कुँदिनुअघि तिमी मान्छे थियौ
पत्थर भयौ चोईटियौ
देवता बनेर झन् चोट दियौ
सत्य-
'देवताहरू भ्रम मात्र हुँदारहेछन्'
जून पग्लिएकै रात
तिमीलाई मुक्त गर्नुछ देवत्वबाट
म पत्थरको देवतालाई प्रेम गरिरहन सक्दिन !