PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

दोस्रो सुरक्षा कार्ययोजनामा बल्ल निर्वाचन आयोग सन्तुष्ट 



दोस्रो सुरक्षा कार्ययोजनामा बल्ल निर्वाचन आयोग सन्तुष्ट 

काठमाडौँ : निर्वाचन आयोगले स्थानीय निर्वाचनका लागि सरकारले दोस्रो पटक प्रस्तुत गरेको कार्ययोजनामा सन्तोष व्यक्त गरेको छ। 
यसअघि सरकारका तर्फबाट गृह मन्त्रालयले प्रस्तुत गरेको कार्ययोजना निर्वाचन उच्चस्तरीय सुरक्षा समितिका संयोजक समेत रहेका आयुक्त सुधिरकुमार शाहले असन्तोष व्यक्त गर्दै पुनः कार्ययोजना ल्याउन आग्रह गरेका थिए।

निर्वाचन आयोगले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित ढङ्गले सम्पन्न गराउन ‘स्थानीय निर्वाचन र निर्वाचन सुरक्षा योजना’ का विषयमा सुरक्षा निकायहरुसँग छलफल गरेको थियो। 

यसअघि सरकारले प्रस्तुत गरेको सुरक्षा योजना भरपर्दो र परिस्थिति अनुकूलन गर्ने सन्दर्भमा अपूर्ण भन्दै फिर्ता गरेको आयोगले बारम्बार सुरक्षा निकायहरुसँग छलफल गर्दै आएको छ।  आयोगले स्थानीय तहको निर्वाचन सुरक्षाको तयारीको पछिल्लो अवस्था बारे पनि जानकारी लिएको छ।

छलफलमा आयोगका पदाधिकारीहरुले सुरक्षामा कमी कमजोरी हुन नपाओस् भनेर सुझावहरु दिनुभएका थिए। 

उच्चस्तरीय सुरक्षा समितिका संयोजक सुधीरकुमार शाहले गृह मन्त्रालयबाट प्राप्त सुरक्षा योजनाप्रति सन्तोष व्यक्त गरे। उनले केही विषयमा थप स्पष्ट गर्न र कार्यान्वयनयोग्य सुरक्षा योजनालाई प्राथमिकता दिन पुनः आग्रह गरे। 

छलफलमा गृहसचिव लोकदर्शन रेग्मीले क्षेत्रीयस्तरदेखि वडास्तरसम्म सुरक्षा व्यवस्था मिलाउने तयारी गरिएको र हरेक मतदाता तथा उम्मेदवारलाई सुरक्षा प्रत्याभूति दिने किसिमले अगाडि बढेको जानकारी दिए। 

यस्तै, प्रमुख निर्वाचन आयुक्त डा. यादवले मतदान कार्यपछिको मतपेटिका ढुवानी, मतगणना कार्यको सुरक्षा तथा समग्र निर्वाचनको व्यवस्थापनमा समेत सचेत र चनाखो रही सुरक्षा व्यवस्था हुने गरी कार्य गर्न निर्देशन दिए। 

सुरक्षा छलफलमा आयुक्तहरु इला शर्मा, नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल, सुधीरकुमार शाह तथा आयोगका सचिव गोपीनाथ मैनाली सहभागी थिए। यस्तै गृह मन्त्रालयका सचिव लोकदर्शन रेग्मी, नेपाल प्रहरीका निमित्त आइजीपी डा. दिनेशचन्द्र पोखरेल, सशस्त्र प्रहरी प्रमुख सिंहबहादुर श्रेष्ठ, मुख्य अनुसन्धान निर्देशक दिलीपराज रेग्मी र नेपाली सेनाका उपरथि विनोदकुमार श्रेष्ठसमेत सहभागी थिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell