PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

देउवाविरुद्ध आक्रोशित ओली, लगाए ५ आरोप



सविन ढकाल

देउवाविरुद्ध आक्रोशित ओली, लगाए ५ आरोप

काठमाडौं : सत्ता साझेदार दलहरु नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीचको भद्र सहमतिअनुसार आज सत्ताको साँचो साटफेर गर्ने तयारी थियो। प्रधानमन्त्रीबाट पुष्पकमल दाहालले राजिनामा दिने र शेरबहादुर देउवा प्रधानमन्त्रीका लागि सक्रिय हुने चर्चा चलिरहँदा सबैभन्दा बढी छटपटाहटमा थिए – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली। सत्ता छाड्ने र भद्र सहमतिलाई निरन्तरता दिने तयारीमा रहेका दाहाल र त्यही सहमतिको आडमा सत्तासिन हुने तयारीमा रहेका देउवा ओलीको निसानामा परे।

सत्ता साटफेरको यो सिलसिलाकै क्रममा नेकपा एमालेले अप्रत्यासित रुपमा पत्रकार सम्मेलन डाक्यो। पार्टी अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली बोल्न तयार भए। युवा नेता योगेश भट्टराई र ईश्वर पोखरेललाई दायाँबायाँ राखेर ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति देउवाविरुद्ध विष वमन गरे।

दाहालभन्दा बढी निसानामा परे – देउवा। उनीविरुद्ध कडा रुपमा उत्रिएका ओलीले – पार्टी फुटाउनेले ठूलो कुरा गर्ने? भन्दै प्रश्न गरे। ओलीले देउवाविरुद्ध यसो भनिरहँदा नेकपा एमाले विभाजनमा सक्रिय रहेका योगेश आफूसँगै छन् भन्ने उनले ख्यालसमेत राखेनन्।

योगेश प्रतिक्रियाविहीन थिए। देउवाविरुद्ध ओलीको कटाक्षले पार्टी फुटाएर माले हुँदै फेरि एमालेमै समाहित भएका योगेशलाई कति चोट पुग्यो उनैले बुझ्ने कुरा हो। तर, ओली देउवाविरुद्ध भने उत्रिन रोकिएनन्। उनले देउवाविरुद्ध गम्भीर आरोपको वर्षा गरे। उनका प्रमुख ५ आरोप यस्ता छन् :

१. एमाले अध्यक्ष ओलीले सभापति देउवालाई सत्ताको लागि जे पनि गर्ने सक्ने व्यक्तिको संज्ञा दिए। देउवाले प्रधानमन्त्रीलाई भेट्ने बित्तिकै कहिले सरकार छोड्ने भनेर पटकपटक 'थाल खाँउ कि भात खाँउ' झै बनाएको आरोप लगाए। भने, 'उहाँलाई त सरकार बाहेक केही ध्यानै छैन।'

२. अध्यक्ष ओलीले शेरबहादुर देउवालाई पहिलेदेखि नै लोकतन्त्र मन नपराउने व्यक्तिका रुपमा आरोप लगाए। उनले भने,  'शेरबहादुरजी नेपालमा लोकतन्त्र चलिरहँदा बेलायतका गल्लीहरुमा बरालिँदै हुनुहुन्थो।' देउवालाई पहिलेदेखि नै लोकतन्त्रमा रुची नभएको उनको आरोप थियो ।

३. बहुदल आएपछि शेरबहादुर देउवा गृहमन्त्री भएको प्रसंग जोड्दै उनले १ सय २२ जना मानिसलाई गोली हानेर मारेको आरोप लगाए । 'बच्चालाई घर भित्र पसेर गोली ठोकेर मार्दाखेरी  गोलीको आँखा हुँदैन भनेर जवाफ दिने?' उहाँलाई शान्तिपूर्ण आन्दोलन त देख्न हुँदै हुँदैन थियो। 

४. तत्कालीन राजा ज्ञानेन्द्रले कु गर्नुपछाडि ‌ओलीले देउवालाई नै दोषी ठहर्याेए। उनले भने, 'माघ १९ को घटना पनि देउवाले नै गर्दा भएको हो।'

५. नेपाली कांग्रेसलाई फुटाउने खेलमा समेत देउवा लागेको अध्यक्ष ओलीले स्मरण गराए। ओलीले देउवालाई व्यङ्ग्य गर्दै 'उहाँ त नेपाली कांग्रेसकै नेता हो। एउटा कांग्रेसलाई दुई बनाउने काम पनि गर्नुभयो।' 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell