PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

चैत २७ को त्यो कहालीलाग्दो दिन : सहीद रत्नको २७ संयोग



चैत २७ को त्यो कहालीलाग्दो दिन : सहीद रत्नको २७ संयोग
सहिद रत्नको स्केच

  • सचित राई
थोरै समय बाँचेर देश र जनताका लागि धेरै योगदान गर्नेमध्ये पर्छन् रत्नकुमार बान्तवा। २७ वर्ष नपुग्दै विश्व परिस्थितिको विश्लेषण गरेर नेपालमा पञ्चायती एकदलीय व्यवस्थाविरुद्ध जनता जगाउन लागिपरेका उनी २००८ चैत २७ गते इलामको चमैता गाविसको चित्रेमा जन्मिएका थिए। २०३५ चैत २७ गते इलामको इभाङ गाविसमा रत्न २७ वर्षको उमेरमा प्रहरीबाट मारिए। यसरी रत्नको जीवनमा अंक २७ संयोग जस्तो बन्यो।
 
पारिवारिक तथा सामाजिक अनेक बाधासँग जुध्दै परिवर्तनको बाटोमा लागेकै बेला उनले सहादत प्राप्त गरे। जति बाँचे उक्त अवधिलाई उनले आफूभन्दा पनि समाज र राष्ट्रका लागि खर्चिए। उनका सिर्जनाहरूले पनि यस्तैयस्तै बोलेका छन्।

रत्नले लेखेको चिठीका आधारमा तयार पारिएको भनेर उनको जीवनीसम्बन्धी कृतिमा संग्रहित ‘राष्ट्रिय र अन्तर्राष्ट्रिय स्थितिबारे’ तथा ‘क्रान्तिकारीको निम्ति विवाहको सवाल’ विषयका दुई लेखको अध्ययन गर्दा उनले विश्व राजनीतिको व्याख्या गरी नेपालको तत्कालीन अवस्थाको परिवर्तनको बाटो देखाएको स्पष्ट हुन्छ। उनले ‘दुई अतिमहाशक्ति सोभियत सामाजिक साम्राज्यवाद र अमेरिकी साम्राज्यवादको विश्वप्रभुत्वका लागि अविच्छिन्न लुछाचुँडीले धर्ती मात्र होइन, अन्तरिक्ष समेत ढाकिसकेको’ उल्लेख गर्दै नेपालको प्रसंगमा भनेका छन्, ‘...फलस्वरूप वर्तमान नेपालको क्रान्तिको ठोस परिस्थितिमा मार्क्सवाद-लेनिनवाद-माओत्सेतुङ विचारधारालाई सही रूपले लागू गर्न र बन्धुपार्टीहरूका क्रान्तिकारी अनुभवहरूबाट सिर्जनात्मक रूपले सिक्दै झापाको संघर्षले सहीकार्यदिशाको जन्मदियो।’ त्यही कार्यदिशाका आधारमा अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी कोअर्डिनेसन कमिटी (मा.ले.) को जन्म भएको उनले उल्लेख गरेका छन्।

अन्तिम साक्षी सुशीला श्रेष्ठको ‘बयान’

पार्टीसँग मेरो सम्पर्क बढ्दै गयो। अशोक राई मेरो पहिलो पार्टी सम्पर्क व्यक्ति थिए। बिस्तारै अरूसँग पनि सम्पर्क बढ्दै गयो। विसं ०३५ मा पार्टीले मलाई ताप्लेजुङ पठायो। पढाइ छाडेर राजनीति गर्न म पूर्वतिर लागें। पार्टीले ४ बजे इटहरी सम्पर्कमा पुग्न भनेको थियो। गाडीका कारण दुई घन्टा ढिलाइ भयो। तब मैले पार्टीमा सम्पर्क गर्न सकिनँ। केही समय पार्टीबाट सम्पर्कविहीन बन्न पुगेँ। सञ्चार सुविधा केही थिएन। सुरक्षाको दृष्टिले सोधखोज गर्न गाह्रो थियो। म पार्टी सम्पर्क खोज्दै झापा पुगेँ। झापामा एक महिना बसेँ। पार्टीले मलाई झापाबाट इलाम पठायो। इलाम पुगेपछि रत्नकुमार बान्तवासँग भेट भयो। मैले करिब १०/१२दिन उहाँसँग बसेर काम गर्ने अवसर पाएँ।

इलामको इभाङ भन्ने गाउँमा हाम्रो सेल्टर थियो। म, रत्न लगायत केही साथी त्यहाँ बस्थ्यौं। सेल्टरमा पार्टीको दस्तावेज र केही हतियार थिए। म, रत्न र अर्को एक जना साथी ताप्लेजुङको पार्टी कामका लागि चैत २७ गते बिहान झिसमिसेमै सेल्टरबाट बाटो लाग्यौं। सेल्टरबाट हिँडेको केही समयमा बस्ती सकिने बित्तिकै जंगलछेउ चारैतर्फ प्रहरीले हामीलाई घेरा हालिहाले। रत्न प्रहरीको नियन्त्रणमा परिहाल्नुभयो। सँगै गएका अर्को साथी (एमाले नेता तथा इलामका पूर्वजिविस उपाध्यक्ष जयप्रकाश राईका अनुसार राममाया राई। राममायाको भूमिगत नाम प्रभा थियो) भाग्नुभयो। रत्न प्रहरीको पञ्जाबाट फुत्कने प्रयास गर्दै हुनुहुन्थ्यो। मैले उहाँलाई फुत्कन सहयोग गरेँ। प्रहरीको हात फुस्काएँ। उहाँ केही पर पुग्नासाथ प्रहरीहरूले फायरिङ गरे। उहाँलाई गोली लाग्यो, भुइँमा ढल्नुभयो। प्रहरीले मलाई पनि बन्दुकको कुन्दा र लाठीले हाने। म पनि ढलेँ। मलाई सोझाएर हानेको गोली भने प्रहरीलाई लाग्यो। म होसमा आउँदा रत्नको मृत्यु भइसकेको थियो। म हात बाँधिएको अवस्थामा थिएँ, चुपचाप हेर्नु सिवाय केही विकल्प थिएन।

केही समय त्यहाँ राखेपछि रत्नको शव गाउँलेलाई बोकाई देउमाई खोलापार गरी मंगलबारे (जयप्रकाश राईको भनाइमा नेतृ सुशीला श्रेष्ठ गजुरमुखी कटेपछि आउने धुसेनी गाविसको बारुङ उकालोबाट भाग्न सफल भएकी थिइन्। इभाङ गाविसकै बासिन्दा राई रत्नकै हातबाट सदस्यता लिएर कम्युनिस्ट आन्दोलनमा होमिएका हुन्। केही दिनपछि सुशीलालाई रातारात भगाउँदा आफू गिरफ्तारीमा परेको उनी सुनाउँछन्) पुर्या ए। त्यहाँ एउटा घरमा पुगेर प्रहरीहरू खाना खान लागे। मलाई लाग्छ, त्यो उति बेलाका वडाअध्यक्षको घर थियो। रत्नको पार्थिव शरीर केही पर राखेर प्रहरीहरू खानपिनमा लागे। उनीहरूले जाँड ल्याएर मलाई पनि खान भन्दै थिए। रत्नलाई मारिएको ठाउँबाट करिब सात घन्टा हिँडेर हामी त्यहाँ पुगेका थियौं। बाटोमा मलाई प्रहरीहरू अनेक प्रश्न सोध्थे– कहिले फकाउँदै त कहिले तर्साउँदै। म चुपचाप उनीहरूको प्रश्न सुनिरहन्थेँ। सात घन्टामा मैले उनीहरूसँग एक शब्द पनि बोलिनँ।

मलाई प्रहरीले प्रश्न तेर्साइरहन्थे– ‘कसकी छोरी हो, कोको छन् तिम्रा नेता, उनीहरू कहाँ बस्छन्? तिमी कहाँबाट आयौ? यस्तो उमेरमा किन यसरी हिँडेको?’ म सुनेको नसुन्यै गर्थें। फेरि धम्क्याउँथे– ‘यसलाई कसरी बोलाउनुपर्छ हामीलाई थाहा छ! चौकीमा लगेर सिस्नोपानी लगाएपछि सबै भन्छे।’ 

उनीहरूले जति धम्क्याए पनि मलाई मृत्युसँग रत्तिभर डर थिएन। केवल डर थियो त आन्दोलनमा क्षति पुग्ला भन्ने।

प्रहरीसँग हिँडिरहँदा कसरी भाग्ने भनेर सोचिरहेको थिएँ। मौकाको पर्खाइमा थिएँ। जब उनीहरू खानपिनमा लागे तब म यसो खोल्सातिर लागें। एउटा प्रहरीले अर्कोलाई भन्यो, ‘यसलाई बाहिर जानुपरेजस्तो छ। जान दे।’ म पर गएँ। मेरो पछिपछि एउटा प्रहरी आउँदै थियो। मैले भनेँ, ‘जनताले तिमारुलाई कुकुर भन्थे, साँच्चै कुकुर हौ? दिसा त कुकुरले खान्छ, तिमीहरू पनि खान्छौ?’ ऊ हच्कियो। म त्यही मौकाको फाइदा उठाउँदै खोल्सैखोल्सा भागेँ। प्रहरी ‘भागीभागी’ भन्दै कराउन थाल्यो। एकै छिनमा फायरिङ सुरु भयो। म खोल्साको तल ढुंगाको आड लागेर बसेँ। जताजता आवाज आउँथ्यो म त्यतै ढुंगामा आड लाग्थेँ। माथिबाट प्रहरीहरू भन्दै थिए– ‘मृगजस्तै कति छिटो भागी। कता गइहोली?’ केही समयपछि आवाज बन्द भयो। तर, चटट गर्दै अर्कै आवाज पो आयो। माथि हेरेको त जंगलमा चारैतिर आगोको राँको छ। भाग्ने ठाउँ कतै छैन। प्रहरीहरू भन्दै थिए, ‘अब यही जंगलमा डढी मर्छे। भोलि लास खोज्न जानुपर्छ।’

डढेर मर्नुभन्दा भाग्नु बेस ठानेँ। केही तल पानी थियो। पानीछेउ जाँदा आगोबाट बच्न पनि सकिन्छ भनेर तलतिर झरा। तल पनि प्रहरीको आदेशमा गाउँलेहरू ठाउँठाउँमा आगो झोस्दै थिए। उनीहरूले मलाई देखेनन् वा नदेखेजस्तो गरे, म उनीहरूको आँखा छलेर आगोबाट उम्केँ। गाउँ छिर्ने अवस्था थिएन। डढेलो लागेको जंगलको खोल्सापारिको जंगलमा गएर बसेँ। साँझ पर्यो । कता जाने भनेर अन्योलमा परेँ। शरीरभर चोट लागेकाले म रगताम्य थिएँ। जंगलै जंगल भौंतारिएर चार रात बिताएँ। सोचेँ– यसरी भौंतारिनुभन्दा जे पर्ला गाउँतिर जान्छु। पाँचौं दिन बस्तीमा छिरेँ। तर, मलाई त्यो गाउँबारे केही थाहा थिएन।

एक महिलालाई इभाङ जाने बाटो सोधेँ। उनैले देखाएको लोकेसनका आधारमा म पुनः पार्टी सेल्टर पुगेँ। तर, मलाई धेरै खतरा थियो। प्रहरीले मेरो विद्यार्थी परिचयपत्रमा रहेको फोटो लगेका थिए। सबैतिर मेरो फोटो सार्वजनिक भएको थियो। सेल्टर भएको घरको कमरेडले मलाई त्यहाँ बस्न नहुने भन्दै जंगलमा लगेर राखे। राति तिनै कमरेडले पार्टी सम्पर्कमा पुर्‍याए।
(लेखक तथा पत्रकार सचित राईको खोजअनुसन्धानमूलक कृति ‘माङखिम’मा संगृहीत 'त्यस बेलाका रत्न' लेखको सम्पादित अंश। सहिद रत्नको ३८औं स्मृति दिवसको सन्दर्भ पारेर लेखकको अनुमतिमा यो लेख साभार गरिएको हो। यहाँ प्रकाशन गर्दा शीर्षक भने परिवर्तन गरिएको छ।)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell