PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

'मलाई आइजी नै बनाएको भए प्रहरी संगठन खत्तमचाहिँ हुने थिएन'



पहिलोपोस्ट

'मलाई आइजी नै बनाएको भए प्रहरी संगठन खत्तमचाहिँ हुने थिएन'

नेपाल प्रहरी अस्पतालका प्रमुख एआइजी डा. दिनेशचन्द्र पोखरेललाई कल्पना नै नगरेको जिम्मेवारी आइलाग्यो फागुन २ गते। सरकारले उनलाई ७२ हजार प्रहरी रहेको संगठनको सम्पूर्ण कमाण्ड नै सुम्पियो। केही दिनका लागि निमित्त तोकिएका पोखरेलाई झन्डै दुई महिना नै संगठन चलाउने मैका मिल्यो। लामो समयको महानिरीक्षक नियुक्ति विवादपछि सरकारले डिआइजी प्रकाश अर्याललाई सोमबार नियुक्ति दिएलगत्तै पदभारपछि पोखरेल निमित्त महानिरीक्षकको जिम्मेवारीबाट मुक्त भए। निमित्तको पदबाट हटेसँगै पोखरेल मंगलबार बिहानै बिरामी जाँच्न बानेश्वरस्थित आफ्नो निवासबाट महाराजगन्जमा रहेको अस्पताल पुगे।

करिब दुई महिना प्रहरी संगठन चलाउँदा कस्तो अनुभव भयो त? पहिलोपोस्टका सम्वाददाता सविन ढकालले एआइजी डा. पोखरेलसँग गरेको छोटो कुराकानी :

हिजोसम्म निमित्त महानिरीक्षक र आज प्रहरी अस्पतालको प्रमुख। एक रातमा के फरक पाउनुभयो?
हा... हा… धेरै हलुङ्गो हुँदो रहेछ। कहाँ पुलिस संगठनले थिचेको मान्छे। साथीहरुले हिजोदेखि नै 'आज त तपाईं हासेको हाँसै हुनुहुन्छ' भनेर जिस्काउँदै थिए। 'बल्ल सरको हाँसो खुल्यो' भन्थे। साँच्चै त्यस्तै अनुभूति भइराखेको छ।

महानिरीक्षक नियुक्ति विवादपछि सोच्दै नसोचेको जिम्मेवारी निभाउन पाउनुभयो है। कस्तो लाग्यो त्यो बेला?
मलाई त्यस्तो केही लागेन। जहाँ गए पनि जिम्मेवारी त बहन गर्नु नै पर्छ। अस्पताल हुँदा बिरामी हेर्थें यता प्रहरी संगठनको जिम्मेवारी आइलाग्यो भन्ने सोचेँ।

केही फरक त महसुस गर्नुभयो होला नि?
फरक त हुँदो नै रहेछ। ७२ हजार प्रहरीको प्रमुख र हस्पिटलको प्रमुख; प्रकृति नै फरक। नयाँ काम भएर सिक्दै काम गर्न पाएँ। नयाँ अवसरले काममा चुनौतीसँगै खुसी पनि दिँदो रहेछ। इमानदारपूर्वक काम गरेँ। कसैले खोट लगाउन पाएनन्।

मानिसको मन लोभीपापी हुन्छ भन्ने कथन छ, त्यसमाथि विवाद यसरी चर्किरहेको छ। केही वर्ष प्रमुख भएर संगठन चलाऊँ भन्ने लागेन? आइजी-आकर्षण कस्तो हुँदो रहेछ?
मलाई चाहिँ लागेन। यस अर्थमा कि म त्यहाँ बस्नेछैन भन्ने पहिलेदेखि नै थियो। १० वर्ष मेडिकल क्षेत्रमा बिताएकाले मेरो कामको प्रकृति र क्षेत्र पनि अलि फरक थियो। तर ७२ हजार प्रहरीको संगठन ह्यान्डल गर्नु चाहिँ एक खालको चार्मिङ हुँदो रहेछ।

साथीभाइ, आफन्तहरुले महानिरीक्षककै लागि पहल गर्नुपर्छ भनेर सल्लाह वा त्यस खालको दबाब दिएनन्?
धेरैले मलाई तँ नै हुनुपर्छ भन्थे। बरु उनीहरुले नै यहाँ जाने, उहाँ जानेसम्मको सल्लाह दिन्थे। तर मैले त्यसमा खास चासो राखिनँ। कतै गइनँ पनि। बरु  निमित्त भएर केही समय काम गर्नुपर्ने भए मैले कार्यवाहक पाउनुपर्छ भनेर भनेको हो। जसले गर्दा अरुका लागि सरुवाबढुवा र वृत्तिविकास गर्न सक्छु भन्ने लागेको थियो। तर मलाई नै सधैँ आइजी देऊ भनेको भने होइन। म जिन्दगीबाट मोक्ष चाहन्छु। कसैको भाग खाएर मोक्ष पाउँदिन, त्यसैले म कसैको भाग खान चाहन्नथेँ। महानिरीक्षक त मेरो मेहनतको फल होइन।

स्थानीय तहको निर्वाचन आइरहेको छ। यसमा शान्तिसुरक्षा दिन सक्ने आत्मबल कत्तिको थियो?
नसक्ने भए म त्यही दिनै राजीनामा गर्दिन्थेँ। जब यति सजिलै छोड्नु थियो भने लिन पनि हतार थिएन होला। प्रहरी संगठनभित्र आफ्नै सिस्टम छ। यो कसरी अगाडिका आइजीको संगत भएकाले पूरा २७ वर्ष मैले नियालेर बसेको छु। आजको दिनमा पनि सरकारले त चार वर्षको लागि आइजी भइस् भन्यो भने म भागेर हिँड्ने होइन। चलाउन सक्दैन थिएँ भने 'म सक्दिनँ' भन्थेँ। म भएको खण्डमा संगठन खत्तम चाहिँ हुने थिएन।

सम्बन्धित समाचारहरु



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell