PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

सरकारले आफ्ना मतदातालाई रिझाउने कि दातालाई



सरकारले आफ्ना मतदातालाई रिझाउने कि दातालाई
स्केच स्रोत : aiche.org

अनुपम भट्टराई


गाडीमा यात्रारत सानो छोराले बुबालाई सोधेछ, ‘हाम्रो देशको सरकार पनि विदेशीले नै बनाइदिने हो बुबा?’

गाडीमा बसेका अरु यात्रु छक्क परे, उसको जिज्ञासा सुनेर। त्यसपछि बुबाले भने, ‘सरकार त हामीले नै बनाउने हो नि।'

बुबाको वाक्य नटुंगिँदै छोराले फेरि जिज्ञासा राख्यो, 'अस्तिको नाकाबन्दी, सरकारलाई असहयोग गर्ने त यो सबै भारतले गरेको होइन र?'

उसले के भन्यो भन्दा पनि देशका नागरिकको मस्तिष्कमा राष्ट्रवाद कहीँकतै रहेकै हुँदो रहेछ भन्ने यसबाट बुझ्न सकिन्छ।

अर्को प्रसंग पनि जोडौं। यात्राकै क्रममा बाबु, आमा र छोरा काठमाडौंबाट खुर्कोट हुँदै इनरुवा जाँदै रहेछन्। छोराले अनौठोसँग झ्याल बाहिर हेरेको देखेर बुबाले सोधेछन्, ‘के हेरेको छोरा?’

छोराले अचम्म मान्दै भनेछ, ‘बुबा, यो बाटो नेपालले आफैँ बनाएको हो त?’

बुबाले सरल रूपले बताए, 'नेपालसँग यस्तो ठाउँमा बाटो बनाउने उपकरण र स्रोत नभएकाले जापान सरकारले बनाइदिएको हो।' बुबाले छोराको जिज्ञासा समेट्न सके/सकेनन्, आफैँ मनन गरौं।

हाम्रो देशका अधिकांश राजमार्ग चाहे त्यसले तराई-पहाड जोडेको होस् वा त्यो काठमाडौंको चक्रपथ होस्। कसले बनाएको भन्ने प्रश्न उठ्नासाथ जवाफ आइहाल्छ- जापान, अमेरिका, चीन….। हामीसँग निर्माणका लागि चाहिने महँगा आधुनिक उपकरण, औजार र अनुभव नहुन सक्छन्। असक्षम रहेको पाटाहरूमा अरूको सहयोगको अपेक्षा राखिनु स्वाभाविक हो। तर परजीवी भएर बाँच्ने कुरामा मेरो सहमति होइन।

एउटा बच्चा पनि आफूले नसकुन्जेलसम्म मात्र आफ्नो परिवारको आडमा आश्रित रहन्छ। त्यसैगरी विकासोन्मुख देश पनि सबै कुरामा परिपक्व हुन्नन, दक्षिण एसियाका देशहरू यसको जीवन्त उदाहरण हुन्।

आजको दिनमा सुर्खेतदेखि जुम्लासम्मको सडक राम्रो र सहज बनाउन यदि भारतले सहयोग गर्छु भन्छ भने त्यसलाई स्वीर्दा केही फरक पर्दैन। तर ‘त्वम् शरणम्’ भएरै सहयोगका विषय बाहेकका आर्थिक, राजनीतिक लगायत अन्य कुरामा उसको प्रभाव रहन दिनु हुँदैन। सुनको लंका बनाउन अयोध्याका कामदारहरू पनि गएका थिए होलान्, तर पछि त्यही ठाउँमा अयोध्याका राजकुमारका श्रीमतीलाई बन्धक बनाइयो।

विद्यार्थीकालमा ‘जेनरल नलेज’ पढ्नुपर्थ्यो। पुस्तकको एक इकाइमा पूर्ण नेपालको बाटाहरूको लम्बाइ र त्यस बाटाका निर्माता को हुन् भन्नेबारे विवरण दिइएको थियो। त्यहाँ कतै जापान, कतै चीन, कतै अमेरिका, कतै अरू देशको नाम मात्र देख्न पाइन्थ्यो। पढ्दै गर्दा शिक्षकलाई सोधिएको थियो, ‘सर, हाम्रो देशचाहिँ किन नभनिएको?’ शिक्षकले प्रश्नको उत्तर होइन बेस्मारी चड्कनचाहिँ दिए।

अहिले सुदूरपश्चिमको कालापानीको कुरा पनि उठ्ने गरेको छ। कालापानीमा भारतलाई सैनिक क्याम्प राख्न कसले अनुमति दिएको हो? २०१७ सालमा राजा महेन्द्रले निर्वाचित बिपी कोइरालाको सरकारलाई अपदस्थ गरी एकतन्त्रीय पञ्चायत व्यवस्था लागू गर्दा भारतको उपरोक्त समर्थनका लागि दिएका हुन्।

आफू सत्तामा टिकिरहन अधिकांश सत्ताधारीले आफ्नो पालामा भारतलाई केही न केही उपहारस्वरूप देशको अंग टक्य्राएका छन्, त्यो इतिहासले बताउँछ।

पहिलेका नेताले भारतको चाहना पूरा गर्न आनाकानी गरेपछि नयाँ नेताहरू कसले जन्मायो? विश्वमा धेरै सशस्त्र युद्ध भए तर ती सब आफ्नै जनता र देशका लागि भए। विडम्बना, नेपाली-नेपाललीबीचको सशस्त्र युद्ध विदेशीका लागि भएको हो भन्दा फरक नपर्ला। विदेशीका एजेन्डा जनतामा लादेर देशले कस्तो रूप पाऊला त?

कसैले आफूलाई हानी नपुर्‍याउन्जेल विवाद गर्नु मुर्खता हुन्छ तर सरकारको कार्यदक्षतामाथि कुनै छिमेकी देशले प्रश्न उठाउँछ भने त्यसविरुद्ध आवाज उठाउनुपर्ने दायित्व सार्वभौम राष्ट्रका जनताको पनि हुनेछ। यदि ‘क’ राष्ट्र आर्थिक, भौगोलिक, जनसङ्ख्या लगायतका अन्य कुरामा राष्ट्र ‘ख’भन्दा अग्र पङ्क्तिमा हुँदैमा निहित स्वार्थका लागि केही न केही बहानामा शक्ति लाद्न खोज्छ भने त्यो अन्तर्राष्ट्रिय कानुनको सिद्धान्तविपरीत हुन जान्छ।

कुनै देशले अर्को देशलाई आर्थिक वा भौतिक सहयोग दिँदा त्यसको श्रेय मात्र दिनुपर्छ न कि पूरै देशै नामसारी गर्नुपर्ने हुन्छ। कोही पाहुना लाग्न गयो भने, त्यो घरमा जे पाकेको हुन्छ पाहुनाले त्यही खानुपर्ने बाध्यता रहन्छ। त्यसैगरी मेरो छिमेकीलाई मैले बनाएको नियम लाद्न मिल्दैन।

मातृभाषी बाहुल्य भएको कुनै गाउँका बालबालिकालाई नेपाली भाषा प्रस्टसँग बोल्न आउँदैन। राज्यले आफ्ना जनताहरूलाई आफू रहेको अनुभूति गराउन अग्रसर रहनुपर्छ। यसो नगरेमा बिस्तारै उनीहरू छिमेकीकै हुन जान्छन्। राज्यको दायित्व के कस्तो हुन्छ र सरकारले आफ्ना मत दातालाई रिझाउने कि दातालाई?

देश बनाउन हामीले छिमेकीबाट ठेकेदार ल्यायौँ भने उसले आफ्नै शैलीको निर्माण गर्छ र हाम्रो देशको अस्मितामाथि पनि प्रश्न उठ्दछ।

प्रिय वाक्य प्रदानेन सर्वे तुष्यन्ति मानवः

त्समात् प्रिय हि वक्तव्यम् वचने क दरिद्रता !!

(कसैले मिठो वचन बोलेमा सबै खुसी हुन्छन्, त्यसैले सबैलाई खुसी राख्न मिठो बोल्ने गरौं, मिठो वचनको कन्जुस्याइँ किन?)

श्लोकको तात्पर्यअनुसार नै एक असल छिमेकीले अर्को छिमेकीलाई अप्रिय वचन भनेर आफ्नो स्वार्थ लाद्न खोज्नु आरिसे स्वभाव हो। कुनै एक देशले अर्को देशलाई सहयोग गर्छ भने त्यसलाई सहयोगमा मात्र सीमित राख्नुपर्ने हुन्छ।

भनिन्छ, खुसी भएको बखत वाचा नगर्नू। यसको पालना नगरेकाले होला सायद नेपाल पनि विद्युतीय उपकरणजसरी नै अरू देशले चलाउन खोजिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell