PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

एसियन कप छनौट : १० मिनेटमा १० खेलाडीमा सीमित नेपाल ४-१ ले पराजित



एसियन कप छनौट : १० मिनेटमा १० खेलाडीमा सीमित नेपाल ४-१ ले पराजित
फोटो : इन्क्वायरर

काठमाडौं :  सन् २०१९ मा युएईमा हुने एएफसी एसियन कप फुटबल अन्तर्गत अन्तिम चरण छनौटको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग ४-१ ले पराजित भएको छ।

फिलिपिन्सको मनिलास्थित रिजाल मेमोरियल स्टेडियममा भएको खेलमा नेपालले पहिलो १० मिनेटपछि १० खेलाडीमा झरेर खेलेको थियो।
खेलको १२औं मिनेटमा नेपालका विक्रम लामाले रातो कार्ड पाएपछि नेपाल १० खेलाडीमा झरेको हो। उनले गोल हुन लागेको बल हात रोकेपछि रेफ्रीले सिधै रातो कार्ड देखाए। 

त्यसपछि एक खेलाडी कम रहेर खेलेको नेपाललाई फिलिपिन्सले घरेलु मैदानमा ४ गोल गर्दा नेपालले १ गोलमात्रै फर्काउन सक्यो। 

१२ औं मिनेटमा विक्रमले रातो कार्ड पाएसँगै फिलिपिन्सले पेनाल्टी पाएको थियो तर उसका कप्तान फिल योङहसब्याण्डले प्रहार गरेको पेनाल्टी नेपालका गोलरक्षक किरण चेम्जोङले रोके। 

२१ औं मिनेटमा फिलिपिन्सले पुन: अर्को पेनाल्टी पायो। यसमा भने उनी चुकेनन् र फिलिपिनो टोलीमा लागि पहिलो गोल गरे। त्यसको दुई मिनेटपछि नै फिलले व्यक्तिगत दोस्रो गोल गर्दै फिलिपिन्सको अग्रता दोब्बर पारे।
 
२८ ‌औं मिनेटमा इयान राम्सेले गोल गर्दै फिलिपिन्सका लागि तेस्रो गोल गरे।


एक खेलाडी कम भएको नेपालले पहिलो हाफको इन्जुरी टाइममा एक गोल फर्कायो। अन्जन विष्टको स्थानमा मैदान प्रवेश गरेका विशाल राईले नेपालका लागि गोल गरेका हुन्।

विशाल मैदान छिरेपछि दोस्रो हाफमा केही सुधार गरेपनि थप गोल फर्काउन सकेन। फिलिपिन्सका लागि भने ७२औं मिनेटमा जाभिएर पाटिनोले गोल थपे। 

एसियन कप छनौट अन्तर्गत नेपालले अब समूह एफको दोस्रो खेलमा आगामी जुन १३ मा यमनसँग घरेलु मैदानमा खेल्ने तालिका छ। तर घरेलु मैदान तयार नहुँदासम्म नेपालको खेलस्थल टुङ्गो लागिसकेको छैन।

यस्तै फिलिपिन्ससँगको होम म्याच नेपालले नोभेम्बर १४ मा खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell