PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

'घर फर्क' भन्दै पन्ध्रौं कृतिका साथ आए देवी क्षेत्री



पहिलोपोस्ट

'घर फर्क' भन्दै पन्ध्रौं कृतिका साथ आए देवी क्षेत्री

काठमाडौँ : डा. देवी क्षेत्री दुलालको १५औँ साहित्यिक कृति उपन्यास ‘घर फर्क’को  विमोचन गरिएको छ। राजधानीमा आइतबार आयोजित कार्यक्रममा वरिष्ठ कवि वैरागी काइँलाले कृतिको सार्वजनिकीरण गरे।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति समेत रहेका कवि वैरागी काइँलाले मोफसलमा बसेर नियमित उत्कृष्ट कृति सार्वजनिक गर्न सक्नु डा. दुलालको साहसिक कार्य भएको उल्लेख गरे। आफ्नो वंशकै थातथलोमा जन्मिएकादुलालले त्यहीँको सांस्कृतिक, सामाजिक र भौगोलिक यथार्थलाई आफ्ना रचनामा समाविष्ट गर्ने गरेको भन्दै उनले यो उपन्यासले पनि सोही क्षेत्रमा अहिलेको वैदेशिक रोजगारीले सिर्जना गरेको सामाजिक चलन र विचलनको उठान गरेको बताए।

कार्यक्रमका अर्का वक्ता प्रा.डा. गोविन्दराज भट्टराईले उपन्यास कृतिको सविस्तार व्याख्या गरेका थिए। उनले पूर्वी पहाडको सांस्कृतिक लेखनमा दुलालले सशक्त कलम चल्ने गरेको उल्लेख गर्दै वैदेशिक रोजगारीबाट समाजमा सिर्जित घटनाहरुको सूक्ष्म अध्ययनपछि कृति तयार भएको बताए। 'सामाजिक विसङ्गतिको जीवन्त रुप हेर्नको लागि यो उपन्यास एक अनमोल दस्तावेज हुनेछ,' उनले भने, ‘यो कृति डा. दुलालले परित्यक्त गाउँको मायाले लेखे, दिशाहीन युवाको मायाले लेखे। किनभने देवी तिनै गाउँको मायाले गाउँमै टाँसिएर बसेका छन्।’

प्रगतिशिल लेखक संघका महासचिव आरएम डङ्गोलले आफूले डा. दुलाललाई आजभन्दा १३ वर्ष अघि चिनेको स्मरण गर्दै यसअघि नाटककारको रुपमा बुझेको भए पनि उपन्यास लेखनमा पनि उत्तिकै दक्षता रहेको भनाइ राखे।

कार्यक्रमका सभापति तुलसी भट्टराईले वर्तमान समयको यथार्थ चित्रण गर्न कृति सफल रहेको बताउँदै वैदेशिक रोजगारीले पूर्वी नेपालको समाजमा पारेको असरलाई दस्तावेजीकरण गरेको उल्लेख गरे।

लेखक दुलालले उपन्यास कोरा काल्पनिक नरहेको सुनाउँदै ५ सय २२ वटा ‘केस’ अध्ययनबाट लेखेको जानकारी गराए।

'गाउँबाट सहर जाने, सानो सहरकाहरु ठूलो सहर जाने, ठूला सहरकाहरू संसारका ठूला सहर जाने अनि गाउँले युवाहरु विदेशमा गएर श्रम बेच्ने आजको आमप्रवृत्तिप्रति मेरो सरोकार हो,' उनले भने, 'यो विषयमा आज जे भइरहेको छ यो ठिक भएन भन्ने मेरो बुझाइ हो।'

पाँचथरमा जन्मिएर इलामलाई कर्मथलो बनाएका उनी पत्रकारिता क्षेत्रमा पनि आबद्ध छन्। उपन्यासलाई ब्रदर्स बुक्सले प्रकाशन गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell