PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

मान्छे उफार्नेदेखि टिभी सुँघ्नेसम्म : अप्रिल फूलमा बिबिसीले दर्शक झुक्याएका पाँच प्रसङ्ग



मान्छे उफार्नेदेखि टिभी सुँघ्नेसम्म : अप्रिल फूलमा बिबिसीले दर्शक झुक्याएका पाँच प्रसङ्ग

आज अप्रिल १। विश्वभर आजको दिनलाई अप्रिल फूल अर्थात् मूर्ख बनाउने दिवसका रुपमा लिइन्छ। सामान्य मानिसले मात्र होइन यो दिन मिडियाले समेत मान्छेलाई मूर्ख बनाउने सामाग्री प्रसारण गर्ने गर्छ। हेरौँ बेलायतको बिबिसीले विभिन्न वर्षहरुमा अप्रिल फूल बनाउन गरेका गतिविधिमध्ये पाँच वटाको विवरण
 

गुरुत्वाकर्षणमा कमि

अप्रिल १, १९७६ : एकाबिहानै बिबिसी रेडियो २ मा बेलायती खगोलविद् प्याट्रिक मूरको अन्तर्वार्ता बज्यो, जसमा भनिएको थियो आज बिहान ठ्याक्कै ९ बजेर ४७ मिनेटमा वृहस्पतिको पछाडि यम ग्रह गुज्रँदा पृथ्वीको गुरुत्वाकर्षण शक्ति केही कम हुनेछ। मूरले स्रोताहरुलाई यो समयमा हावामा उफ्रँदा उडेको जस्तो अनुभव हुने बताए। ९ बजेर ४७ मिनेट भइसकेपछि स्सनमा सयौँ स्रोताको फोन आउन थाल्यो। ती मध्ये धेरैले आफूले त्यस्तो अनुभूति गरेको दावी गरे। खासमा त्यो अप्रिल फूलको जोक मात्रै थियो।
 

उड्ने पेन्गुइन

अप्रिल १, २००८ : बिबिसीले अन्टार्टिकामा सुटिङ गरिरहेको आफ्नो टिमले अनौठो दृश्य खिचेको दावी गर्‍यो। बिबिसीले आफ्नो समाचारसँगै एउटा भिडियो क्लिप पनि प्रसारण गरेको थियो जसमा पेन्गुइन उडिरहेको देखाइएको थियो।


यो भिडियो छिट्टै नै इन्टरनेटमा धेरै हेरिएको भिडियो बन्न पुग्यो। प्रस्तोता टेरी जोन्सले पेन्गुइनहरु जाडो छल्न उडेर दक्षिण अमेरिका पुग्ने गरेको बताएका थिए। पछि बिबिसीले फलो अप भिडियो राखेर पेन्गुइन उडेको भिडियो बनाउन कसरी स्पेशल इफेक्ट प्रयोग गरिएको वर्णन गरेको थियो।
 

सुगन्ध छर्ने टिभी

अप्रिल १, १९६५ : बिबिसी टिभीले लन्डन युनिभर्सिटीका एक प्रोफेसरसितको अन्तर्वार्ता प्रसारण गर्‍यो जसले स्मेलोभिजन प्रविधिको आविस्कार गरेका थिए। यो प्रविधिबाट दर्शकहरुलाई टेलिभिजन स्टुडियोमा उत्पादन गरिएको सुगन्ध उनीहरुको घरसम्म पुर्‍याउन सकिने दावी गरिएको थियो। प्रोफेसरले उसको मेसिनले सुगन्धलाई कसरी दर्शकको टिभीसम्म पुर्‍याउन सकिन्छ बयान गरेका थिए। उनले केही कफीको बियाँ र प्याजलाई आफ्नो स्मेलोभिजन मेसिनमा राखेर देखाएका थिए र दर्शकलाई केही सुगन्ध महसूस भएको नभएको बताउन भने। देशभरबाट कयौँ दर्शकले फोन गरेर आफूहरुले फरक गन्ध महसूस गरेको बताए। अझ केहीले त प्याजले गर्दा आँसु समेत आएको भन्न छुटाएनन्।
 

बिग बेन डिजिटल

अप्रिल १, १९८० : बिबिसीको ओभरसिज न्युज सर्भिसले लन्डनको बिग बेन घण्टाघरलाई समयानुकूल बनाउन डिजिटल डिस्प्ले राखिने समाचार दियो। यो समाचारसँगै स्रोताहरुको संस्मरण पनि राखिएको थियो। उनीहरुले भावुक भएर यो विश्वप्रसिद्ध घण्टाघरको घडीबारे आफ्नो धारणा राखेका थिए। समाचारमा फोन गर्ने पहिलो चार जनाले त्यो घडी पाउने बताइएको थियो। रमाइलोको लागि बनाइएको त्यो कार्यक्रममा आक्रोशित स्रोताहरुको फोनको बाढी आउन थाल्यो। कयौँ दिनसम्म बिबिसीले यसबारे माफी माग्नुपरेको थियो।
 

न्युजरुममा झगडा

अप्रिल १, १९८९ : बिबिसीको स्पोर्ट्स सो ग्रान्डस्ट्यान्डमा यो दिन अचम्मैको दृश्य देखाइयो। प्रस्तोता डेसमन्ड लिनामले कुन कार्यक्रमको कभर गर्ने भन्ने बताइरहेको बेला न्युजरुमका कर्मचारीहरुबीच झगडा हुनथाल्यो। झगडा चर्कँदै जाँदासमेत प्रस्तोता शान्त भएर समाचार पढ्दै हामी हाम्रो व्यवसायिक टिमको सहायताले खेलको कभर सक्दो गर्ने बताइरहेका थिए। कार्यक्रमकै क्रममा उनले दर्शकहरुले आफ्नो पछाडि देख्न सक्ने केही दृश्यका लागि क्षमा मागेका थिए। तर जब स्लो मोसनमा दृश्य देखाइयो तब थाहा भयो कि त्यो त अप्रिल फूल जोक पो रहेछ। किनभने समाचारकक्षका झगडा गर्नेहरुले त्यतिबेला अप्रिल फूल लेखिएको ब्यानर समातेर सँगै बसेका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell