PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

एसियन जोनल चेस : बंगलादेशी ग्रान्डमास्टर रकिबको एकल अग्रता



एसियन जोनल चेस : बंगलादेशी ग्रान्डमास्टर रकिबको एकल अग्रता

काठमाडौं : बंगलादेशी ग्रान्डमास्टर अब्दुल्ला अल रकिब मोलाह (२४९२) ले काठमाडौंमा जारी एसियन जोनल ३.२ चेस च्याम्पियनसीपमा एकल अग्रता कायम राखेका छन्।

शुक्रबार सम्पन्न छैटौं चरणमा आफ्नै देशका ग्रान्डमास्टर नियाज मुर्सीद (२४२२) लाई हराएका रकिबले ६ खेलबाट ५ अंक जोडेका छ। दुई ग्रान्डमास्टरबिच भएको रोचक भिडन्तमा नियाजले आक्रामक खेल शैली अपनाएका थिए।

किंग्स इन्डियन प्रणालीमा खेल शुरुवात गरेका नियाजका हरेक आक्रमणलाई विफल पारेका रकिवले खेलको ३२ औं चालमा नियाजको गल्तीको फाईदा उठाउँदै खेल नियन्त्रणमा लिन सफल भए। फलस्वरुप ४० औं चालमा नियाजले रकिवलाई नतिजा सुम्पिए।

डिफेन्डिङ च्याम्पियन बंगलादेशी ग्रान्डमास्टर जिउर रहमान (२५२०) अर्का बंगलादेशी फिडेमास्टर साइद महफुजुर रहमान (२२५०) लाई खेलको ३८ औं चालमा पराजित गर्दै ४.५ अंकका साथ दोश्रो स्थानमा रहेका छन्।

छैटौं चरणमा उत्कृष्ट प्रदर्शन गरी अपराजित रहेका पूर्व नेपाल च्याम्पियन केशव श्रेष्ठ तथा नेपालका उदियमान युवा खेलाडी सुमित पन्त समान ४/४ अंक बनाई संयुक्त रुपमा तेश्रो स्थानमा रहेका छन्। 

२०७७ रेटेड केशवले बंगलादेशका फिडेमास्टर हसन मेहेदी (२२६३)सँग जीतको नजिक पुगेर पनि बराबरीमा चित्त बुझाउनु पर्‌यो। क्याटालान प्रणालीमा भएको खेलमा सेतो गोटिबाट दबाब दिन खोजेका हसनले खेलको २६ औं चालमा गल्ती गर्न पुगे। जसको परिणाम स्वरुप केशवले २ वटा सिपाही बलीदान गरी हसनको घोडा लिन सफल भए। जीतको नजीक रहेको अवस्थामा केशवले समय दवावमा ५७ औं चालमा गलत निर्णय गर्न पुगे। जसका कारण ७५ औं चालमा खेल बराबरीमा सकियो।

त्यसैगरी वर्तमान नेपाल च्याम्पियन मदनकृष्ण कायस्थ (२०९९) र सुमित पन्त (१९३५) बीचको रोमाञ्चक खेल पनि ७७ औं चालमा पुगेर बराबरीमा टुंगियो।

नेपालका हिमाल लामा (२०८१) र बंगलादेशका ग्रान्डमास्टर नियाज मुर्सीद तथा फिडेमास्टर मोहम्मद तैवुर रहमान (२३४१) को पनि समान ४/४ अंकमा रहेका छन्। हिमालले माल्दिभ्सका अनरेटेड अहमद इब्राहिम अमनलाई पराजित गरे भने तैवुरले श्रीलंकाली कालुगाम्पिटीया आर एस (२१२९) लाई हराए।

नेपालका फिडेमास्टर मनिष हमाल (२०५२), नेपालका क्यान्डिडेट मास्टरद्धय मदनकृष्ण कायस्थ तथा क्षितीज भण्डारी (२०३६), बंगलादेशी ग्रान्डमास्टर इनामुल हुसेन (२४७४), बंगलादेशी इन्टरनेशनल मास्टर आबु सुफिन सकिल (२३४३) तथा बंगलादेशी फिडेमास्टर सइद महफुजुर रहमान समान ३ दशमलब ५ अंकमा रहेका छन्।

त्यसैगरी श्रीलंकाली कालुगाम्पिटीया आर एस, नेपालका क्यान्डिडेटमास्टर सजिन महर्जन, मिलन लामा, विवेक श्रेष्ठ, बद्रीलाल नेपाली समान ३/३ अंकमा रहेका छन्।

महिलातर्फ बंगलादेशी वुमन इन्टरनेशनल मास्टर रानी हमीद (१९९०) को एकल अग्रता कायमै रहेको छ।
शुक्रबार सम्पन्न छैटौं चरणको खेलमा आफ्नै देशका वुमन क्यान्डिडेट मास्टर महमुदा हक चौधरी (१७४०) लाई पराजित गरेकी रानी ६ अंकका साथ शिर्ष स्थानमा रहेकी छन्।

डिफेन्डिङ च्याम्पियन बंगलादेशी वुमन इन्टरनेशनल मास्टर समिमा अख्तर ५ अंकका साथ दोश्रो स्थानमा रहेकी छन्। २०७७ रेटेड उनले छैटौं चरणमा बंगलादेशकै समिहा सिम्मी सारमीन (१८४२) माथी जीत हासिल गरिन्।

श्रीलंकाली सौम्य जैनाव (१७८८) बंगलादेशी वुमन फिडेमास्टर सुल्ताना सरमिन सिरीनलाई हराउँदै ४ अंकका साथ तेश्रो स्थानमा रहन सफल भएकी छन्। बंगलादेशी वुमन फिडेमास्टर नजरना खान ३ दशमलब ५ अंकमा रहेकी छन्।

नेपालका शान्ता थापा (१६२६), सबिना श्रेष्ठ (१४०५) र बंगलादेशी महमुदा हक चौधरी समान ३/३ अंकमा रहेका छन्।

नेपाल बुद्धीचाल संघ र नेकोस चेस एकेडेमी क्लबको संयुक्त आयोजनामा होटल एल्लो पगोडामा जारी च्याम्पिनसिपअन्र्तगत शनिबार सातौं चरणका खेल सञ्चालन हुनेछन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell