PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

स्थानीय तह निर्वाचनमा म्याग्दीमा ७२ मतदानस्थल



पहिलोपोस्ट

स्थानीय तह निर्वाचनमा म्याग्दीमा ७२ मतदानस्थल

म्याग्दी : आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनमा म्याग्दीमा ७२ वटा मतदानस्थल तोकिएको छ। जिल्ला मतदान केन्द्र सिफारिस समितिले एक नगरपालिका र पाँच गाउँपालिकामा निर्वाचन गराउन ती मतदानस्थल निर्धारण गरेको हो। 

जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलले मतदानस्थल ७२ वटा रहेपनि मतदाता संख्याका आधारमा मतदान केन्द्र निर्धारण गरिने जानकारी दिए। नगरपालिका र गाउँपालिकामा पायक पर्ने स्थानमा मतदानस्थल तोकिएको र मतदाताको संख्याका आधारमा एक हजारभन्दा बढी मतदाता भएमा एउटै मतदानस्थलमा पनि एकभन्दा बढी मतदान केन्द्र तोकिने उनले बताए। 

जिल्ला निर्वाचन कार्यालयका अनुसार म्याग्दीको बेनी नगरपालिकामा सबैभन्दा धेरै १७ वटा मतदानस्थल तोकिएको छ। त्यसैगरी, रघुगङ्गा गाउँपालिकामा १४, धौलागिरि गाउँपालिकामा १२, मालिका गाउँपालिकामा नौ, मङ्गला गाउँपालिकामा सात र अन्नपूर्ण गाउँपालिकामा १३ मतदानस्थल तोकिएको छ। 

विसं २०७० को निर्वाचनमा ६८ वटा मतदानस्थल भएपनि यस वर्ष स्थानीय तह पुनर्संरचनाअनुसार पुनरावलोकन गर्दा चारवटा बढी निर्धारण गरिएको हो। म्याग्दीमा आगामी वैशाखमा हुने निर्वाचनमा करिब ७२ हजार मतदाताले सहभागिता जनाउने भएका छन्। जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारीअनुसार जिल्लाबाट ७१ हजार नौसय १२ जना मतदाताको नामावली अध्यावधिक गरी निर्वाचन आयोगमा पठाइएको छ। स्थानीय तहको निर्वाचनका लागि म्याग्दीमा १२ वटा राजनीतिक पार्टीले निर्वाचन कार्यालयमा दल दर्ता गराएका छन्। 

स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलमा चहलपहल सुरु भएको छ। राजनीतिक दल चुनावी प्रचारप्रसारमा लागेका छन् भने निर्वाचन कार्यालयले पनि आवश्यक तयारी भइरहेको जानकारी दिएको छ। जिल्लाको रघुगङ्गा गाउँपालिका र धौलागिरि गाउँपालिकाको केन्द्रको विवादले भने ती दुई गाउँपालिकाको कार्यालयसमेत स्थापना हुन सकेको छैन्। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell