PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

फिल्म समीक्षा 'लभ लभ लभ' : फिल्म बनाउन तन्काइएको सरल कथा



स्वेच्छा राउत

फिल्म समीक्षा 'लभ लभ लभ' : फिल्म बनाउन तन्काइएको सरल कथा

काठमाडौं: फिल्म निर्देशक दीपेन्द्र के खनालले फिल्म 'लभ लभ लभ' बारे भने,'फिल्ममा पर्दा च्यातिँदैन। यो सरल प्रेम कथा हो'। साँच्चै फिल्म निकै सरल कथा हो। जुन कथालाई निर्देशकले कुनै परिस्थितिको न्यारेसन र १२ दिनको घटना बनाएर फिल्ममा प्रस्तुत गरेका छन्। फिल्मको सुरुवात निकै रचनात्मक लाग्छ। जहाँ मुख्य पात्र सुरज र समृद्धिको बाल्यकाललाई चित्रकला र न्यारेसन माध्यम बनाएर प्रस्तुत गरिएको छ। रचनात्मक प्रस्तुति निर्देशक दीपेन्द्र के खनालको बलियो पक्ष हो। उनले सरल तर फरक प्रस्तुति दिएको फिल्महरुले यो कुरा पुस्टी गर्छ, चाहे 'चपली हाइट'ले होस् वा 'पशुपतिप्रसाद'। तर निर्देशकको कथा प्रस्तुति र दृश्य निर्देशन मात्र सिङ्गो फिल्म होइन। फिल्मको कथा र पात्रहरुलाई पनि केन्द्रमा राखेर समिक्षा गर्न आवश्यक छ। 

कथा हो सुरज (सुरज पाण्डे) र समृद्धि (स्वस्तिमा खड्का) को। यी दुई बाल्यकालदेखिकै साथी हुन्छन्। पहिलोपटक समृद्धिलाई देख्नासाथ मनमा लड्डु फुटाएका सुरजले समृद्धिका लागि झगडा गर्छ। दुर्भाग्यबस झडपका क्रममा भएको दुर्घटनाले उसले एउटा कानको श्रवण शक्ति गुमाउँछ। कानमा मेशिन राखेर काठमाडौंबाट पोखरा फर्कदा पुन: दुर्घटना हुन्छ र सुरजले आमालाई पनि गुमाउँछ। सुरजलाई समृद्धिले असल साथी मात्र ठान्छे, प्रेम गर्दिन तर पनि सुरजको समृद्धिलाई हेर्ने दृष्टीकोण र उप्रतिको माया उस्तै रहन्छ। 

मुख्य कथा सार यसैलाई मानौं। भावनात्मक सुनिन्छ। सुरज पात्र 'बिचरा' लाग्छ। उप्रति माया जाग्छ। जुन कथाको लेखन पनि दीपेन्द्र के खनाल स्वयंले गरेका हुन्। तर लेखिएको कथालाई पाठकले पढ्दा जुन सेन्टिमेन्ट विकास हुन्छ त्यो फिल्म हेर्दा दर्शकको मनमा पनि विकास हुन्छ त? 

बाल्यकालमा दुईवटा दु:खद परिस्थितिको सामना गरेको बालकको मनोवैज्ञानिक स्थिति कस्तो हुन्छ? त्यही पात्र सुरजको मनोवैैज्ञानिक द्वन्द्व फिल्मको केन्द्रमा राख्न खोजिएको छ। तर लेखक तथा निर्देशकको प्रयास सफल भएको लाग्दैन। किनकि कान नसुन्ने, आफ्नो आवरणलाई अनमोल केसीसँग तुलना गरेर निराश हुने, भरपूर प्रेम दिएर पनि सधैं समृद्धिलाई आवश्यक परेको अवस्थामा मात्र उपलब्ध भइदिन पर्ने पात्र बनाएर देखाइएको छ सुरजलाई। तर फिल्मभर न उनको हाउभाउले उनको चरित्र प्रस्ट्याउँछ न सुरज पात्रको कमजोरीसँग दर्शकको संवेदना जोडिन्छ। कान नसुनेको त देखिँदैन तर उनले फिल्म अवधिभर दर्शकलाई कानमा राखेको मेशिनसँग पनि आफू जोडिएको भान हुन दिंदैन। जबकि फिल्ममा सुरज एउटा कान नसुन्ने पात्र हुो। 

सुरज पाण्डेले लगनशील बनेर डेब्यु फिल्मका लागि आफ्नो २० केजी तौल घटाए। उनको लगनशीलता सराहनीय छ तर अभिनयमा भने उनी कच्चानै साबित भए। वा पटकथा लेखन कमजोर रह्यो र निर्देशकले नै प्रेम देखाउने होडमा पात्रहरुले निभाउन पर्ने चरित्रलाई उस्तो ध्यानमा राखेनन्। 

स्वस्तिमा खड्का रिल बाहिरकै जस्तो प्रस्तुत भइन्। जस्तो अन्तर्वाता र अन्य कार्यक्रममा प्रस्तुत हुन्छिन् ठ्याक्कै उस्तै। त्यसैले पनि उनको अभिनय जीवन्त लाग्यो। समृद्धि बनेर पनि उनले आफ्नो चञ्चलतालाई त्याग्न परेन। होस्टल सिक्वेल डेब्यु गर्ललाई कलेज विद्यार्थी वा टिन एजरको भूमिका अफ्ठ्यारो काम होइन रहेछ भन्ने स्वस्तिमाले पुस्टि गर्छिन्। 

कथामा यी दुई पात्रलाई नै अन्त्यसम्म तानिन्छ। फिल्ममा अन्य पात्रको धेरै भूमिका नै छैन। दीपेन्द्र के खनालले पात्रहरुको थुप्रो लाउने चटारो गरेनन्। ठीक गरे। तर प्रेममा सुरजले गरेको संघर्ष कम, बाह्र दिन गन्ती ज्यादा देखिन्छ। दिन १, २, ३ गर्दै बिस्तारै अघि बढ्दै जान्छ तर एकै सटमा एक दिनको अन्त्य हुन्छ। फिल्ममा दृश्यहरुको फिनिसिङ साह्रै हतारोमा गरेझै लाग्छ। समग्रमा सरल, सुन्दर र छोटो कथालाई फिचर फिल्म बनाउनकै लागि तन्काइएको भान हुन्छ। 

फिल्ममा सेटिङ वा प्रस्तुत ब्याकग्राउन्डले पनि धेरै असर गर्छ। संवादमा सरल कथा र सरल पात्रका लागि संवादमा पनि आम युवाकै शैली प्रस्तुत गर्न खोजिएको छ। तर पश्चिमी ठाउँको सेटिङमा न मुख्य युवा पात्रको बोलीमा पश्चिमी लवज सुनिन्छ न बृद्ध पात्रकोमा। यसले अन्य ठाउँको दर्शकलाई असर नगर्ला तर पोखरा र पञ्चासे गाउँ आसपासका दर्शकले प्रश्न गर्ने ठाउँ रहन्छ।

पोस्ट प्रोडक्शनको काममा पनि केही तालमेल मिलेन सायद। फिल्म सम्पादन र डबिङको कमजोरी दर्शकले फिल्म हेर्दा हेर्दै भेउ पाउछन्। जहाँ कलाकारको संवाद र लिप्सिङ म्याच गर्दैन। 

भारी एक्सन, छुटपुट कमेडी, स्टारडमको गलत प्रयोग, भल्गारिटी र ग्लामररहित फिल्म हो 'लभ लभ लभ'। सरल प्रेमकथाको प्रस्तुतिमा दीपेन्द्र के खनालले आफ्नो तर्फबाट काम गर्दागर्दै पनि पटकथा लेखन, अभिनय, सम्पादनका केही पक्ष कमजोर लाग्छन्। युवा पुस्ताको कथा रुचाउने दर्शकले फिल्म हेर्दा खल्लो नलाग्ला भन्ने आश गर्ने ठाउँ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell