PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

'भनौँ कि नभनौँ'माथि अन्तरक्रिया, स्रष्टाहरुको चिन्ता- 'संकटमा निबन्ध'



पहिलोपोस्ट

'भनौँ कि नभनौँ'माथि अन्तरक्रिया, स्रष्टाहरुको चिन्ता- 'संकटमा निबन्ध'

काठमाडौँ : निबन्धकार श्रीओम श्रेष्ठ 'रोदन'को नवीनतम निबन्धकृति 'भनौँ कि नभनौँ'माथि आयोजना गरिएको अन्तरक्रियाका वक्ताहरुले निबन्ध संकटमा परेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

राजधानीमा शनिबार भएको कार्यक्रममा बोल्ने अधिकांश टिप्पणीकारले अहिले आख्यान लेखन हाबी भएको र विधाभञ्जन/विधामिश्रणका कारण निबन्ध संकटबाट गुज्रिरहेको बताए।  

प्राडा अभि सुवेदीले निबन्ध जोखिमपूर्ण विधा भए पनि रोदनले त्यो जोखिम मोलेको भनाइ राखे। 'अहिले संकटमा परेको विधा नै निबन्ध हो,' उनले भने, 'तर मिडियाहरुको विस्तारसँगै निबन्ध कतै आलेखमा, कतै फिचरमा त कतै समाचारमा घुसेर भए पनि आइरहेको छ। निबन्ध सिद्धिइहालेको चाहिँ छैन।'

प्राध्यापक राजेन्द्र सुवेदीले गद्य लेखेर भए पनि पद्यात्मक अभिव्यञ्जन कला रोदनका निबन्धमा प्रखर रुपमा आएको टिप्पणी गरे। 'नभनी नभनी पनि भनिने र भनिसकेर पनि भन्न बाँकी कुरा नै निबन्ध हो,' कृष्णचन्द्रसिंह प्रधानको निबन्धात्मक अभिव्यक्तिको प्रसंग जोड्दै उनले थपे, 'संसारमा कुनै पनि कुरा नयाँ छैन। लेखनमा पनि नयाँ नभएकैले कसरी फरक चिन्तनबाट कलम चलाउने हो त्यसमा सचेत हुनैपर्छ।'


टिप्पणीकार समालोचक ज्ञानु अधिकारीले निजात्मक निबन्ध लेखनमा परिचय बनाएका रोदनका नयाँ निबन्धहरुमा जीवनदर्शन पनि मुखरित भएको बताइन्। 'समाज विकृति, विसंगतिले आक्रान्त भइरहेको समयमा निबन्धले भने आशा, उज्यालो र सकारात्मकतातिर डोर्‍याएको छ,' उनले भनिन्, 'समाज-राजनीति, मानवीय प्रवृत्ति र प्रविधिको विकाससँगै हराउँदै गएको मानवीय संवेदनाको चित्रण निबन्धमा पाइन्छ।'

कतिपय निबन्धमा विदेशी भूमिमा बिताएको समयको तस्बिर आएको भन्दै उनले तिनमा नेपालबाहिरको जीवन र संस्कृति बुझ्न सकिने धारणा राखिन्। व्यक्ति, घटना, स्थानविशेषका निबन्ध लेख्दा कतिपय ठाउँमा लेखकको आफ्नो जीवनदर्शन पनि मिसिएको उनको भनाइ थियो।

अर्का टिप्पणीकार डा. लक्ष्मणप्रसाद गौतमले रोदनका निबन्धले जीवनवादी र कर्मवादी चिन्तन बोकेको बताए। 'यान्त्रिक बन्दै गएको मानवीय जीवनशैलीका साथै समयबोध निबन्धभित्र पाइन्छ,' उनले भने, 'अनुभूतिको गहिराइ त छँदैछ तर व्यक्तिपरक निबन्धमा तिनको प्रशंसाको भारी मात्र छैन।'

पाका निबन्धकार एवं संस्कृतिविद् तेजेश्वरबाबु ग्वंग:ले निबन्ध निर्बन्ध हुन्छ भन्दै रोदनका निबन्ध स्वच्छन्द बगेको भनाइ राखे। कतिपय निबन्धमा सांस्कृतिक सञ्चेतना प्रवाह भएको भन्दै उनले प्रशंसा व्यक्त गरे।    

साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मा र ‘सारांश’का अध्यक्ष जय छाङ्छा राईले निबन्धकार रोदनको निबन्धकारिता र व्यक्तित्वबारे चर्चा गरे।

'भनौँ कि नभनौँ'लाई तन्नेरी प्रकाशनले छापेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell