PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

मुग्लिन-नारायणगढ सडकको प्रभाव : सौराहा र मेघौलीका होटल संकटमा, विकल्प खोज्दै व्यवसायी



उमेश पौडेल

मुग्लिन-नारायणगढ सडकको प्रभाव : सौराहा र मेघौलीका होटल संकटमा, विकल्प खोज्दै व्यवसायी

काठमाडौं : चितवन राष्ट्रिय निकुञ्जमा आश्रित भएर सौराहा र मेघौली क्षेत्रमा स्थापना भएको होटल संकटमा परेका छन्।

त्यहाँ जाने मुख्य राजमार्ग मुग्लिन-नारायणगढ सडक विगत दुर्इ वर्षदेखि निर्माणाधीन अवस्थामा रहँदा त्यसको प्रभाव होटलमा देखिएको हो।यो सडक निर्माण फास्ट ट्रयाकमा नहुँदा पर्यटक जान सकेका छैनन्।

सौराहा र मेघौलीमा होटल क्षेत्रमा अर्बौको लगानी भएका छन्। विश्वबाट आएका र आन्तरिक पर्यटक सफारी टुरिजमका लागि जान चाहन्छन्।

‘एउटा सडक निर्माण हुन दुर्इ वर्ष लाग्छ अनि कसरी पर्यटक आउँछन्?’ क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेले भने, 'दैनिक ६ घण्टा बाटो बन्द हुन्छ। सडक खुलेको बेला पनि दुर्घटनाको जोखिम उतिकै छ ।यस्तो जोखिम मोलेर चितवनमा किन आउँछ?’


सरकारले ‘लाइफलाइन’को रुपमा रहेको सडकलार्इ समेत प्राथमिकतामा नराख्नु दुर्भाग्यपूर्ण भएको उनले बताए। सरकारले चितवन निकुञ्जभित्रका होटल हटाएपछि मेघौली क्षेत्रमा ठूलो लगानीमा होटल खुलेका छन्। चौधरी ग्रुपको मेघौली सेराई, बाराही होटल, गोलाघाट वाइल्ड लाइफ रिसोर्ट, होटल सारङा खुलेका छन्।

पश्चिम चितवन होटल व्यवसायी संघका अनुसार यहाँका होटलमा मात्र तीन अर्ब रुपैयाँ भन्दा बढी लगानी छ। मेघौलीमा एकैपटक पाँच सय पर्यटक राख्न सकिने अवस्था छ। २५० बेड क्षमताका ११ होटल सञ्चालनमा छन्। सौराहामा १ सय १० होटल छन्। सौराहामा तीन वर्षअघि सम्म अफसिजनमा समेत पर्यटकको कमी थिएन।

सौराहाले मात्रै दैनिक एक करोडको हाराहारीमा कारोबार हुने गर्थ्यो। अहिले पर्यटक नभएर कामदारलार्इ विदा गर्नुपर्ने अवस्था आइसकेको व्यवसायी बताउँछन्। भूकम्पका बेलामा आधा तलब दिएर कामदारलार्इ बिदा दिएका थिए। भूकम्पपछि सुधारको बाटोमा रहेको सौराहाको पर्यटन सडककै कारण संकटमा परेको छ।

यी सबै लगानी पछिल्लो केही वर्षमा भएका हुन्। तर यो लगानीपछि मुग्लिन-नारायणगढ सडक निर्माण थालियो।यो सडक निर्माण नहुँदा पर्यटक आगमन घट्यो जसले ठूला लगानीका होटल समेत संकटमा परिसकेका छन्।

चितवनमा पर्यटक जान सडक मात्रै होइन हवार्इमार्ग कनेक्टिभिटी छ तर फ्लाइट प्रर्याप्त छैन। अर्बौ लगानीका होटल संकटमा परेपछि सौराहाका होटल व्यवसायी विकल्प खोज्दै राजधानी आएका छन्। उनीहरुले आफ्नो छाता संगठन होटल संघ नेपाल (हान) सँग सहयोग मागेका छन्।

संघका पूर्वअध्यक्ष ज्ञानेन्द्र कुमार विष्टले सडक सञ्जालमार्फत यात्रा गर्न असहज भएकै कारण चितवनको पर्यटनमा कमी आएकोले फ्लाइट बढाउन पहल हानसँग सहकार्य गर्ने बताए।

जहाज कम्पनीसँग सहकार्यको प्रस्ताव

संघले सडकमार्ग हुँदै पर्यटक भित्र्याउन समस्या भएको भन्दै हवाईमार्गवाट पर्यटक भित्र्याउने योजना बनाएको छ। हानका महासचिव विनायक शाहले चितवनको पर्यटन व्यवसायीलार्इ जोगाउन हवार्इ कम्पनीसँग छलफल गरिने बताए।

अहिले चितवनमा बुद्ध एयर, यती एयरलाइन्स र सिम्रिकले उडान भरिरहेका छन्। बुद्ध एयर, यती एयरलाइन्सको सेड्युल्ड उडान भए पनि कम छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell