PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

कसले चलाउँछ हेलो सरकारको ट्विटर?



स्वेच्छा राउत

कसले चलाउँछ हेलो सरकारको ट्विटर?

काठमाडौँ : गत चैत ९ गते माइक्रो ब्लगिङ साइट ट्विटरमा नेपाली जेन्टलम्यान नामक ट्विटर ह्यान्डलबाट ट्विट आयो- 'सोह्रखुट्टे, नयाँबजार, बालाजु सडक अझै भत्काएको रहेनछ, सरकारको आँखा नपुगेको कि डोजर नपुगेको? धुलो नउडेर हिँड्न असजिलो भो।' 

मेलम्ची खानेपानी आयोजना निर्माणका लागि राजधानीका अधिकांश सडक यति बेला भत्किएका छन्। ट्विटरमा सडक नभत्किएकोमा आश्चर्य सहितको व्यंग्य आएपछि प्रधानमन्त्री कार्यालयमा रहेका हेल्लो सरकारका कर्मचारीमाझ हाँसो फैलियो। धुले र हिले सडकबारे दर्जनौँ गुनासो प्राप्त गरिएको भन्दा ठिक उल्टो धारणा ट्विटरमा उनीहरुले देखेका थिए। जसमा 'सरकार'लाई सम्बोधन गरिएको थियो। 

हेलो सरकारले त्यो ट्विटमा 'इन्टरफेयर' गर्दै रिप्लाई दियो- 'तपाईंको गुनासो भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाइएको छ। ५०१४३' 


हेलो सरकारको आधिकारिक ह्यान्डलबाट आएको सो जवाफलाई धेरैले गैरजिम्मेवार भएको टिप्पणी गरे। सडक भत्काउनको लागि चलानी काट्यो भनेर व्यङ्ग्य पनि गरे। 

किन काट्यो त सो ट्विटमा हेलो सरकारले चलानी? 

हेलो सरकारको स्थापनादेखि नै सो शाखामा रहेका अधिकृत हरिभक्त महतरा कारण खुलाउनुअघि हाँसे। अनि जवाफ दिए, 'वी इन्जोय इट।'

लगत्तै महतराले हेलो सरकारले रिप्लाई गर्नु र चलानी काट्नुको कारण पनि खुलाए।

दुई वर्षअघिको कुरा हो, काठमाडौंको सोह्रखुट्टेदेखि बालाजुसम्मको सडक अस्तव्यस्त थियो। ढल जडानका लागि खनेको सडक बीचमा खाल्डो र वरिपरि माटोको थुप्रो। पानी नपर्दै धुलो उड्ने समस्या, पानी परेपछि हिलो र चिप्लो। 


प्रधानमन्त्री कार्यलयको 'हेलो सरकार' शाखामा सोह्रखुट्टे बालाजु सडकमा लडेको, चिप्लेको, धुलो भएको भन्दै प्रत्येक दिन गुनासो आउँथ्यो। कतिपयले फोटो सहित बाटो बनाउन माग गर्थे। 'त्यो सडकको धुलो, हिलो र अस्तव्यस्तता बारे मात्र हामीले दैनिक २० देखि ३० को दरमा दुई हजार गुनासो दर्ता गर्यौं। मैले सोह्रखुट्टे पुगेरै सडकको अवस्था बारे स्थलगत अवलोकन गरेँ। बाटो बनाउनका लागि कयौँ पटक चलानी काटियो।' 

ढिलोचाँडो सडक बन्यो। पिच भयो र त्यो सडकका कारण ठमेलदेखि हुने जाम, दुर्घटना लगायतको समस्या कम भयो। गुनासोहरु आउन छाडे। 

तर त्यो ट्विटले हामीलाई 'इन्जोय' गरायो। 

महतरा भन्छन्, 'एउटै सडक र विषयमाथि कस्ताकस्ता गुनासा हामी कहाँ आउँछन् भन्नेबारे सम्बन्धित मन्त्रालय र आम मान्छेलाई पनि बुझाउन त्यो गुनासोका लागि चलानी काट्यौं।' 


...
हेलो सरकारको चलानी काट्ने प्रक्रियालाई मान्छेले धेरैले सहज मानेका छन्। अनि कार्यान्वयनमा प्रश्न उठाउने गरेका छन्। 

तर हेलो सरकारको ट्विटर चलाउने मध्येका एक महतरा चलानीको महत्व धेरैले बुझ्न नसकेको गुनासो गर्छन्। 

'चलानी काट्ने भनेको जोक गरेको जस्तो भएको छ तर यो सिरियस कुरा हो। हामीले त गुनासोकर्ता र सम्बन्धित निकायबीचको भूमिका खेल्ने हो। हामीले उपलब्ध गराएको जानकारी, सम्पर्क नम्बरको कसले कसरी प्रयोग गर्छ भन्ने हो।' 

उनी चलानीको महत्वबारे प्रस्ट्याउन उदाहरण अगाडि सार्छन्। 

सोलुखुम्बुकी इन्दिरा निरौलाले रामेछापका एक युवकसँग विवाह गरिन्। लगत्तै उनी पढ्नका लागि विदेश गइन्। फर्कदाँ श्रीमानको अर्कै युवतीसँग विवाह भइसकेको थियो। श्रीमान् विरुद्ध बहुविवाहको उजुरी गर्न इन्दिरा प्रहरीदेखि प्रशासन कार्यालयसम्म धाइन्। तर उनको उजुरी दर्तै भएन।

अन्तत: उनी हेलो सरकार पुगिन्। हेलो सरकारले इन्दिराको श्रीमान् विरुद्ध गरिएको उजुरी सम्बोधन गर्ने प्रयास गर्‍यो। दुई वर्षदेखि उनको दर्ता नभएको उजुरी हेलो सरकारले एकैपटक चलानी काट्दा दर्ता भयो।

महतरा भन्छन्, 'चलानीको महत्व कति छ यसबाट थाहा हुन्छ।'


...
सेवाग्राहीले प्रत्यक्ष गुनासो गर्न सकून् भन्ने उदेश्यले २०६८ कात्तिक १७ गतेबाट  सञ्चालन भएको यो शाखा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सञ्चालन गरेको हो। आएका गुनासोहरु पहिले प्रधानमन्त्रीले सिधै सम्बोधन गरे पनि अहिले हेलो सरकारमा आएका गुनासा र समस्याहरुको सम्बोधन ब्युरोक्रेसी मार्फत हुने गरेको छ। 

हेलो सरकारको नेतृत्व गरिरहेका शाखाका उपसचिव प्रद्युम्न उपाध्याय भन्छन्, 'हामीले गुनासोहरुको सम्बोधन गर्ने प्रतिबद्धता लिएका हौं। हामीले जनताको समस्या र ती समस्या सम्बोधन गर्ने निकायलाई जोड्ने जिम्मा लिएका छौं। जनताले यो बुझ्न आवश्यक छ कि हामी सरकारी निकायको शाखा हौं तर सरकार हैनौं।'

ट्विटर र फेसबुकबाट गुनासो गर्ने र चलानी काट्ने प्रक्रिया सहज बनाएकै कारण सामाजिक सञ्जाल प्रयोगकर्ताले यसलाई महत्वपूर्ण ठानेका छैनन् भन्ने उनको पनि बुझाइ छ। 


हेलो सरकारमा अहिले १६ जनाको टिम कार्यरत छ। उपाध्यायको नेतृत्वमा चलिरहेको शाखामा ६ जनाले सिफ्ट अनुसार सामाजिक सञ्जाल  फेसबुक र ट्विटर चलाउँछन्। 

उपाध्याय आफैँ पनि हेलो सरकारको ट्विटर चलाउँछन्। 'राति कसैले महत्वपूर्ण गुनासो गरेको छ कि भनेर पनि खोल्छौँ', उनी भन्छन्।  

हेलो सरकारमा बिहान ७ बजेदेखि दुई बजेसम्म पहिलो सिफ्टले सक्रिय रहेर काम गर्छ। अनि दोस्रो सिफ्टका कर्मचारीले दिउँसो दुई बजेदेखि राति नौ बजेसम्म काम गर्छन्। 

१६ जनामध्ये अन्य कर्मचारी फोनका गुनासो टिप्ने, सिधा गुनासोको समाधानमा पहल गर्नेदेखि पत्र काट्ने कार्यमा खटिन्छन्। 

'केही अनावश्यक गुनासा आउँछन्, केही समाधान हुन नसक्ने समस्या आउँछन्, केही सम्बोधन र समाधान पनि हुन्छन्। सम्बोधन भएका गुनासा र निकायहरुको जवाफ हेलो सरकारले फेसबुक पेजमा राख्ने गरेको छ। गुनासो समाधान भएका घटनाहरुमा हेलो सरकारले सकरात्मक प्रतिक्रिया पाएको पनि छ', उपाध्याय खुसी हुँदै सुनाउँछन्। 

रिपोर्टिङका लागि पहिलोपोस्ट टिम हेलो सरकारमा पुग्दा शाखा अधिकृत सीता ढकाल ट्विटरको डाइरेक्ट म्यासेजमा रिप्लाई गर्दै थिइन्। उनी पनि हेलो सरकारको ट्विटर र फेसबुक चलाउने मध्ये एक हुन्। 

हेलो सरकारले गरेको राम्रो कामको उदाहरण दिन सीता पनि चुकिनन्। हेलो सरकारको पहलमा समस्या समाधान भएको आफूलाई व्यक्तिगत फोनमा आएको धन्यवाद म्यासेज देख्दा सीता खुसी लाग्ने बताउँछिन्।


...
अनावश्यक गुनासा र व्यङ्ग्यहरु आउनु हेलो सरकार कक्षका कसैको लागि नौलो कुरा होइन। 'फेसबुकमा आवश्यक गुनासा आउँथे तर धेरै लामो हुने। त्यसैले जनता र हामी दुवै पक्षलाई सहज होस् भन्ने हेतुले ट्विटरमा आएका हौं', हेलो सरकारले ट्विटर खोल्नुको कारण प्रस्ट पार्दै महतराले भने, 'तर ट्विटरमा त आक्रोश पोख्ने र व्यङ्ग्य गर्ने धेरै भए।' 

हेलो सरकारले ट्विटरमार्फत गुनासो सुन्न र सम्बोधन गर्न थालेको एक वर्ष चार महिना भयो। ट्विटरले गर्दा हेलो सरकार छ भन्ने बारे धेरै मानिसले थाहा पाएको बुझाइ छ। 


'हामीलाई पनि ट्विटर चलाउनु च्यालेन्ज थियो। डर पनि लाग्यो', महतरा भन्छन्। सामाजिक सञ्जालले हेलो सरकारलाई बाहिर त देखायो तर हेलो सरकारको ह्यान्डलमा आउने मेन्सन देख्दा जनताले हेलो सरकारको जिम्मेवारी र कामलाई जिस्किएर लिएको प्रस्ट हुन्छ।

उपसचिव उपाध्याय भन्छन्, 'सुरुवातमा त हाम्रो ब्लड प्रेसर बढ्ने अवस्था आयो। व्यक्तिगत जीवनमा समेत समस्या देखिन लाग्यो। तर हामीले एक अर्कालाई यहाँका गुनासा र समस्या टाउकोमा बोकेर घर  नजाने भनेर ढाडस दियौँ।'

हेलो सरकारले व्यक्तिगतदेखि नीतिगत सुधारका विषयमा पहल लिएको भए पनि समस्या समाधान भएको सबै प्रत्यक्ष नदेखिएको उनी बताउँछन्।

काठमाडौंलाई हर्न निषेधित क्षेत्र बनाउने गरी भइरहेको नीतिगत सुधारको प्रयासलाई उदाहरणको रुपमा प्रस्तुत गर्दै महतरा भन्छन्, 'हामीले हेलो सरकारबाट हर्नका विषयमा कति धेरै चलानी काटेका छौँ। सुधार भनेको समयक्रममा हुने कुरा हो। देखिन पनि सक्छ नदेखिन पनि।'

...

निश्चित कानुनी निर्देशिका र दायराभित्र चलेको प्रधानमन्त्री कार्यालयको निकायलाई गैरजिम्मेवार जवाफ दिन्छ भन्ने आरोप छ नि?
 
प्रश्न सोध्न नभ्याउँदै उपसचिव उपाध्याय भन्छन्, 'हामी अपजस सहन्छौं। हामी गाली पनि स्वीकार्छौं, आपत्ति रहँदैन। अपशब्द र अनावश्यक गुनासो सबै पढ्छौं। र साना साना गुनासाकर्तासँग अन्तरक्रिया गर्न खोज्छौ। हामी सरकार भनेको साथी हो भन्ने महसुस गराउन खोजिरहेका छौँ। त्यसैले यस्ता आरोप समान्य हुन्।' 

हेलो सरकारमा आउने गुनासाका सिजन छन्। निश्चित समयमा जुन विषय चर्चामा हुन्छ सोही विषय सम्बन्धी समस्याहरु सुनिन्छन्। महतराका अनुसार निर्वाचन आयोगअगाडि धर्ना बस्दा हिसिला यमीले 'यो देश खारेज गर' भन्दै नारा लगाएको विषयमा धेरै उजुरी आयो। यसका लागि पनि गृह मन्त्रालयलाई चलानी काटेको महतराले सुनाए। 



सिजन अनुसार रासायनिक मल पाइएन, सडक विस्तारले दु:ख दियो भन्ने बारे धेरै उजुरी आउँछन्। 'प्राय सार्वजनिक जग्गा, व्यवस्थापन, सामुदायीक वन र काठ तस्करी, सिँचाइका कुरा, बजेटका कुरा, बहुविवाह जस्ता गुनासा हेलो सरकारमा धेरै दर्ता हुन्छन्।'

हेलो सरकारका कार्यरत कर्मचारीहरु गुनासाका विषयलाई तत्काल समाधान गर्नेदेखि गालीलाई धैर्यसाथ सुन्छन्। 

'हेलो सरकारमा फोनको घण्टी बज्छ। कहिले गुनासाहरु सुन्नुपर्छ त कहिले शाखा वा अन्य निकायको कर्मचारीले फोन गर्छन्' अधिकृत सीता ढकाल सुनाउँछिन्,'कहिले फोन गरेर गीत गाइदिन्छन्, कहिले गाली गर्छन्। कहिले बोल्दै नबोली जिस्काउँछन्।' 

सरकारका अन्य मन्त्रालय र निकायमा भन्दा हेलो सरकार शाखामा आइटी फ्रेण्डली स्टाफ म्यानेज गर्ने प्रयास भएको उपसचिव उपाध्याय बताउँछन्। तर शाखामा आउन कर्मचारीहरु सकेसम्म चाहँदैनन्।

'कर्मचारीहरुको गुनासो छ, धेरै समय दिनुपर्छ, चाहेको समयमा निस्कन मिल्दैन, बिदाको दिनमा पनि सक्रिय रहनुपर्छ। त्यसैले कर्मचारीहरु यहाँ आउन मान्दैनन्,' उपाध्याय आफ्ना समस्या सुनाउँछन्, 'हामीले हेलो सरकारको पोर्टल अपडेट गर्न चाहिरहेका छौँ, तर भनेकै समयमा भइराखेको छैन।'


...
हेलो सरकारमा कार्यरतहरु समस्या र गुनासामा चलानी काटेपछि समाधान हुन्छ भन्नेमा ढुक्क छैनन्। तर आफूहरुले चाहेजस्तो समाधान नभएको चिन्ता उनीहरुलाई पनि छ। 

२०७३ पुस २१ गतेको हो। संगीता थेबेको लेखविरुद्ध चितवनका प्रनिश थापाले हेलो सरकारमा गुनासो गरे। 

थेबेको लेखमा बुद्ध उत्तरी भारतमा जन्मिएको उल्लेख गरिएको थियो। शुभारम्भ प्रकाशनले निकालेको कक्षा ९ को किताबमा भ्रम सिर्जना गर्ने जानकारी राखिएको र सो निबन्ध सच्याइपाऊँ भनी प्रनिशले उजुरी गरे। 

हेलो सरकारले गुनासो सम्बोधनका लागि शिक्षा मन्त्रालय र पाठ्यक्रम विकास केन्द्र भक्तपुरमा चलानी काट्यो। अनि संगीता थेबेले माफी मागिन्।


'तर हामीले सोचेको जस्तो भएन। हामीले प्रकाशकले बजारमा पठाएको पुस्तक फिर्ता गरोस् भन्ने चोहेका थियौं तर त्यस्तो हुन सकेन। अब सच्याउनेछौँ भन्ने प्रतिबद्धता मात्र व्यक्त भयो', महतरा भन्छन्, 'भने जस्तो समाधान होस् भन्ने हामीले पनि चाहेका हुन्छौँ।' 

आवश्यक, अनावश्यक गुनासा आउँछन्, गाली, गलौज, अपशब्द र आक्रोश हेलो सरकारविरुद्ध पोखिन्छन्। पाँच वर्षदेखि निरन्तर सक्रिय हेलो सरकारले प्रधानमन्त्री कार्यालयमा एउटा शाखाको रुप ग्रहण गरेको छ। 

'कैयौँ समस्याहरु समाधान भइरहेका छन्। भएका छन् र त मान्छे केही आस गर्छन्। आशा भएरै दैनिक गुनासाहरु रेकर्ड भएका छन्', उपाध्याय खुसी हुँदै भन्छन्। 

भारतले नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप गरेको आरोप लाग्ने गरेको छ। हेलो सरकारमा पनि यस्ता गुनासा आउने गरेको छ। हेलो सरकारमा पनि घमराज लुँइटेलले गुनासो गरे। 

हेलो सरकारले घमराज* लुँइटेलको गुनासोमा ४४१०४ नम्बरको चलानी काट्दै परराष्ट्रमा पठायो। चलानी काटेको विषय समाचार बन्यो।  

यस्ता समाचार बन्दा हेलो सरकारको पावरबारे जनतालाई पनि चित्त बुझ्छ। 'यसले हामीलाई फाइदै हुन्छ', कार्यरत कर्मचारीहरु खुसी हुन्छन्। 

तर हेलो सरकारमा जस्तै गुनासा इन्टरटेन गर्न अन्य संस्थालाई चुनौती छ।


...
हेलो सरकारको कन्सेप्ट फलो गरेर पाटन स्वाथ्य विज्ञान प्रतिष्ठानले 'हेलो स्वास्थ्य' चलायो। तर अनावश्यक जिज्ञासा र चलाउनका झन्झटले सुरु गरेको पाँच महिनापछि पत्रकार सम्मेलन गरेर र आफ्नो व्यथा देखाउँदै हेलो स्वास्थ्य बन्द भयो। 

महतरा भन्छन्, 'रिस्क धेरै छन् तर हामी सुरक्षित छौँ किनकि हामी जिम्मेवारीबाट पन्छिएका छैनौं।' 

आवश्यक लाग्ने हरेक गुनासो र समस्याहरु सम्बन्धित निकायमा पुर्‍याउन सके टिम मेन्टेन गर्नुको सार्थकता रहन्छ भन्ने विश्वासका साथ हेलो सकरार लागेको उपसचिव उपाध्याय बताउँछन्। 

उपाध्याय भन्छन्, 'गुनासाहरु आइरहनु नै ठूलो कुरा हो।' 


*सच्याईएको



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell