PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

नेपाल–भारत सञ्चारकर्मी मैत्री सङ्घ स्थापना हुने



पहिलोपोस्ट

ललितपुर : नेपाल र भारतबीच जनस्तरमा रहेको सदियौँ पुरानो मैत्री सम्बन्धलाई अझ दरिलो बनाउन पत्रकार र आमसञ्चारको महत्वपूर्ण भूमिका रहेको तथ्यमाथि जोड दिँदै ‘भारत–नेपाल सम्बन्ध प्रवर्द्धनमा आम सञ्चारको भूमिका’ विषयक अन्तर्राष्ट्रिय गोष्ठी यहाँ आज समापन भएको छ।

भारतको मध्य प्रदेशमा रहेको माखनलाल चतुर्वेदी पत्रकारिता तथा सञ्चार राष्ट्रिय विश्वविद्यालयद्वारा आयोजना गरिएको सो दुइदिने गोष्ठीको समापनका अवसरमा नेपाल–भारत मैत्री सम्बन्धलाई उन्नत बनाउने तथा यस सम्बन्धमा रहेका गलत बुझाई वा अल्प बुझाइलाई हटाउने उद्देश्यले दुवै देशका पत्रकारको एउटा साझा मञ्चका रुपमा नेपाल–भारत सञ्चारकर्मी मैत्री सङ्घको स्थापना गर्ने घोषणा गरिएको छ।

गोष्ठीको समापन सत्रलाई सम्बोधन गर्दै विश्वविद्यालयका उपकुलपति प्राध्यापक विके कुठियालले सो घोषणा गरेका हुन्। साथै, उनले भारतीय र नेपाली सञ्चारमाध्यममा एकअर्को मुलुकका बारेमा कस्तो प्रकारका समाचार र विचार सम्प्रेषण हुँदा रहेछन् भन्ने जानकारी राख्न ती देशका सञ्चारमाध्यममा प्रकाशित र सम्प्रेषित सामग्रीको सँगालो आफ्नो विश्वविद्यालयले प्रकाशन गर्ने घोषणा गरे।

त्यसैगरी, उपकुलपति कुठियालले आफ्नो विश्वविद्यालयले नेपाल–भारत सहयोगसम्बन्धी र अन्य विविध विषयमा जानकारीमूलक वेबसाइट (प्रस्तावित नामः डब्लुडब्लुडब्लु डट नेपालभारतसहयोग डटकम ९धधध।लभउबदिजबचबतकबजबथयन।अयm० निर्माण गर्ने, नेपाली विद्यार्थीलाई उच्च शिक्षामा छात्रवृत्ति प्रदान गर्ने र कार्यरत पत्रकारका लागि तालिम सञ्चालन गर्ने घोषणा गरे।

उनले यी सबै क्रियाकलाप काठमाडौँ विश्वविद्यालयको सहयोग र सहकार्यमा हुने उल्लेख गरे। यस क्रममा विश्वविद्यालयले एकअर्का देशका पत्रकारबीच अध्ययन भ्रमण कार्यक्रमलाई पुनर्जीवित गर्न भारत सरकारसँग पहल गर्ने जानकारी पनि दिए।

गोष्ठीअन्तर्गत आजको प्राविधिक सत्रमा भारत–नेपाल सम्बन्धका सन्दर्भमा सञ्चार गतिशीलता तथा भारत र नेपालमा आमसञ्चार शिक्षाका क्षेत्रमा सहकार्यको सम्भावना विषयमा नेपाल र भारतका प्रबुद्ध पत्रकार, प्राध्यापक तथा अध्येताले चर्चा परिचर्चा गरेका थिए।

व्यवस्थापिका–संसद् अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति प्रभु शाहले नेपाल–भारत सम्बन्धको विकल्प यसलाई थप सुदृढ बनाउनु नै हो भन्दै दुवै देशका आमसञ्चार माध्यमले यो सम्बन्धलाई समानताका आधारमा परिपोषित गर्नमा सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गरे।

काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति एवम् शिक्षाविद् डा. सुरेशराज शर्माले नेपाल–भारत सम्बन्धमा ती मुलुकका जनताको भावनाको कदर हुनुपर्नेमा जोड दिँदै दुवै देशका विश्वविद्यालय तथा नागरिक एवम् सांस्कृतिक प्रतिष्ठानले त्यसतर्फ पहल गर्नुपर्छ भने।

सो अन्तर्राष्ट्रिय गोष्ठीमा काठमाडौँ विश्वविद्यालय, विपी कोइराला भारत–नेपाल फाउन्डेसन र मिडिया एक्सन नेपालको सहआयोजना रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell