PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

काठमाडौँको पहिलो मेयरको अनुभव : ‘काम गर्दा जेल जानुपर्‍यो’



पहिलोपोस्ट

काठमाडौँको पहिलो मेयरको अनुभव : ‘काम गर्दा जेल जानुपर्‍यो’

जनकमान श्रेष्ठ 

२००७ सालमा प्रजातन्त्र आएपछि २०१० भदौ १७ गते स्थानीय निकायको निर्वाचन भयो। जनताले आफ्ना जनप्रतिनिधि चुन्ने त्यो पहिलो अवसर पाएका थिए। म त्यतिबेला काठमाण्डौं नगरपालिका वडा नं २ बाट प्रत्यक्ष निर्वाचित भएको थिएँ। काठमाडौँमा  जम्मा १८ वटा मात्र वडा थिए। जसमध्ये ६ वटा वडामा कम्युनिष्ट पार्टि, ५ वडामा प्रजा परिषद्, ३ वडामा नेपाली काङ्ग्रेस, १ वडामा गोरखा परिषद् र ३ वडामा स्वतन्त्र उम्मेद्वार निर्वाचित भएका थिए। 

त्यति बेलाको निर्वाचन प्रणाली अनुसार निर्वाचित मध्येबाट नै एक नगर अध्यक्ष र एक उपाध्यक्ष बन्ने प्रावधान थियो। कम्युनिष्ट पार्टीले धेरै वडामा जितेका कारण म कम्युनिष्टका तर्फबाट निर्वाचित मेयर भएँ। उपाध्यक्षमा नेपाली काङ्ग्रेसबाट प्रयागराज सिंह सुवाल निर्वाचित भए। 


मेयर निर्वाचित भए पनि त्यति बेलासम्म कुनै संरचना थिएन। न त बजेट नै थियो। निर्वाचित भएपछि मैले नगरपालिकाको कार्य विभाजन चार तहमा गरेँ। जसमा गोश्वरा फाँट, विकास निर्माण फाँट, स्वास्थ्य फाँट, र सरसफाइ फाँट थियो। 

त्यतिबेला १८ वटा वडा भए पनि कार्यालय एउटै थियो। सबै काम एकै ठाउँबाट हुन्थ्यो। मैले नै पछि सबै वडा कार्यालयमा काम विभाजन गरेको थिएँ। 

भर्खर मात्र जितेको पदमा पुग्ने बित्तकै कर उठाउने व्यवस्था गर्न सजिलो  थिएन। बजेट नै नभएको नगरपालिकामा चलाउन सहज थिएन। नगरपालिकाका कर्मचारीहरुले भने सरकारबाटै तलब प्राप्त गर्थे। विकास र सुधारका योजना थिए। तर, काम गर्ने अवसर र बजेट थिएन। 


राजनीतिक बेइमानी व्याप्त थियो। खुट्टा तान्ने प्रबृतिले काम गर्ने राम्रो अवस्था थिएन। अझ हामी त कम्युनिष्ट थियौँ। हामीलाई हेर्ने नजर झन्नै राम्रो थिएन। 

वि‍. पि. कोइराला त्यति बेला कम्युनिष्टसँग हात मिलाउन समेत मान्दैनथे। किनकी उनी विश्व जगतमा नै मानिएका सोसलिष्ट नेता थिए। पछि भने सरकारले नगरपालिकालाई ५ लाख अनुदान दिने व्यवस्था गर्‍यो। तर रकम समयमा प्राप्त हुदैनथ्यो। न काम गर्न नै सकिन्थ्यो। सरकारले रकम नदिने, दिएपनि थोरै-थोरै गरेर दिने हुँदा काम गर्ने वातावरण बनेन। 

हामीले त्यतिबेला सरसफाइका लागि काठमाडौँका केही नेवार जातका मानिसहरु राख्यौँ। नेवार समुदायभित्र पनि जातीय भेदभाव व्याप्त थियो। यति सम्म कि सरसफाइका लागि भर्ती गरिएका काठमाडौँका केही नेवारीका तल्लो जातका मानिसहरुले कार्यालयमा समेत भेदभाव बेहोर्नुपर्थ्यो। उनीहरुलाई कार्यालयमा समेत प्रवेश निषेध थियो। आफ्नो हाजिर तथा तलब बुझ्न समेत उनीहरुले बाहिरै बस्नुपर्थ्यो। मैले नै उनीहरुलाई कार्यालय प्रवेश गर्ने व्यवस्था मिलाएँ। 


तर कर्मचारी छिराएपछि पनि अवस्था सहज बनेन। नगरपालिकामा केही ब्राह्म्ण जातका कर्मचारीले तल्लो जातका नेवारहरुलाई कार्यालय छिराएको भनेर गुनासो गरे। 'तीन दिनदेखि खाना समेत खाएका छैनौँ', भनेर पनि गुनासो गरे। 

तर, पछि जब बि.पि कोइरालाले समेत काठमाडौँको लगनमा गएर दलित जातका मानिससँग गएर खाना खाए। मैले त्यही देखाएर नगरपालिकाका बाम्हण कर्मचारीलाई सम्झाएँ। 

विकास निर्माणको पनि प्रयास गरियो। पक्की ढल बनाउन नसकेता पनि कच्चा रुपमा नै भए पनि ढल बनाइयो। सरसफाइ कार्यलाइ १८ वडा मार्फत गर्न सुरु गरियो। लगन टोलमा खानेपानि ट्याङ्कीको निर्माण भयो। 

स्वास्थ्य फाँटमा भने काम गर्न गाह्रो भयो। स्वास्थ्य फाँटमा जम्मा एक डाक्टरको व्यवस्था थियो। नगरपालिकाको मूल अफिस नयाँ सडकमा थियो। सरकारी कार्यालय राम्ररी व्यवस्थापन हुन सकेका थिएनन्। अनि स्वास्थ्यमा झन् के काम हुन सक्नु?

हामी विस्तारै नगरपालिकाको कामकाज गर्दै थियौँ। प्रधानमन्त्री मातृका प्रसाद कोइरालाले विभिन्न आरोप लगाएर हामी मेयर र उपमेयर दुवैलाई जेल हालिदिए। उनले एउटा निर्वाचित नगरपालिका जस्तो संस्थामाथि कुठाराघात गरे। हामीले काम गर्न पाएनौँ। हामी जेल मुक्त भएपछि पनि काम गर्न दिइएन। मलाई नगरपालिका राजनीतिमा वितृष्णा नै भयो। मैले राजनीति छाडेँ। ल क्याम्पसमा बिएलको पढाई गर्न थालेँ। पढाइ सकेपछि सरकारी सेवामा प्रवेश गरेँ। 

अहिले फेरि स्थानीय तहको निर्वाचनको चर्चा छ। उमेम्द्वारहरुबीच प्रतिष्पर्धा सुरु भैसकेको छ। मेरो एउटै सुझाव छ -चुनिने व्यक्ति सक्षम हुनुपर्छ। अझ मेयर भनेको त जनतालाई समय दिन सक्ने हुनुपर्छ। 

अलिक धार्मिक पनि हुनुपर्छ जस्तो मलाई लाग्छ। किन भने काठमाडौँ सांस्कृति शहर छ। सांस्कृतिक र धार्मिक मान्छे भयो भने यहाँको पुरानो संस्कृतिको संरक्षण गर्न सक्छ। 

केवल मेयर भएर सत्तामात्र खोज्ने व्यक्तिले जनताको पक्षमा काम गर्न सक्दैन। अझ देशविरुद्ध कोही उत्रिए बोल्न सक्ने सक्षम व्यक्ति हुनुपर्छ। 

पहिलोपोस्टका अरुण सापकोटाले श्रेष्ठसँग गरेको कुराकानीमा आधारित
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell