PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

पाँच दिनका ३० फोटो जसले बुझाउँछ किन चार रात सेतो मच्छिन्द्रनाथको मूर्ति मन्दिरमा हुँदैन

पाँच दिनका ३० फोटो जसले बुझाउँछ किन चार रात सेतो मच्छिन्द्रनाथको मूर्ति मन्दिरमा हुँदैन

दीपेन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौँवासीहरुले उल्लासपूर्वक मनाउने वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको यात्रा शनिबारदेखि सकिएको छ। पाँच दिनअघि आफ्नो मन्दिरबाट निस्किएका जनबहाः द्य: (सेतो मच्छिन्द्रनाथ) चार रात विभिन्न ठाउँमा बिताउँदै पाँचौँ दिन आफ्नै मन्दिरमा फर्किएका हुन्। 

रथयात्रा चैत २२ गते मंगलबारदेखि सुरु भए पनि त्योभन्दा धेरै अघिदेखि यसको तयारी सुरु हुन्छ। काठमाडौँको दरबारमार्गअगाडि रहेको तीनधारा पाठशाला अगाडि रथ बनाउनका लागि सबै सामाग्री तयार पारिन्छ र शिखर शैलीको रथ बनाउन सुरु हुन्छ। 

पहिलो दिन काठमाडौँको जनबहाल (मच्छिन्द्रबहाल पनि भनिन्छ) मा रहेको मन्दिरबाट सेतो मच्छिन्द्रनाथको मूर्तिलाई बाहिर निकालिन्छ र खटमा राखी असन हुँदै रथमा आरोहण गराइन्छ। त्यसपछि दर्जनौँले रमाइलो गरी डोरी तान्दै रथलाई त्यहाँबाट भोटाहिटी हुँदै असन पुर्‍याउँछन्। त्यो रात सेतो मच्छिन्द्रनाथको बास त्यहीँ हुन्छ। भोलिपल्ट अर्थात् दोस्रो दिन साँझ पुनः त्यहाँबाट रथ तानेर हनुमानढोका पुर्‍याइन्छ र त्यो रात त्यहीँ बित्छ।

तेस्रो दिन हनुमानढोकाबाट वसन्तपुर हुँदै तानिएको रथ लगन पुर्‍याइन्छ। लगनमा सेतो मच्छिन्द्रनाथकी आमाको मन्दिर रहेको छ। चौथो दिन रथलाई मच्छिन्द्रनाथकी आमाको मन्दिर तीन पटक परिक्रमा गराएपछि जात्रा सकिन्छ। तर मूर्ति मन्दिर पुर्‍याउने काम भने बाँकी हुन्छ। पाँचौँ दिन रथबाट निकालिएको मूर्तिलाई खटमा राखी जनबहालस्थित मन्दिरमा प्रवेश गराइन्छ। 

हेर्नुस् पाँच दिने जात्राका ३२ फोटो
रथयात्राको तयारी : रथमा जोडिने काठका पाङ्ग्रा तीनधारा पाठशाला अगाडि लाँदै।
रथ निर्माण सुरु : शिखर शैलीमा रथ बनाइन्छ।
केही दिनसम्म रथ बनाउने र सजाउने क्रम जारी रहन्छ।
बाहिरी संरचना डोरीले कसिसकेपछि बल्ल त्यसलाई हरियो पात, हाङ्गाले सजाउने काम सुरु हुन्छ।
रथको चक्का रङ्ग्याउँदै। रथका चार चक्कालाई चार भैरवको प्रतीक मानिन्छ।
अब लगभग तयार भयो रथ।
उता रथ तयार हुँदै गर्छ, यता जनबहालमा मच्छिन्द्रनाथको मन्दिरबाहिर पूजारीहरु शुद्ध हुन स्नान गर्न थाल्छन्
यी पूजारीहरु रथयात्रामा रथमै बसिरहेका हुन्छन्।
मूर्तिलाई मन्दिरबाट बाहिर निकाल्नुअघि पूजाआजा हुन्छ।
त्यसपछि मूर्ति मन्दिरबाट बाहिर निकालिन्छ। अबका चार दिन यो मन्दिरमा मूर्ति रहँदैन।
मूर्तिलाई मन्दिरबाट खटमा राखी रथ भएको स्थान तीनधारा पाठशालाअगाडिको सडकसम्म लगिँदै।
सुरु भयो रथयात्रा। पहिलो दिन रथ भोटाहिटी हुँदै असनमा पुर्‍याइन्छ।
दोस्रो दिन रथ हनुमानढोका पुर्‍याइँदै।
तेस्रो दिन रथ हनुमानढोकाबाट लगन टोलका लागि तानिन्छ।
तेस्रो दिन हनुमानढोकाबाट वसन्तपुर हुँदै रथ लगनका लागि लगिँदै।
रथयात्रा हेर्नका लागि जीवित देवी कुमारीलाई ल्याइँदै।
कुमारीलाई लगनमा हुने रथयात्रा दर्शनका लागि ल्याइन्छ।
लगनमा पुर्‍याइएको रथ।
काठमाडौँका हरेक जात्रामा गुर्जुको पल्टनको पनि उपस्थिति हुन्छ।
चौथो दिन सेतो मच्छिन्द्रनाथकी आमाको मन्दिर परिक्रमा गराउँदै।
आमाको मन्दिरबाहिर तीन पटक रथ परिक्रमा गर्ने गरिन्छ।
रथ तानेको हेर्न उपस्थित श्रद्धालुहरु।
प्रसाद थाप्न हानथाप गर्दै।
सेतो मच्छिन्द्रनाथको मूर्ति
मच्छिन्द्रनाथको मूर्ति (बायाँ) र मच्छिन्द्रनाथकी आमाको मूर्ति।
पाँचौँ दिन रथबाट मूर्ति निकालिँदै।
रथ निकालेर खटमा राखी मन्दिर भएको स्थान जनबहाल लगिँदै।
रथ निकालेर खटमा राखी मन्दिर भएको स्थान जनबहाल लगिँदै।
पाँचौँ रात बल्ल जनबहालको खाली मन्दिरमा मूर्ति फर्कन्छ।


ट्रेन्डिङ पोस्ट

Ncell