PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

वैशाख १२ पछि ३० हजार धक्का, भूकम्प मापनका लागि थप १८ केन्द्र बन्दै



रासस

वैशाख १२ पछि ३० हजार धक्का, भूकम्प मापनका लागि थप १८ केन्द्र बन्दै
seismonepal

काठमाडौँ : नेपालमा भूकम्प मापन गर्ने थप १८ केन्द्र स्थापना गरिने भएको छ।

२०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि विभिन्न देशको सहयोगमा थप १८ केन्द्र स्थापना गर्न लागिएको हो।

राष्ट्रिय भूकम्प मापन केन्द्रका सिस्मोलोजिष्ट भरतप्रसाद कोइरालाले मुलुकभर हाल २१ केन्द्र रहेको र थप १८ केन्द्र थपिन लागेको जानकारी दिए। सन् २०१८ सम्म चीन सरकारले १०, थाइल्यान्डको रायम्स कम्पनीले चार र जापान सरकारले आठ केन्द्र बनाउन सहयोग दिने उनले जानकारी दिए।

केन्द्रले ‘गोरखा भूकम्प’ पछि नेपालमा गएका भूकम्पको धक्का प्रशोधन कार्य (अभिलेख राख्ने काम) गरिरहेको छ।

केन्द्रका अनुसार वैशाख १२ को भूकम्पपछि अहिलेसम्म नेपालमा ३० हजारभन्दा बढी भूकम्प तथा परकम्प गइसकेको छ।

कोइरालाले गोरखा भूकम्पपछि हालसम्म ४ रिक्टर स्केलभन्दा माथिका ४७९ र त्योभन्दा तलका ३० हजारभन्दा बढी परकम्प गएको बताए।

'देशभरका केन्द्रबाट आएका तथ्याङ्कको प्रशोधन गरिरहेका छौँ। अहिलेसम्म करिब २० हजार परकम्पको प्रशोधनको काम भइसक्यो,' कोइरालाले भने।

नेपालमा सन् १९७८ मा फ्रान्स सरकारको सहयोगमा ललितपुरको फुल्चोकीडाँडामा भूकम्प मापन केन्द्रको स्थापना भएको थियो। नेपालमा अहिले पूर्व ताप्लेजुङदेखि पश्चिम बैतडीसम्म २१ केन्द्रबाट भूकम्प मापन हुँदै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell