PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

एनसेल कर प्रकरण : लेखाको बैठकमा ठाकुरले किन गरे लबिङ?



मनोज सत्याल

एनसेल कर प्रकरण : लेखाको बैठकमा ठाकुरले किन गरे लबिङ?
रोशन सापकोटा, रासस

काठमाडौँ : एनसेलको 'पुँजीगत लाभकर' प्रकरणमा आइतबार संसदको लेखा समितिको बैठकमा एकाएक नयाँ पात्रले 'इन्ट्री' खोजे।

न सम्बन्धित निकाय, न निम्तालु। उनी बैठकमा जबरजस्त प्रस्तुत हुन खोजे। तर उनले खोजेको जबरजस्त इन्ट्रीमाथि आफैँ 'ब्याकफायर' हुन पुग्यो।

इन्ट्री खोज्ने पात्र हुन्, राष्ट्रिय सतर्कता केन्द्रका प्रमुख अधिकृत तथा सरकारका सचिव गजेन्द्र ठाकुर।

एनसेलको पुँजीगत लाभकर प्रकरणमा आइतबार लेखा समितिले प्रधानमन्त्रीलाई डाकेको थियो।

समितिका सभापति डोरप्रसाद उपाध्यायले सुरुवातमै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समय दिए। प्रधानमन्त्रीले एनसेल नेपालमै रहेको उल्लेख गर्दै कर उठाउने प्रतिबद्धता जनाए।

ठाकुर भने प्रधानमन्त्रीलगत्तै बोल्नका लागि लबिङमा जुटे। र, समितिका कार्यवाहक सचिव सुरेन्द्र अर्यालसँग बोल्ने समय मागे। तर सभापतिले उनलाई समय दिएनन्। बैठक चलिरहँदा प्रधानमन्त्री पुत्र प्रकाश दाहालसँग ठाकुर भलाकुसारी गर्न थाले। अनि सांसदद्वय रामहरि खतिवडा र वीरेन्द्र महतोसँग पनि कुरा गरे।

त्यतिन्जेल ठाकुर सिनमा देखिएनन्। तर जब सभापति उपाध्यायले एनसेल खरिद बिक्रीमा विगतमा भएका कारोबारबारे छानविनका लागि राष्ट्रिय सतर्कता केन्द्रलाई जिम्मा दिने निर्णय प्रस्ताव गरे ठाकुरको सक्रियता खुल्यो।

तर उनको सक्रियताले आफैँलाई 'ब्याकफायर' गर्‍यो। उनले कांग्रेस सांसद रामहरि खतिवडासँग गरेको भलाकुसारी नै उनका लागि 'घाँडो' बन्न पुग्यो।

सभापतिले केन्द्रलाई छानविनको जिम्मा दिने प्रस्ताव गरेपछि खतिवडाले अहसमति जनाए। खतिवडाले भने, 'प्रधानमन्त्री मातहतको सचिव रहने निकायलाई दिन मिल्दैन। अख्तियारलाई नै दिनुपर्छ।'


सभापति उपाध्यायले विगतमा तीन पटक अख्तियारलाई दिइएको भन्दै 'सतकर्तालाई छानविनको जिम्मा दिन' प्रस्ताव गरे।

खतिवडाले अख्तियार संवैधानिक निकाय भएको तर सतर्कतालाई दिन नसकिने तर्क राखे। उनको अडान थियो, 'सतर्कताका सचिवले आएर यो विषय मलाई दिनुपर्‍यो भन्नुभयो। त्यसैले पनि यो हुँदैन।'

सांसद खतिवडाले आफूसँग सतर्कताका सचिव ठाकुरले गरेको आग्रह समितिमै छरपस्ट पारे। उनले 'लबिङ' गरिएको भन्दै कुनै पनि हालतमा सतर्कतालाई नदिन अड्डी लिए।

उनले समितिका सचिव सुरेन्द्र अर्याललाई निर्णयमा सतर्कता लेख्नबाट रोके। लगत्तै समितिका सभापति उपाध्याय भाषा मिलाउने भन्दै सतर्कतालाई छानविनको जिम्मा दिने निर्णयबाट पछाडि हटे।

एनसेलको खरिद बिक्रीमा विगतमा पनि पुँजीगत लाभकर छलिएको विषय संसदको लेखा समितिमा उठ्ने गरेको छ। सांसदहरुले विगतमा पनि किनबेचको कारोबार हुँदा लाभकर नतिराएको विषयमा चासो देखाउँदै आएका छन्।

प्रधानमन्त्री दाहालले पनि आइतबार विगतमा १२ पटक कारोबार भएको उदाहरण दिँदै 'विगतका दोषी' पत्ता लगाउन सरकार लागिरहेको बताएका छन्।

ठाकुरले किन सतर्कता केन्द्रमा विषय लैजान खोजे भन्ने प्रस्ट नभए पनि सांसदहरुले भने उनले 'चलखेल' गर्न खोजेको रुपमा अर्थ्याएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell