PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

इमर्जिङ कप : नेपालद्वारा हङकङ ७ विकेटले पराजित



इमर्जिङ कप : नेपालद्वारा हङकङ ७ विकेटले पराजित

काठमाडौं : नेपालले हङकङलाई ७ विकेटले पराजित गर्दै बंगलादेशमा भइरहेको एसीसी इमर्जिङ कपमा सुखद अन्त्य गरेको छ।

कप्तान ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह एरी र शरद भेषावकरले अर्धशतक पंहार गरेपछि नेपालले हङकङले दिएको २१५ रनको लक्ष्य ४४.२ ओभरमा ३ विकेट गुमाएर पुरा गर्‌यो।

दीपेन्द्रले ४५ औं ओभरको दोस्रो बलमा छक्का प्रहार गर्दै नेपाललाई सान्त्वना जित दिलाए। हङकङ विरुद्धको जित इमर्जिङ कपमा नेपालको पहिलो जित समेत हो। यसअघि पाकिस्तान र आयोजक बंगलादेशसँग पराजित भएको नेपाल समूह चरणबाटै बाहिरिसकेको छ।

नेपालको जितमा ओपनर ज्ञानेन्द्र मल्लले सर्वाधिक ७० रन बनाए भने दीपेन्द्र ६० तथा शरद ५५ रनमा नटआउट रहे।

११५ रन बनाउँदा ३ विकेट गुमाएको नेपालका लागि दीपेन्द्र र शरदले चौथो विकेटका लागि १०५ रनको साझेदारी गर्दै जित दलाएका हुन्।

दीपेन्द्रले ८३ बलमा ५ चौका र एक छक्का प्रहार गरे। यस्तै ५१ बल खेलेका शरदले ३ चौका र ३ छक्का प्रहार गरे।

त्यसअघि कक्स बजारस्थित शेख कमल इन्टरनेशनल स्टेडियममा नेपालले टस जितेर फिल्डिङ रोजेपछि हङकङले पहिले ब्याटिङ गर्दै ५० ओभरमा अलआउट हुँदै २१४ रन बनाएको हो।

हङकङका लागि कप्तान अंशुमान राथले सर्वाधिक ५१ रन बनाए। यस्तै क्यामरन म्याकअलसनले ४३, वाकस खानले ३०, साहिद वासिफले २२, इशान खानले १८ तथा वजिद शाहले १६ रन बनाए।

बलिङतर्फ नेपालका अभिनास कर्णले सर्वाधिक ३ विकेट लिए। यस्तै कप्तान ज्ञानेन्द्र मल्ल, भुवन कार्की र सुशन भारीले २-२ विकेट लिए भने सन्दीप लामिछाने १ विकेट झारे।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell