PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

त्यस्ता आरोप लागेका महिलालाई क्षमा दिएको छु : उपन्यासकार सिंघक



पहिलोपोस्ट

त्यस्ता आरोप लागेका महिलालाई क्षमा दिएको छु : उपन्यासकार सिंघक

रेमिट्यान्सको प्रभावबाट निम्तिएको आर्थिक-सामाजिक बदलाव र जीवन मनोदशाको शब्दचित्रको रुपमा ‘रेमिटल्याण्ड’ आएको छ। यो उपन्यास वैदेशिक रोजगारीमा जानेहरुको कथामात्र होइन परदेशिएकाहरुको वियोगमा छटपटाउने आफ्नाहरुको अन्तरकथा पनि हो। उपन्यासको विषय, नेपाली समाजमा रेमिट्यान्सको सकारात्मक/नकारात्मक पाटो र नेपाली साहित्यमा वैदेशिक रोजगारको उपस्थितिबारे उपन्यासकार श्याम सिंघकसँग फणीन्द्र संगमले गरेको छोटो वार्ता :

पछिल्लो समय वैदेशिक रोजगार र रेमिट्यान्सबारे साहित्यमा पनि चर्चा हुन थालेको छ। तपाईंले किन यही विषय नै रोज्नुभयो?
अहिले पनि विदेश जाने युवाहरुको लर्को एयरपोर्टमा घटेको छैन। परिवारको खुसी र सुखद भविष्यको कल्पनामा उनीहरु देश छोड्न बाध्य छन्। देशको राजनीतिक अस्थिरताकै कारण निम्तिएको यो तितो सत्य हो। अहिले घर-समाजमा रेमिट्यान्सका कारण राम्रा काम पनि भएका छन् कतिपय ठाउँमा परिवार दुर्घटिन बन्न पुगेका उदाहरण समेत छन्। यही जल्दोबल्दो विषय समातेर त्यसको अन्तर्यसम्म पुगौँ भनेर मैले उपन्यास लेखेँ।

आख्यान होस् या गैरआख्यान रेमिट्यान्सको सन्दर्भ त उठेकै छन् नि। रेमिटल्याण्डले उठाउन खोजेको फरक मुद्दा के त?
यसअघि मैले पढ्दै आएका साहित्यमा उता वैदेशिक रोजगारको विलाप र यता पारिवारिक छटपटी मात्रै पाएँ। रेमिट्यान्सलाई परिवारले दुरुपयोग गरेको, नेपालमा हुने श्रीमतीहरु परपुरुषसँग सल्किएको, चर्तिकलामा लिप्त भएको जस्ता नेगेटिभ कुरा मात्र लेखियो। त्यसरी सबैलाई एउटै तुलोमा जोख्न मिल्दैन। सबैतिर नकारात्मक पक्ष मात्र छैन। रेमिट्यान्सले देशको अर्थतन्त्रमा यत्रो टेवा पुर्‍याइरहेको छ भने परिवारमा त सहजै त्यसको प्रभाव देखिएकै छ नि। मैले ती नकारात्मक पक्षभन्दा पनि यसले पुर्‍याएको योगदान र बाध्यतालाई देखाउने कोसिस गरेको छु।

यसअघिका साहित्यमा समाजमा विद्रुप दृश्य मात्र देखाउन खोजियो। सन्तुतिल मनोविज्ञान पाइएन। श्रीमान्-श्रीमती टाढिँदा कसरी यहाँ बस्नेले धैर्य कायम राखिराखे। त्यो अवस्थामा कस्ता मानसिक र भौतिक-जैविक प्रताडना सहनुपर्‍यो भनेर भित्री कुरा लखेको पाइएन। मैले त्यो अन्तरकथा पनि खोजेको छु। फरक यसकारण छ।

उपन्यास लेखिरहँदा नेपाली समाजमा रेमिट्यान्सले निम्त्याएको असल र खराब पक्षलाई कसरी पर्गेल्नुभयो?
सामाजिक जीवनमा वैदेशिक रोजगारबाट कमाएको पैसाले प्रभाव त पर्छ नै। गाउँलेको आर्थिक अवस्था सुध्रियो। घरव्यवहार चलाउन सहज भयो। भौतिक सरसुविधा भोग्ने मौका मिल्यो। हातहातमा महँगा मोबाइल हुन थाले, गाउँमा पुगेका सडकमा धुलो उडाउँदै बाइक हुइँकिन थाले। सामान्य अवस्थाका मान्छेको लवाइखवाइ बदलियो। यस्ता अनगिन्ती राम्रा पक्ष छन्। तथापि खेतीपाती गर्नेहरुको संख्या दिनदिनै घट्दो छ। वैदेशिक रोजगारकै कारण परिवारमा बेमेल पनि देखिएका छन्। युवाहरुमा मेहनत नगर्ने प्रवृत्ति देखा पर्‍यो। आफ्नै ठाउँमा काम गर्नेभन्दा पनि उनीहरुको प्राथमिकता मोजमस्तीमा देखियो।

मेरो विचारमा वैदेशिक रोजगारले ८० प्रतिशत राम्रो गरिरहेको भने २० प्रतिशत यसमा नराम्रा पाटा होलान्।

श्रीमान् श्रीमतीमध्ये कोही एक जना विदेश जाँदा यता रहनेहरु 'जैविक आवश्यकता'मा लागेका घटना नसुनिएका होइनन्। श्रीमतीहरु अरुसँगै हिँडेका हुन् या श्रीमानले अर्कैकी स्वास्नी टप्काएको होस्, समाचार तपाईंले पनि पढ्नुभएको होला। हाम्रो समाजका लागि रेमिट्यान्स 'स्लो पोइजन' बन्दै गएको त होइन?
सही प्रश्न उठाउनुभयो। तर म यसमा पटक्कै सहमत छैन। मानिसलाई आर्थिक-भौतिक सुविधाको आवश्यकता हुन्छ नै। सँगै शारीरिक आवश्यकतालाई पनि त मार्न सकिन्न नि। त्यसो हुनु आफैँमा अपराध होइन तर कसरी त्यसलाई लिने सो व्यक्तिमा भर पर्छ।

यदि श्रीमान् वर्षौंदेखि विदेशमा छ भने यता श्रीमतीले कसैसँग प्रेम गरेकै कारण र शारीरिक सम्बन्ध राखेकै कारण परिवार टुक्रेको मैले पनि देखेको छु। तर के कसैलाई प्रेम गर्नु गल्ती हो र? प्रेमसँगै यौन इच्छा भयो भने त्यसलाई दबाएर राख्न त सकिन्न। यौन मनोवैज्ञानिकहरुले पनि यही भन्दै आएका छन्। त्यही विषयलाई उठाएर 'बूढा विदेश पठाएर त्यो त बिग्रिछे' भनेर कसैलाई लाञ्छना लगाउनु गलत हो। प्रेम गर्नु  पाप त होइन। बरु मैले यो उपन्यासमा त्यस्ता आरोप लागेका महिलाहरुलाई उपन्यासमार्फत क्षमा पो दिएको छु।

रेमिट्यान्सको समाज प्रभावलाई नियाल्नु त भयो। श्रीमती बाहिर हुँदा आफ्नो एक्लोपन र त्यो अभावको अवस्था तपाई‌ंले कसरी भोगिरहनुभएको छ?
श्रीमती विदेश थिइनन् भने अहिले जस्तो आर्थिक आवश्यकता मेरो पूरा हुने थिएन। तर गरिबीको चोट बडो डरलाग्दो हुँदो रहेछ। उसकै कमाइले घर परिवारमा भरथेग भएको छ र लेखपढमा पनि समय निकाल्न सक्ने भएको छु।

यसकारण पनि  म वैदशिक रोजगारलाई नराम्रो मान्दिनँ।

सात समुद्रवारि र पारि हुँदाको वियोगपीडा त सबैलाई हुँदो रहेछ। पारिवारिक दुरी बढेको छ। साथमा नहुँदाको अन्तरपीडा मलाई मात्र होइन सबैलाई हुने साझा पीडा हो। तर आपसी विश्वास र समझदारी अनि परिवारको दायित्व त भुल्नु भएन नि।

आफू वैदेशिक रोजगारमा जानुभएन तर त्यही विषय उठाएर किताब लेख्नुभयो। पाठकले विश्वसनीय मानेर पढ्ने आधार के?
म विदेश नगए पनि समाजमा यसको प्रभावबारे पहिलेदेखि नै अध्ययन गरिरहेको थिएँ। विदेशमा रहेका साथीभाइसँग निरन्तर सम्पर्कमै थिएँ। यसले गर्दा पनि उताको परिवेश बुझ्न मलाई सजिलो भयो।

म २०६७ सालतिर झापाको दुधे बस्थेँ। शैक्षिक रुपमा कमजोर ठाउँ थियो त्यो। तर वैदेशिक रोजगारमा घरैपिच्छेका मान्छे बाहिरिएका थिए। त्यहाँ दुई वर्ष बस्दा वैदेशिक रोजगारको सकारात्मक र नकारात्मक प्रभाव कस्तो पर्दो रहेछ भनेर प्रत्यक्ष हेर्न पाएँ।

सतासीधाममा एउटा साथी छ मेरो। ऊ ८/९ वर्ष वैदेशिक रोजगारमा थियो। फर्केर आउँदा श्रीमती अर्कैसँग गइसकेकी थिइन्। तर उसको सबै जग्गा श्रीमतीकै नाममा छ। उसको घरमा अहिले पनि श्रीमतीसँगको फोटो सुन्दर फ्रेममा सजाएर राखेको छ। उसले रोपेका फूलहरु स्याहार गरिरहेको छ। यसलाई कस्तो प्रेमको परिधिमा राख्ने?

यही घटनाले पनि मलाई घच्घच्याएको हो। अनि उपन्यास लेख्न थालेँ।

मेरी श्रीमती पनि अहिले वैदेशिक रोजगारका लागि इजरायल छिन्। उनीसँगको निरन्तरको कुराकानीले पनि मलाई वैदेशिक रोजगारका सुखदु:ख बुझ्न सजिलो भयो। मैले लगातार तीन वर्ष किताबमा काम गरेको छु। यौन मनोविज्ञान लेख्न फ्रायडका पुस्तकहरु पढेँ। उपन्यासमा प्रयुक्त स्थानीय परिवेशलाई अझ विश्वसनीय बनाउँन ती ठाउँहरुमा आफैँ घुमेको छु। र, पाठकहरुलाई आफ्नै गाउँ समाजको कथाझैँ लाग्ने गरी मेहनत गरेको छु।

उपन्यास 'रेमिटल्याण्ड' पाठकले किन पढ्ने?
मैले अघि पनि भनेँ। रेमिट्यान्सले घर भाँड्न थाल्यो है भन्ने खालका सतही कुरा मात्र लेखिँदै आइयो। समाज र परिवार विखण्डित बनाएका सन्दर्भलाई मात्रै लेखनको केन्द्रमा राखियो। तर विदेश जानु हामीजस्ता युवाको लागि किन बाध्यता बन्यो? यसबारे बहस नै हुन सकेन।

अनि विदेश गए पनि यहाँ ती युवाका श्रीमतीले घर चलाएको, छोराछोरी पढाएको र श्रीमानको अभावमा पनि जीवनको गतिलाई निरन्तर बढाइरहेको सहानुभूति खोइ लेखिएको?

मैले उपन्यासमा रेमिट्यान्सको देखिने पाटो मात्र नभई समाजमा पारेको भित्री असर खोतलेको छु। समाज मनोविज्ञान मात्र होइन। श्रीमानको वियोगमा छटपटिएका श्रीमतीको यौन मनोविज्ञान कस्तो हुन्छ भनेर मिहिन ढंगले केलाएको छु। एक खालको नयाँ बहस उपन्यासले सिर्जना गर्छ भन्ने मेरो अपेक्षा पनि हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell