PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

अमिट जो दुवै आँखा नदेखे पनि सगरमाथा चढ्दै छन्



अमिट जो दुवै आँखा नदेखे पनि सगरमाथा चढ्दै छन्

  • रोहित भण्डारी -
काठमाडौँ : उनी दुवै आँखा देख्दैनन्। जन्मेदेखि नै थाहा छैन यो संसार कस्तो छ। पाँच वर्षअघि एकजना अमेरिकीसँगको भेटले बागलुङका अमिट केसीमा एउटा आँट जाग्यो, विश्वको सर्वोच्च शिखर चढ्ने, जसलाई पूरा गर्न आइतबारदेखि उनी औपचारिक यात्रामा निस्कँदै छन्। 

बागलुङकै एक स्कुलमा पढाउँथे उनी त्यतिबेला। एउटा कार्यक्रममा भेटमा अमेरिकी नागरिक क्लिफले भनेछन् तपाईँहरुजस्तै दृष्टिविहिन एरिकले सगरमाथा चढ्न सक्यो, तपार्इँहरु पनि आँट गर्नुस् सक्नुहुन्छ। अमिटले क्लिफलाई सोधेछन्। मैले पनि सक्छु त?

‘माछाले म पोखरीमा पौडिन सक्छु होला त भनेर सोधे जस्तै भयो यो प्रश्न। सगरमाथाकै देशका मान्छेले सगरमाथा चढ्न सक्दैनन्?’ क्लिफले प्रतिप्रश्न तेर्‌स्याए। यही प्रतिप्रश्न जो अमिटका लागि सगरमाथा चढ्ने प्रेरणा बन्यो। 

आफ्नो यात्राबारे जानकारी दिन बिहीबार पुल्चोकको एक क्याफेमा उनले केही पत्रकार र शुभेच्छुकलाई बोलाएका थिए। झण्डै दुई घन्टा उनले आफ्ना अनुभूति व्यक्त गरे। आरोहण सहयोगीका रुपमा पेम्बा दोर्जे शेर्पाको टीम रहेछ उनीसँग। तीन सदस्यीय आरोहण दलको सगरमाथा यात्राको प्याकेज ७५ दिनको रहेछ। 

दुई हिमालको सफल आरोहण 

यसअघि दुई हिमालको सफल आरोहण गरिसकेका छन् उनले। ६ हजार १ सय ८६ मिटर अग्लो आइसल्यान्ड पिक र ६ हजार ६ सय ५४ मिटर अग्लो मेरापिक उनले आरोहण गरिसकेका हिमाल हुन्। ०७२ को शुरु र अन्त्यमा यी दुई हिमालको आरोहण गरेका अमिटलाई यसको अनुभवले पनि सगरमाथामा सफलता पाइन्छ भन्ने पूर्ण विश्वास छ।

हिमाल आरोहण सजिलो होला भन्ने सोचेकै थिएनन् उनले। जति गाह्रो सोचेका थिए त्यति गाह्रो नभएपछि अझ आत्मबल बढेछ उनको। उनी भन्दैथिए, ‘मैले शुरुमै सजिलो सोचेर गाह्रो भएको भए अहिले यो आँट आउने थिएन। तर, गाह्रो सोचेँ, सजिलो भइदियो। त्यही भएर अहिले सगरमाथा चढ्ने आँट आयो।’

उनलाई यतिबेला मुख्य चिन्ता खर्चको छ। हुन त लायन्स क्लबले मुख्य प्रायोजन गरेको छ। लायन्स क्लब सय वर्ष पुगेको अवसरमा क्लबको झण्डा लिएर उनी सगरमाथा चढ्दैछन्। नेपाल सरकारले पनि पाँच लाख रुपैंयाँ उपलब्ध गराएको छ। तर, यति खर्चले नपुग्ने रहेछ। दृष्टिविहिनका लागि अन्य साङ्ग व्यक्तिका तुलनामा झण्डै दोब्बर खर्च लाग्नेरहेछ।  

नेपालको पहिलो र विश्वको दोस्रो दृष्टिविहिन आरोही 

उनले सगरमाथाको सफल आरोहण गरे भने उनी नेपालको पहिलो र विश्वको दोस्रो दृष्टिविहिन सगरमाथा आरोही हुनेछन्। अमेरिकाका एरिक वाङ पहिलो र एकमात्र दृष्टिविहीन सगरमाथा आरोही हुन्। एरिकले आरोहण गर्न सक्छ त अमिटले किन सक्दैन? उनी आफैंलाई प्रश्न गर्छन्। तर, कीर्तिमानको रहरले सगरमाथा आरोहण गर्न लागेको भने नभएको उनको भनाई छ । उनी भन्छन्,‘ म कीर्तिमानको रहरले होइन, सबैमा आत्मविश्वास जगाउनका लागि सगरमाथा आरोहण गर्दैछु।’

छोराले भन्यो- म पनि जान्छु 

६ वर्षको छोरो छ उनको। दृष्टिविहीन बाबु सगरमाथा चढ्न लागेको थाहा पाएपछि छोराले एकदिन भनेछ, ‘ड्याडी मलाई बाक्लो ज्याकेट किनिदिनोस् म पनि तपाईँसँगै जान्छु।’

श्रीमती बाग्लुङमा पसल गर्छिन्। यतिबेला छोराछोरीलाई सँगै लिएर श्रीमानको बिदाईका लागि उनी काठमाडौं आएकी छिन्। शुरु शुरुमा त श्रीमानको हिमाल आरोहणको चाहना ठीक लागेन उनलाई। के होला? कसो होला? चिन्ता नलाग्ने कुरै भएन। तर, अमिटको आत्मविश्वासमा शंका गरेर उनलाई कमजोर बनाउन पटक्कै मन लागेन । त्यसैले साथ दिइन् र भनिन् -सफलताको शुभकामना!
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell