Apr 23, 2024 | ११ बैशाख २०८१

पाकिस्तानको थार जहाँको बालुवामा अर्बौ लगानी गर्दैछ चिनियाँ कम्पनी

  • फसी माँगी/ब्लुमवर्ग -
पाकिस्तानको थारस्थित मरभूमीमा कोइला उत्खन्न सुरु गरिएको छ। खरानी रंगको कमसल तर विश्वको सबैभन्दा ठूलो भण्डारणबाट निकालिएको कोइला नयाँ उर्जा केन्द्रमा पुग्नेछ, जहाँबाट उत्पादन हुने विजुलीले पाकिस्तानी अर्थतन्त्रको नक्सा बदलिने विश्वास लिइएको छ।

उर्जा उत्पादनका दृष्टिकोणले ज्यादै महँगो यो परियोजना चीनले पाकिस्तानको आर्थिक विकासका लागि सहयोग गर्न लागेको ५५ अर्व डलर (६० खर्व रुपैयाँ)को आर्थिक साझेदारीमध्ये एक हो।

साढे तीन अर्ब डलर लागत भएको संयुक्त लगानीको यो परियोजनाबाट १.३ गिगावाट विद्युत उत्पादन गर्ने गरी कोइला उत्खन्न हुनेछ। यो विजुलीलाई पाकिस्तानमा वितरण गर्न चीनकै सहयोगमा अर्को तीन अर्बको ट्रान्समिशन नेटवर्क समेत विच्छयाईंदैछ।

जतिबेला म यहाँ आएको थिएँ, यो पूरै बेहाल अवस्थामा थियो र यहाँ केही पनि थिएन, सिन्ध इन्ग्रो कोल माइनिङ कम्पनीकातर्फबाट पहिलोपटक थार पुगेका माइनिङ इन्जिनियर दीलिप कुमारले बताए।

एक माइलसम्म फैलिएको यहाँ अहिले पहेंला ट्रक दौडिरहेका छन् भने जमिनको तल्लो भागमा धमाधम खन्ने काम भैरहेको छ, चिनियाँ नभएको भए यो सम्भव परियोजना होइन, माथिबाट तल देखाउँदै उनले भने।

 

चरम उर्जा संकट

२० करोड जनसंख्यासहित, हिउँले ढाकिएको काराकोरुम हिमालदेखि सुख्खा र ज्यादै गर्मी हुने अरेवियन समुन्द्रसम्म फैलिएको, क्यालिफोर्नियाभन्दा दोब्बर ठूलो क्षेत्रफल भएको पाकिस्तान, एशियाको उत्कृष्ट अर्थतन्त्र बन्न सक्थ्यो। तर भ्रष्ट्राचार, आतंकवाद र गरीबीबाट मात्रै पाकिस्तान जेलिएको छैन, गम्भीर उर्जासंकट समेत झेलिरहेको छ।

पाकिस्तानसँग न्याचुलर ग्यासको ठूलो रिजर्भ छ, चार वटा न्युक्लियर पावर स्टेशन छन् भने विश्वकै ठूलो ड्याम समेत छ।

थारको कोइलाखानीभन्दा सात सय किलोमिटर उत्तरमा अर्को चीनियाँ कम्पनीले सोलार फार्म तयार गरिरहेको छ, जुन न्युयोर्कको सेन्ट्रल पार्कभन्दा आठ गुणा ठूलो छ।

अल्झिएको आर्थिक वृद्धि

यति हुँदा पनि पाकिस्तानमा उर्जाको ठूलो संकट छ, अहिले पनि कराँची र इस्लामावाद जस्ता ठूला शहरमा पनि दैनिक १२ घण्टासम्म लोडसेडिङ हुन्छ। एउटा अध्ययनअनुसार यदी उर्जा उपलब्धता प्रयाप्त मात्रामा हुन्थ्यो भने पाकिस्तानको अर्थतन्त्र प्रतिवर्ष दुई प्रतिशत बिन्दुले अझ बढ्न सक्थ्यो।

तर पाकिस्तानमा जे भैरहेको छ, त्यो पश्चिमाले गरेभन्दा उल्टो दिशामा छ। पश्चिमाहरु अहिले कोइलाबाट उर्जा उत्पादन घटाइरहेका छन्, प्रविधिलाई प्रयोग गरेर स्वच्छ उर्जामा केन्द्रित भैरहेका छन्।

जर्मनी जो अहिले पनि उर्जाका लागि कोइलामा ४० प्रतिशत भर परिरहेको छ उसले सन् २०३० सम्म त्यसलाई आधामा झार्ने योजनाअनुसार काम गरिरहेको छ।

पाकिस्तान बिजनेश काउन्सिलका अनुसार अहिले त्यहाँ कोइलाबाट कुल उत्पादनको शुन्य दशमलव एक प्रतिशत विजुली आपूर्ती भैरहेको छ। थार लगायतका परियोजना पूरा हुँदा सन् २०२० मा यो मात्रा बढेर २४ प्रतिशत पुग्ने, कराँचीको आरिफ हबिब लिमिटेडका विश्लेषक ताहिर अब्बासले बताए।



कोइलाको रिजर्भले पाकिस्तानलाई आयातित महँगो ग्यास र पेट्रोलियमको बदलामा सस्तो आन्तरिक उर्जाको विकल्प दिनेछ। पाकिस्तानले पेट्रोलियम पदार्थ आयातका लागि वार्षिक आठ अर्व डलर खर्च गर्छ, पाकिस्तान यो क्षेत्रको सबैभन्दा ठूलो न्याचुलर ग्यासको आयातकर्ता समेत हो।

आयातको विल घटाउन र पाकिस्तानको उर्जा आवश्यकता पूरा गर्नका लागि सबैभन्दा पहिले त्यहाँको कमसल तर विश्वकै सबैभन्दा ठूलो कोइला भण्डारणमा पुग्नुपर्छ। तर त्यसका लागि थारको गर्मीमा १६० मिटर गहिराईसम्म फैलिएको बलौटे माटो पन्छाउनुपर्छ।

एकातिर बिर्यानी अर्कोतिर मोमो

थारमा ३५० चिनियाँ कामदार छ महिनादेखि अनवरत काम गरिरहेका छन्। बिहान छ बजे फिल्डमा पुग्ने उनीहरु बेलुका छ बजेसम्म काम गर्छन्। ४२ डिग्रि सेल्सियसको तापक्रम पुग्दा मध्य दिउँसो उनीहरु तीन घण्टा आराम गर्छन्। धुलो नउडोस र काम गर्ने ठाउँमा शितलता देओस भन्नका लागि कन्टेनर गुड्ने बाटोमा पाइपबाट उनीहरु पानी छर्कीरहेका हुन्छन्।

चिनियाँकै नजिक छुट्टै कमपाउण्डसहितका घरहरु निर्माण गरिएका छन्। जहाँ अधिकांश कराँचीबाट आएका इन्जिनियर र कामदारहरु बस्छन्। चिनियाँ र पाकिस्तानी दुई समूहको काम गर्ने छुट्टै सेड्युल छ भने छुट्टै खाना पनि।

एकातिर बिर्यानी र तरकारी बनिरहेको हुन्छ भने अर्कोतर्फ चिनियाँ ‘च्याउच (मोमो)’।



यिनै आवासभन्दा एक किलोमिटर टाढा कोइलाको खानीमा पुग्न बाटो बनाउने काम भैरहेको छ। सान्झी टन्ली हेभि इन्डस्ट्रिज कम्पनीले बनाएका पहेंला चिनियाँ ट्रक खानीको पिंधमा पुग्छन र हाइड्रोलिक एक्साभेटरले राखिदिएको माटो बोकेर फर्किन्छन्।

फिल्डमा भएका १२५ वटा ट्रकमा अधिकांश ड्राइभर स्थानीय, हिन्दु र मुस्लिम छन्। सबै ट्रकमा नेस्ले मिनरल वाटरका बोट्टलहरु छन्। चर्को गर्मीमा उनीहरुका लागि यो जीवन बराबर हो।

पााकिस्तानलाई सबैभन्दा सस्तो विकल्प

इन्ग्रो कम्पनी तय समयभन्दा छ महिना पहिले नै सन् २०१८ को अन्तिममा कोइलासम्म पुग्ने, कम्पनीका प्रमुख कार्यकारी अधिकृत समसुद्दिन अहमद सेखले बताए। दशकसम्म भएको ढिलाइपछि जब चिनियाँ पुँजी र स्रोत यो कोइलाखानीमा पर्यो तब परियोजना सम्पन्न हुने दिशामा अघि बढ्यो।

पाकिस्तानका सबै औद्योगिक घरानाले, उनीहरुले लगाउन लागेका उर्जा संयन्त्रका लागि हामीसँग कोइला मागेका छन्, शेखले भने। र यो एउटा सुरुवात मात्रै हो।

इन्ग्रोले सँगै रहेको अर्को खानी पनि निर्माण थालिसकेको छ। यो मात्रै होइन अर्को चिनियाँ संयुक्त लगानीको कम्पनी सिनो सिन्ध रिसोर्स र साङघाइ इलेक्ट्रिक ग्रुपले पनि यस्तै परियोजना जुनसम्म सुरु गर्ने तयारी गरिरहेका छन्। ओराकल कोलफिल्डले पनि सन् २०१९ भित्र कोइला उत्पादन गरेर विद्युतीकरण गर्ने योजनामा काम गरिरहेको छ।



थारमा मात्रै दश वर्षसम्म १५ गिगावाट विद्युत उत्पादन गर्ने सम्भावना छ, पाकिस्तानको जल तथा उर्जा मन्त्रालयका सचिव मोहम्मद युनुस दागाले बताए। यो गतवर्ष अमेरिकाले घरायसी र औद्योगिक प्रयोजनमा सोलार पावरबाट उत्पादन गरेको उर्जा बराबर हो।

चीनको रणनीतिक महत्वाका‌ंक्षा

कोइलाको लागत कति उत्खनन भयो भन्ने हिसावमा हेरिन्छ, सचिव दागाले भने पाकिस्तानको उर्जाका लागि यो सबैभन्दा सस्तो विकल्प हो।

चिनियाँका लागि पनि यो मुनाफाको व्यापार हो। इन्ग्रोले यो परियोजनाबाट वार्षिक ३० प्रतिशतको हाराहारीमा मुनाफा कमाउनेछ, जुन राम्रो हो, अब्बासले भने।

यसले पाकिस्तान र चिनियाँ कम्पनीलाई मात्रै मुनाफा दिलाउने छैन, चीनको रणनीतिक व्यापार मार्गका लागि चालेको कदममा महत्वपूर्ण आयाम पनि दिनेछ। किनभने चीनले भारतलाई छलेर अरबियन समुद्रबाट मध्यपूर्व पुग्ने बाटो पाउनेछ।


ट्रेन्डिङ पोस्ट

Ncell