PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

प्रहरीले माग्यो ७५ हजार म्यादी प्रहरी, शुक्रबारदेखि आवेदन खुला, तलब मासिक १७ हजार



प्रहरीले माग्यो ७५ हजार म्यादी प्रहरी, शुक्रबारदेखि आवेदन खुला, तलब मासिक १७ हजार

काठमाडौँ : स्थानीय तहको निर्वाचनमा सुरक्षाको लागि गृह मन्त्रालयले ७५ हजार म्यादी प्रहरी परिचालन गर्ने भएको छ। नेपाल प्रहरीले बिहीबार सूचना जारी गर्दै ७५ हजार म्यादी प्रहरीको लागि आवेदन मागेको छ। 

१८ वर्ष पूरा भएका र ५४ वर्ष ननाघेका व्यक्तिले म्यादी प्रहरीको लागि आवेदन दिनसक्ने छन्। नेपाल प्रहरीले प्रत्येक जिल्ला प्रहरी कार्यालयमा आवेदन दिने व्यवस्था मिलाएको छ। 

स्थानीय निर्वाचनमा खटिने म्यादी प्रहरीको कार्यअवधि ५५ दिनको रहेको छ। म्यादी प्रहरीले नेपाल प्रहरीको जवानले खाईपाई आएको तलब तथा भत्ता बराबरको रकम पाउने छ।

नेपाल प्रहरीका जवानले हाल ग्रेडसहित मासिक २१ हजार ८ सय २२ रुपैयाँ तलब पाउने गर्छन्। तर म्यादी प्रहरीले भने ग्रेड पाउँदैनन्। त्यसैले उनीहरुले प्रहरी जवानको तलब स्केल सरह मासिक १७ हजार २ सय ३० रुपैयाँ मात्रै पाउने छन्। तराईका जिल्लामा दिनको १९७ रुपैयाँ रासन वापत पाउँछन्। अन्य जिल्लामा भने ठाउँ अनुसार फरक फरक रकम पाउने छन्। 

त्यसैगरी म्यादी प्रहरीले पोशाक पनि पाउने छन्। 

 प्रहरीले जारी गरेको सूचनामा चैत १७ गतेसम्म इच्छुकले आवेदन फारम भर्न पाउने व्यवस्था रहेको छ। 



निर्वाचन सुरक्षाको लागि सरकारले २ लाख २६ हजार सुरक्षाकर्मी खटाउने योजना बनाएको छ। निर्वाचनको मतदान केन्द्रको पहिलो घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी परिचालन गरिने छ।

 त्यस्तै दोस्रो र अन्तिम घेरामा सशस्त्र प्रहरी र नेपाली सेनाले पहरा दिने छ।

आवेदन फाराम डाउनलोड गर्नुस्



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell