PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

नेपालमा हराएका पाकिस्तानी पूर्वसैनिक : अपहरणमा 'र'को हात? के भारत-पाक 'जासुस साटासाट' हुँदैछ?  



नेपालमा हराएका पाकिस्तानी पूर्वसैनिक : अपहरणमा 'र'को हात? के भारत-पाक 'जासुस साटासाट' हुँदैछ?  

काठमाडौँ :  नेपालको लुम्बिनीबाट बेपत्ता भएका पाकिस्तानी सेनाका अवकाशप्राप्त लेफ्टिनेन्ट कर्णेल मोहम्मद हबिब जाहिर कहाँ छन्, अहिलेसम्म केही पत्ता लागेको छैन।

पाकिस्तानी दूतावासले परराष्ट्र मन्त्रालयमार्फत् खोजीदिन अनुरोध गरेपछि नेपाल प्रहरीको विशेष ब्युरोले उनको खोजी गरिरहेको छ। तर अहिलेसम्म केही पत्ता लाग्न सकेको छैन।

उता, भारत र पाकिस्तानका मिडिया भने एक अर्कालाई आरोप प्रत्यारोप लगाउन व्यस्त छन्।

पाकिस्तानी मिडियाले सुरुदेखि नै भारतीय जासुसी एजेन्सीले गोप्य अपरेसन गरेर जागिरको लोभमा फँसाएर उनको अपहरण गरेको आरोप लगाउँदै आएको छ।

भारत सरकारले भने यसबारे केही बोलेको छैन। गएको बिहीबार नियमित प्रेस ब्रिफिङका क्रममा यसबारे प्रश्न सोधिँदा विदेश मन्त्रालयका प्रवक्ता गोपाल बागलेले उनीबारे केही जानकारी आफूलाई नभएको बताएका थिए।

एक भारतीय वेबसाइटले भने पूर्व पाकिस्तानी सैनिक अधिकारीलाई पाकिस्तानी जासुसी एजेन्सी आइएसआइले भारतविरोधी महत्त्वपूर्ण मिसनका लागि नेपाल पठाएको दावी गरेको छ। यद्यपि त्यो दावीको पुष्टिको आधार भने उसले केही देखाउन सकेको छैन।

इन्टेलिजेन्स ब्युरोका स्रोतहरु उद्धृत गर्दै समाचारमा संवेदनशील प्रकृतिको मिसनका लागि उनी नेपाल आएको र आइएसआइले जिम्मा नलिएपछि बेपत्ता भएको आरोप छ।

पाकिस्तानको पाकिस्तान टुडे र भारतको द क्विन्टले एउटा समान आशंका व्यक्त गरेको छ- पाकिस्तानमा जासुसीको आरोपमा थुनामा रहेका र मृत्युदण्ड सुनाइएका भारतीय कुलभुषण यादवसित भविष्यमा 'जासुस साटासाट' गर्न यो अपहरण भएको हुनसक्छ।

पाकिस्तान टुडेले पाकिस्तानी पूर्व सैनिक अधिकारीलाई लोभ्याउन जागिरको प्रस्ताव राख्ने बेलायतको फोन नम्बर ००४४७४५१२०३७२२ मार्क थमसन नामका व्यक्तिले चलाउँदै गरेको उल्लेख छ। त्यही नम्बरबाट आएको फोनले जाहिरलाई नेपालमा अन्तर्वार्ताका लागि बोलाएको थियो।

पाकिस्तानले नम्बरको बारेमा अनुसन्धान गर्न बेलायतको सहयोग लिने समाचारमा उल्लेख छ।

पाकिस्तान टुडेले अवकाश प्राप्त कर्णेललाई नेपालको विमानस्थलमा एक भारतीय नागरिकले रिसिभ गरेको फुटेज पनि प्राप्त भएको दावी गरेको छ।

हबिबसित इमेलमा कुराकानी हुने गरेको इमेल ठेगानाको वेबसाइट stratsolutions.biz भारतमा होस्ट गरिएको र सोही सर्भरमा भारतीय सरकारको ताजमहलको साइट tajmehal.gov.in समेत होस्ट गरिएको, दुवै साइटको सोर्सकोड र कोडिङ स्टाइलसमेत एकै रहेको दावी समाचारमा छ। stratsolutions.biz भने यो घटनालगत्तै बन्द भइसकेको छ।

भारतीय वेबसाइट द क्विन्टले भारतीय जासुसी एजेन्सीले गरेको इन्टेलिजेन्स अपरेसन हुनसक्ने शंका गर्दै भविष्यमा जासुस साटासाट हुनसक्ने उल्लेख गरेको छ।

'र' को हात?

भारतीय सुरक्षा स्रोतहरुलाई उद्‍धृत गर्दै यो अपरेसनमा भारतीय जासुसी एजेन्सीको संलग्नताको संकेत देखा परेको र जाहिरलाई भारतका कयौँ सेफ हाउसमध्ये एक ठाउँमा राखिएको हुनसक्ने सम्भावना औँल्याएको छ।

अथवा भारत नेपाल सीमाको भारतीय सीमातिर रहेको अपराधिक वा स्मगलर नेटवर्कलाई राख्न दिइएको हुनसक्ने अनुमान पनि द क्विन्टले गरेको छ।

पूर्व इन्टेलिजेन्स अपरेटिभलाई उद्‍धृत गर्दै भनिएको छ, यसो गर्दा अपरेसनमा सरकारको संलग्नता नदेखाउने बाटो हुन्छ। यसअघि पनि रले नेपालको सीमा नजिकै रहेका गोरखपुर, नौतनवा र रक्सौलका बेसहरु प्रयोग गरेको पूर्व अधिकारीहरुले बताएको त्यसमा उल्लेख छ। 



 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell